बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् नेकपा एमालेको १३ औँ केन्द्रीय समिति बैठकका निर्णयहरु

शनिबार, १९ असार २०७८, २० : १६
शनिबार, १९ असार २०७८

नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा शुक्रबार र शनिवार बसेको १३ औ केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो । विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा सङ्गठनात्मक प्रस्ताव, सङ्गठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । असार ५ गते भित्र पार्टीको सदस्यता नवीकरण गरी साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न पनि बैठकले निर्देशन दिएको छ । त्यसै गरी पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन अन्तर्गत आगामी भदौ ५ गते वडा स्तरका र १५ गते पालिका स्तरका अधिवेशनहरू गर्ने निर्णय बैठकले गरेको छ । त्यसै गरी पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरूको प्रस्ताव र सिफारिस अविलम्ब पठाउन बैठकले निर्देश गरेको प्रचार विभाग उपप्रमुख थापाले बताए ।

उनले भने “ बैठकले सङ्गठनको काममा केन्द्रित हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा महासचिवले ५ बुँदे सङ्गठनात्मक योजना प्रस्तुत गर्नुभएको थियो ।  जसमा असार ५ गते भित्र पार्टीको सदस्यता नवीकरण गरिसक्नुपर्ने र साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाई सक्नुपर्ने छ । केन्द्रीय कमिटीको आगामी साउन २५ र २७ गते सम्म पार्टीको विधान अधिवेशन काठमाडौँमा गर्ने, पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन,महासचिवको संयोजकत्वमा सङ्गठनात्मक प्रस्ताव, सङ्गठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने , पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन अन्तर्गत आगामी भदौ ५ गते वडा स्तरका र १५ गते पालिका स्तरका अधिवेशनहरू गर्ने प्रस्ताव गरेका छन् । पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरूको नाम प्रस्तावित गर्न यसअघि नै पार्टीले जारी गरेको अपान अनुरूप पार्टी महासचिवले पत्राचार समेत गरेका थिए । त्यसमा मागिएको सबै प्रस्ताव र सिफारिस आइसकेको छैन अविलम्ब पठाउन भनिएको छ । स्थायी समितिको आगामी बैठकले विभागमा रहने सदस्यहरूको नामावलीलाई अन्तिम रूपमा निर्णय गर्ने गरी प्रस्ताव गरिएको छ । अर्को सिङ्गो मुलुक निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । यी ५ वटै बुँदालाई केन्द्रीय कमिटीमा घनीभूत छलफल भएर सुझाव सर्वसम्मतिले पारित गरेको छ । सङ्गठनात्मक कामको योजनालाई पारित गरेको छ ।”

बैठकले सङ्गठनको काममा केन्द्रित हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पारेका थिए । नेकपा एमाले विरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गरेका छन् । अध्यक्ष ओलीले अर्को बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट काठमाडौँमा बस्ने गरी सुचना आउने जानकारी पनि बैठकलाई गराएको थापाले बताए ।

उनले भने, “बैठकमा पार्टी अध्यक्षले स्पष्ट रूपमा के भन्नुभएको छ भने, पार्टीको १४ औ बैठक अर्थात् आगामी बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट काठमाडौँमा बस्ने गरी सूचना आउने छ । ”

प्रधानमन्त्री ओलीले अहिले विपक्षी मोर्चामा सामेल भएकालाई सर्वोच्च अदालतको फैसला आउनु अघि नै सच्चिएर आउन आग्रह पनि गरेको प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप