बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रुसमा कोरोनाले मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो

आइतबार, २० असार २०७८, १२ : ३४
आइतबार, २० असार २०७८

रुसमा लगातार पाँचौ दिन कोरोना भाइरसबाट  मृत्यु हुनेको संख्या लगातार बढेको छ । शनिबार यहाँ ६ सय ९७ जनाको मृत्यु भयो । जो अहिलेसम्मकै सर्वाधिक हो ।

यसअघि शुक्रबार ६ सय ७९ जनाको मृत्यु भएको थियो, जो त्यतिबेलाको सर्वाधिक थियो । रुस सरकारका अनुसार शनिबार २४ हजार ४ सय ३९ जनामा नयाँ संक्रमण देखियो । यो जनवरीयताकै उच्च संख्या हो । मस्को र यस आसपासका क्षेत्र तथा सेन्ट पिटर्सवर्गमा सबैभन्दा धेरै संक्रमण देखिएको छ । अधिकारीहरुले संक्रामक डेल्टा भेरियन्टका कारण यस्तो अवस्था सिर्जना भएको बताएका छन् ।

तर, रुसले अर्को लकडाउन गर्ने विषयमा कुनै छलफल नगरेको शुक्रबार रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको थियो । क्रेमलिनका प्रवक्ता दिमिट्री पेस्कोभका अनुसार धेरै क्षेत्रहरुमा अवस्था तनावपूर्ण छ । तर नयाँ लकडाउन नचाहेको उनले बताएका थिए ।

कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र मस्कोमा शुक्रबार ७ हजार ४ सय ४६ जनामा संक्रमण देखियो । त्यस्तै, सेन्ट पिटर्सवर्गमा १ हजार ७ सय ३३ जनामा संक्रमण  देखियो भने १ सय १० जनाले ज्यान गुमाए । यस शहरमा भर्खरैमात्र  युरोकप फुटबलमा खेलहरु खेलाइएको थियो । र, मास्क लगाउनुपर्ने अनिवार्य व्यवस्था गरिएपनि धेरै समर्थकहरुले अनुहार ढाकेका थिएनन् ।

खोप कार्यक्रममार्फत कोरोना नियन्त्रण गर्ने रुसको योजना छ । तर, अपेक्षा गरिए भन्दा धेरै ढिलो रुपमा खोप लगाउने कार्यक्रम चलिरहेको छ । अहिलेसम्म यहाँको १४ करोड ६० लाख जनसंख्यामध्ये केवल १६ प्रतिशतले मात्रै खोप लगाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप