शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपहिरो पीडितहरुको उद्धारमा खट्दै नेपाली सेना

आइतबार, २० असार २०७८, २० : ३१
आइतबार, २० असार २०७८

नेपाली सेनाले पछिल्लो समय बाढीपहिरो पीडितको उद्धारमा सक्रियता बढाएको छ । केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी÷पहिरो गई जनजीवन प्रभावित भएकाले सेनाले उद्धारमा सक्रियता बढाएको हो ।

सोही क्रममा चितवन जिल्लाको शक्तिखोर, न्युरो, लाहुरेचोक, क्लबचोक र विघा ईलाकामा बाढीका कारण डुबानमा परेका स्थानीयवासीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

चितवनकै राप्ती नगरपालिका वडा नं.१२ स्थित पर्खालको पहिरोमा पुरिएका ४ जनाको शव निकाल्न परिचालन भएको नेपाली सेनाको उद्धार टोलीले एक जनाको शव निकालेको र हराइरहेका अन्य ३ जनाको खोजी कार्य जारी राखेको जनाइएको छ ।

निर्देशनालयका अनुसार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, कोशी, हरिनगरा र भोक्राहा नरसिंह गाउँपालिका आसपासका ईलाकामा बाढीले बगाएर ल्याएका फोहोर पुलमा जम्मा भई आसपासका बस्तीहरु डुबानमा परेकोले नेपाली सेनाको उद्धार टोलीले उक्त फोहोरहरु हटाइ थुनिएको खोलालाई खोलेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ आसपासका ईलाकाहरुमा सुनसरी खोलामा आएको बाढीले बाँध भत्किएर गाउँबस्तीमा खोला पस्ने सम्भावना भएकोले नेपाली सेनाको उद्धार टोलीले स्थानीय जनताको सहयोगमा बाँध मर्मत गरेका पनि निर्देशनालयले जनाएको छ ।

यस्तै, रौतहटको राजदेवी नगरपालिका वडा नं.९ स्थित नं.१ र नं.२ ठोकरमा कटान भएकाले नेपाली सेनाको उद्धार टोलीले उक्त कटान नियन्त्रणका लागि स्याण्डब्याग बोरीको सहायताले पुनः निर्माण कार्य गरेको तथा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं.११ स्थित फसकोट ईलाकामा पहिरोका कारण ३ वटा घर जोखिममा परेपछि सेनाको उद्धार टोलीले उक्त घरका सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको पनि जनाइएको छ ।

यस्तै, सिरहा जिल्लास्थित सिरहा नगरपालिका वडा नं.६, बसबिट्टामा रहेको हुलाकी राजमार्ग जोडिने पुल आसपासको ईलाकामा कमला नदीमा आएको बाढीले पानीको बहाव बढ्न गई सिरहा बजारमा डुबानको जोखिम भएपछि सेनाको उद्धार टोलीले नदीको तटबन्ध माथिबाट पानी पस्न सक्ने सम्भावित ईलाकाहरुमा करिब २०० वटा बोरा व्यवस्थित तरिकाले राखी पानीको बहाव नियन्त्रण गरेको छ । साथै, कमला नदीमा बाढीको सम्भावना रहेकोले उक्त नदीको नजिक बस्ने एक जनालाई नेपाली सेनाको उद्धार टोलीले उद्धार गरी प्रहरीको रोहवरमा आफन्तलाई बुझाएको पनि निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप