शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छः काँग्रेस प्रवक्ता

आइतबार, २० असार २०७८, १९ : १०
आइतबार, २० असार २०७८

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने विश्वास व्यक्त गरेका छन् । 
आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने कुराको अपेक्षा गर्नुपर्ने बताएका हुन् । 

उनले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा रहेको बताए । उनले महामारीबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको रहेको पनि बताए । नागरिकको जीवनलाई रक्षा नगर्ने हो भने त्यो लोकतन्त्र हुन नसक्ने प्रवक्ता शर्माले बताए । 
प्रवक्ता शर्माले लोकतान्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताए । उनले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याए । उनले भने, ‘लोकतन्त्रका लागि लोकतान्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्छ । विद्यार्थीहरु बेरोजगारको पीडालाई सम्बोधन गर्ने भनेर जादैँ गर्दा उनीहरु भित्र समानताको समाजका लागि सामाजिक रुपान्तरणको मुद्दा विद्यार्थी आन्दोलनको मुद्दा बन्नुपर्छ ।’

नेकपा(माओवादी केन्द्र)का नेता हिमाल शर्माले संसद विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाए ।  नेपालको संविधान मन नपरेको शक्तिलाई संविधान च्यात्नुपर्ने र त्यसको गोटीको रुपमा प्रधामन्त्री ओली प्रयोग भएको उनको जिकिर छ । उनले यस प्रकारको प्रवृत्तिसँगको लडाइँलाई अझै पेचिलो बनाउनुपर्ने बताए । 
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि बिचार गरिनुपर्ने बताइन् । 

अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुसारापात भएको भन्दै राज्यका निकायहरु बीचको जस्तै राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप