शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी पहिरोको कहर : १५ पक्की पुल ढले, २३ वटा झोलुङ्गे पुल बगे

४३ खानेपानी र २५ जल विद्युत् आयोजनाहरू पनि प्रभावित
आइतबार, २० असार २०७८, १८ : ३५
आइतबार, २० असार २०७८

बर्खा शुरु हुँदा नहुँदै देशका विभिन्न स्थानमा अति वर्षाका कारण आएको बाढी पहिरोको वितण्डा मच्चिदा ठूलो जनधनको नाश भएको छ । सङ्घीय राजधानी केन्द्रकै नजिक रहेको सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु होस् या त चितवन, तनहुँ, मनाङ र पूर्वको उदयपुर, मोरङ, सिराहामा गएको बाढी पहिरो, जसले ठूलो जनधनको क्षति गराएको छ । 

मनसुनजन्य विपद्का घटनाबाट मानवीय क्षतिका साथै सयौँ घर परिवार विस्थापित भएका छन् । भने सोबाट राज्यबाट भए गरेका ठुला लगानी रहेका सडक, पुल पुलेसा लगायतका भौतिक संरचनाहरूमा समेत ठूलो क्षति पुगेको छ । यसबाट दर्जनौँ आयोजना परियोजनाहरू समेत प्रभावित हुन पुगेका छन् । 

गृह मन्त्रालयको तथ्याङ्क अनुसार यस्तो क्षति दर्जनौँ मोटेरेबल पक्की पुल, झोलुङ्गे पुल, सडक पूर्वाधारका साथै दर्जनौँ खानेपानी आयोजनाहरू र जलविद्युत आयोजनाहरूमा परेका छन् ।

स्रोत : गृह मन्त्रालय

कहाँ के कति क्षति भो ?

गृह मन्त्रालयका अनुसार २०७८ जेठ ३१ गतेदेखि असार २० गते आइतबारसम्ममा मुलुकका भिन्न स्थानमा आएको बाढी पहिरोका घटनाका कारण ठूलो जनधनको क्षति भएको छ । कुल २२ जिल्लाबाट घटेका २२६ घटनाबाट कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने ३१ जना अझै बेपत्ता भइरहेको र ४६ जना घाइते भएका गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मुख्यतः  बाढी पहिरो प्रभावित जिल्लाहरूमा सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, मनाङ, धादिङ, चितवन, डोटी लगायतका जिल्लाहरू रहेका छन् । 

मनसुन सुरु भएसँगै पहिरो तथा बाढीका कारण लाईफ लाईनको रूपमा रहेका विभिन्न राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका र अहिले ती राजमार्गहरूको पहिरो तथा अवरोधहरू हटाई यातायात सुचारु गर्ने प्रयास जारी राखिएको मन्त्रालयले जनाएको छ । 

कतिपय राजमार्गहरूमा आएको अवरोध हटाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । ठुलो क्षति भएको कारण बेसीशहर–मनाङ सडक, अरनिको राजमार्ग, बाजुराको मार्तडी–कोल्टी सडक र कुलेखानी हेटौडा सडकका विभिन्न स्थानमा अवरुद्ध सडक सुचारु गर्ने प्रयास जारी छ । सेती दोभान लगायत मुग्लिङ नारायणघाट खण्डका विभिन्न स्थानमा झरेको पहिरो हटाई यातायात सुचारु गर्ने प्रयास निरन्तर जारी राखिएको उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । 

मनसुनजन्य विपद्का घटनाबाट मानवीय क्षतिका साथै सयौँ घर परिवार विस्थापित भएका छन् । हालसम्म सिन्धुपाल्चोक, मनाङ, लमजुङ, कास्की, गोरखा, अर्घाखाँची, खोटाङ, तनहुँ, सर्लाही लगायतका जिल्लाहरूमा ५०५ निजी घर पूर्ण रूपमा क्षति भएका छन् भने ११२ घरहरूमा आंशिक क्षति भएको छ । विभिन्न ३६ सरकारी कार्यालयका भवनहरू क्षतिग्रस्त भएका छन् । त्यसै गरी ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।

१५ वटा पक्की मोटरेबल पुल ढले, २३ झोलुङ्गे पुल बगे

गृह मन्त्रालयका अनुसार गत जेठ १९ गतेदेखि आएको अविरल वर्षा र बाढी पहिरोका कारण मोटर गुड्ने पक्की १५ वटा मोटरेबल पुलसँगै दुई दर्जन हाराहारीका झोलुङ्गे पुल क्षत–विक्षत भएका छन् । 

यस्तो क्षति, सिन्धुपाल्चोक जिल्लामा ७, मनाङमा २, चितवनमा २, तनहुँमा १, मोरङमा १, उदयपुरमा १ र सिराहामा १ गरी जम्मा १५ वटा मोटरेबल पक्की पुलको क्षति भएको छ । यस्तै, मनाङमा ५ वटा मोटरेबल काठे पुलको क्षति समेत भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । 

यस्तै, सिन्धुपाल्चोकमा १४, मनाङमा ७ र मर्स्याङ्दी नदीको एक्लेफाँटमा ९, तनहुँ र गोरखा जोडने एउटा गरी कुल २३ वटा झोलुङ्गे पुल समेत बाढी पहिरोका कारण क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ । यस्ता भौतिक संरचनाहरुको विषयगत निकायहरूबाट तत्काल कार्ययोजना बनाइ क्षति भएका सार्वजनिक सम्पत्ति र पूर्वाधारहरूको पुनर्निर्माण गरिने अर्थमन्त्री समेत रहेका गृहमन्त्री पौडेलले बताएका छन् । 

४३ खानेपानी र २५ जल विद्युत् आयोजनाहरू पनि प्रभावित

बाढी पहिरोका कारण देशभरबाट न्यूनतम ४३ खानेपानी र २५ जल विद्युत् आयोजनाहरू समेत प्रभावित हुन पुगेको गृह मन्त्रालयले जनाएको छ । 

प्रमुखतः मेलम्ची खानेपानी आयोजनामा २ अर्ब बराबरको क्षति पुगेको जनाएको सरकारले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म जाने पहुँच मार्ग र पुलहरूमा क्षति पुगेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट अविलम्ब २ वटा बेलीब्रिज निर्माणको तयारी गरिएको जनाएको छ । 

‘मेलम्ची आयोजनाको खानेपानी, सडक लगायतका पूर्वाधार सम्बद्ध विशेषज्ञको टोलीबाट स्थलगत अनुगमन गरी तत्काल पहुँच मार्ग पुनर्निर्माण गर्नुका साथै आयोजनाको हेडवर्क्समा भएको क्षतिको यकिन गरी मर्मत सम्भारको काम अगाडि बढाइनेछ’ मन्त्री पौडेलले बताए । 

योसँगै देशभरका साना ठुला गरी विभिन्न ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ र सम्बन्धित निकायहरूबाट पुनर्निर्माणको प्रयास भइरहेको पौडेलले जानकारी दिए । 

जल विद्युत् तर्फ, कास्की, लमजुङ, मनाङ, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाका साना ठुला गरी करिब २५ वटा जल विद्युत् आयोजनाहरूमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप