शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : राज्यमन्त्रीबाट राजीनामा दिएकी रायमाझीले प्रदेशसभामा पठाइन् समर्थन फिर्ताको पत्र

आइतबार, २० असार २०७८, २१ : ११
आइतबार, २० असार २०७८

बुटवल । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट शुक्रबार राजीनामा दिएकी जसपा नेपालकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको जानकारीसहित प्रदेशसभा सचिवालयलाई पत्र पठाएकी छन् ।

जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने उल्लेख गर्दै उनले पत्रमा प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएको जनाएकी छन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जसपा सांसद रायमाझीले प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र बुझाएको जनाए । उनले सोही पत्रका आधारमा सांसद रायमाझीलाई विपक्षी बेन्चमा बस्ने व्यवस्था मिलाइने पनि जानकारी दिए ।

लुम्बिनी प्रदेशसभामा जसपाका ६ जना सांसदमध्ये रायमाझीसहित चारजना वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए ।

रायमाझीले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । बहुमतका लागि कम्तीमा ४२ सांसदको समर्थन आवश्यक रहनेमा प्रदेश सरकारको पक्षमा ४१ सांसदमात्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप