शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जलमग्न बन्यो रौतहट, तस्बिरमा हेर्नुहोस्

शनिबार, १९ असार २०७८, २० : ०६
शनिबार, १९ असार २०७८

रौतहट । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षा सँगै रौतहटको प्रायः सबै नदीको जलस्तर बढेको छ । शनिवार अपराह्न देखि जिल्लाको मध्यभागमा बग्ने झांझखोला र पश्चिम लालबकैया नदीको बाढीको पानी सदरमुकाम गौरमा पस्न थालेको छ । शनिवार साँझ ६ बजेसम्म गौर स्थित नर्सिङ क्याम्पस एरिया र भन्सार एरिया डुबानमा परेको सिडिओ ईन्द्रदेव यादवले जानकारी दिए । त्यसै गरी गौर भन्दा २ किलोमिटर उत्तर गौर चन्द्रपुर मुलसडकको सबगढा स्थित लचकामा पानीको सतह बढेकाले यातायात प्रभावित भएको सिडिओ यादवले बताए ।

अहिले गौर बजारमा कतै कतै मूल सडकमा ३ फिटसम्म पानी जमेको छ । लालबकैया नदी र झांझ नदीको बाढीको पानी क्रमशः बढ्दै गएकाले  रातिसम्म गौर बजारमा पानी बढ्ने अनुमान गरिएको छ । त्यसैगरी लालबकैयाको बाढीको पानी पसेर ईशनाथ नगरपालिका १ बनजरहा गाउँ डुबानमा परेको छ । बनजरहाका ३० परिवार विस्थापित भएर गाउँमै  आफन्तको घरमा बसिरहेका छन् । बनजरहा स्थित इलाका प्रहरी कार्यालय भवन पनि डुबानमा परेको छ । भवनको प्राङ्गणमा अहिले कम्मरसम्म पानी रहेकाले निस्कने अवस्था नरहेको सई आनन्द कुमार रायले जानकारी दिएका छन् । त्यसै गरी बसतपुर प्रहरी चौकी ब्रहमपुरी,गौर भन्सार सुरक्षा गार्ड,महादेव पटी प्रहरी पोस्ट डुबानमा छ ।

बकैया र झान्झ को पानी दुर्गा भगवती र गौर तिर आएको छ। सो क्षेत्रका केही परिवार विस्थापित भएर बागमतीको बाँधमा बसिरहेका छन् । बागमती को स्पर न. १ को मर्मत जारी छ । बागमतीको बाढीको पानीले गढीमाई न पा ६ सिगार्वन को पुल र स्पर मा क्षति भयेको छ । बैरिया गाउँ नजिक लालबकैया नदीको बाँध को मर्मत जारी छ। बाढी र वर्षाको पानीले हुलाकी सडक को बम नहर नजिक लच्का मा पानी बढेको छ। मौलापुर कलैया सडकखण्ड अन्तर्गत हरनहिया चौकभन्दा पूर्व करिब १० मिटर कालोपत्रे बगाएको छ ।

सो ठाउँमा पानीको ठुलो भेल चलिरहेकाले केही घण्टा देखि यातायात अवरुद्ध भएको स्थानीय राजकुमार यादवले जानकारी दिएका छ । रौतहटको मध्य तथा दक्षिण भेग बाट वीरगन्ज आउन जान त्यही बाटो सहज र नजिक भएकाले अहिले दर्जनौँ सवारी साधन लाइनमा बसेका छन् ।

त्यसै गरी कटहरियाघाट लालबकैया नदीको पुलभन्दा पश्चिम  लचकामा पानीको बहाव तीव्र भएको कारण आवतजावत बन्द भएको छ । उता बाल्चलपुर जंगलसैया सडक खण्डमा  गुजरा र झांझ नदीको लचका माथि बाट बाढीको पानी चलेको कारण आवतजावत अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण पूर्वमा बागमती र पश्चिम लालबकैयाका साथै साना साना सबै खोलामा बाढी आएको छ । बागमती नदीमा यस वर्षकै बढी पानीको मापन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

अविरल वर्षा र बाढीको पानीले जिल्लाको १८ वटै स्थानीय तहका कच्ची बाटो हिलाम्मे भएको छ । जिल्लाको प्रायः सबै ग्रामीण भेगको बस्तीहरूमा पानी पसेको छ भने कुनै कुनै घर समेत डुबानमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप