आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वीपीमा चर्किँदै आन्दोलन : संयुक्त संघर्ष समितिको आह्वानमा विरोध र्‍याली

आइतबार, २० असार २०७८, ११ : ०२
आइतबार, २० असार २०७८

झण्डै तीन सातायता चरणबद्ध आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका  चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली निकालेका छन् ।

संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान प्रतिष्ठानबाट र्याली निकालिएको हो । उपकुलपति कार्यालयमा शुरु भएको र्याली धरानका मुख्य चोक परिक्रमा गरी प्रतिष्ठानमा आएर कोणसभामा परिणत भएको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले जानकारी दिए । उनले  शिक्षा तथा स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्यको माग गर्दै  वृहत प्रदर्शन गरिएको बताए ।
 
प्रतिष्ठानमा आन्दोलन चर्किएको आज २० औं दिन हो । संघर्ष समितिले चारै पदाधिकारीहरूको राजीनामा माग गर्दै उनीहरुको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ भने प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले गठन गरेको समितिसँग मात्र वार्ता गर्ने अडान अघि सारेका छन्  ।

 एक साताभित्र पनि माग पुरा नगरे सामुहिक राजीनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाण्डौं जाने संघर्ष समितिले जनाएको छ । विशेषगरी प्रतिष्ठान सुधारको मुख्य माग राखेर आन्दोलनरत  चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुको जारी आन्दोलनप्रति प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयको पनि बेवास्ताले झनै चर्कने दिशातिर उन्मुख भएको छ।

आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले उपकुलपति डा ज्ञानेन्द्र गिरीसहितका चारै जना पदाधिकारीको बहर्गिमनलाई आफ्नो मुख्य मुद्दा बनाएका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीसहितको राजनीतिक नेतृत्व भने जसरी पनि उपकुलपति गिरी जोगाउने खेलमा लागेपछि बिपी प्रतिष्ठान झनै ठूलो द्वन्द्वमा फस्ने देखिएको हो।

आन्दोलनकारीहरू समस्या समाधानका लागि प्रधानमन्त्री ओली वा स्वास्थ्य मन्त्रालयको ‘निर्णायक पहल’ पर्खेर बसेका छन्। यी निकायले कम्तीमा एउटा अधिकार सम्पन्न वार्ता समिति बनाएर संवादको वातावरण बनाउनुपर्ने आन्दोलनकारीको माग छ। प्रतिष्ठानका कुलपतिको हैसियतमा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने उनीहरूको मागलाई बालुवाटारले भने पूर्ण रुपले बेवास्ता गदै आएको आन्दोलनरत पक्षको आरोप छ।

प्रतिष्ठानलाई दबाब दिन विभिन्न चरणको आन्दोलनमा रहेको उनीहरु पछिल्ला समय चार दिनयताबाट रिले अनशनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप