शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनवाङमा लसुनबाट ४० लाख भित्रियो

आइतबार, २० असार २०७८, ११ : ५२
आइतबार, २० असार २०७८

रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष   ४५३ क्विन्टल  लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । 

शुरुआती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो  रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । बीउ लसुनको मूल्य भने रु १२५ पुगेको उनको भनाइ छ । चुनवाङमा साना व्यापारीले कृषकबाट लसुन खरिद गर्ने र उनीहरुले जम्मा गरेको लसुन दाङतिरका ठूला व्यापारीले ठेक्कामा लिने गरेका छन् ।

आगामी आर्थिक वर्षमा कृषकलाई अनुदानमा लसुनको बीउ वितरण गर्ने जनाउँदै ३५ क्विन्टल लसुनको बीउ वडाले  खरिद गर्न जनाइएको छ । उनका अनुसार यस वर्ष लसुन उत्पादनबाट मात्रै वडामा रु ४० लाख भित्रिएको छ । 

सो गाउँ लसुनको पकेट क्षेत्र हो  । सो क्षेत्र जिल्लामा सबैभन्दा धेरै लसुन उत्पादन हुने ठाउँ भनेर पनि चिनिन्छ ।  यहाँ उत्पादित लसुन रुकुमपूर्वको विभिन्न ठाउँसहित, रुकुम (पश्चिम), दाङ, नेपालगञ्ज, पोखरालगायतका ठाउँमा जाने गरेको छ । वडाले पनि चुनवाङमा लसुनखेती र बाख्रापालनलाई जोड दिँदै आएको छ ।

गाउँपालिकाले कृषकलाई लसुनको बीउ अनुदानमा वितरण गर्दै आएको छ ।  वडाध्यक्ष पुनले लसुन कम उत्पादन हुने  क्षेत्रमा बेसार र अदुवाको पकेट क्षेत्र बनाउने प्रस्ताव गरेको बताए । यस्तै वडाका कृषकलाई बोयर जातका बोका पनि वितरण गरिँदै आइएको छ ।

अहिले वडाले वितरण गरेका १३, गाउँपालिकाका दुई, एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयबाट वितरण गरिएका चार गरी चुनवाङमा १९ बोयर बोका छन् । यसबाटै आगामी वर्षमा ५० प्रतिशत बोयर जातका बोका र पाठी उत्पादन गर्ने लक्ष्य रहेको वडाध्यक्ष पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप