केन्द्रीय संस्करण
सीताको कथा

हिजो आत्महत्या गर्न खोजेँ, आज त ‘रानी’ जस्तै छु नि !

person explore access_timeअसार १९, २०७८ chat_bubble_outline0

जीवनको सङ्घर्षमा खट्ने र डट्ने व्यक्ति नै सफल कहलिन्छ । उनी सफल छिन् । अत्यधिक सम्पत्ति, घरभरी विलासी सामान र महँगा गरगहना भएका कारण उनी सफल कहलाएकी होइनन् । अहिले उनको मन आनन्दको हाँसोले भरिएको छ । दुई छाक मीठो मसिनो खान सकेकी छिन् । दस नङ्ग्रा खियाउन शरीरले अहिलेसम्म साथ दिएको छ । सफल के माने भने विषम परिस्थितिमा पनि उनलाई अँगालेका र जीवनभरका लागि सहयात्री बन्छु भनेका उनका श्रीमानकाे सामीप्यतामा उनी आफूलाई ‘रानी’ ठान्छिन् । 

सडक विभाग, ललितपुरअन्तर्गत रहेर उनी दैनिक सडक सफा गर्ने काम गर्छिन् । भैँसेपाटीदेखि तीन घण्टा हिँडेरै आउँछिन् । घर फर्कंदा बाटो उकालो पर्छ रे । त्यसैले बिहानको त्यही बाटो साढे तीन घण्टा लामो बनिदिन्छ । सार्वजनिक यातायात पाइँदैन । हिँड्नुको विकल्प छैन । काममा जसरी पनि आउनै पर्‍यो । आखिर गाँस, बास, कपासको सवाल छ । 

कुपण्डोलको बागमती पुलदेखि पुल्चोकको आकाशे पुलसम्मको क्षेत्रलाई सफा राख्नमा उनको पनि ठूलो देन छ । 

निकै हँसिली र फरासिली सीता तामाङले रातोपाटीसँग आफ्ना अतीतका कहालीलाग्दा क्षण र जीवनका आरोह अवरोहबारे मनको दैलोदेखि नै छताछुल्ल पोखिदिएकी छिन् । 

आमाको अनुहार याद छैन, १२ वर्षमा विवाह

 वि.सं २०२४ सालमा धादिङ जिल्लाको नौबिसेमा जन्मिएकी सीता तामाङलाई आमाको स्वरूप कस्तो छ याद छैन । न त एउटा फोटो नै छ । आमा बित्दा उनी तीन वर्षकी थिइन् । कान्छो भाइ जन्माउने बित्तिकै आमाको देहावसान भएको उनले बताइन् । बुवालाई २७ वर्षअघि नै गुमाइसकिन् । ​

बाल्यकालका दिन स्मरण गर्दै उनले भनिन्, ‘मेरो बुवाका दुईवटा परिवार । जेठी आमाबाट बुवाका सात सन्तान । म कान्छीपट्टिकी । मेरा दाइ पनि थिए । दाइ १८ वर्षको हुँदा बिते । भाइ पनि आठ वर्ष बाँचेर बित्यो । म पनि मर्छु होला भनेर सबैले सोच्नुहुन्थ्यो । त्यसैले १२ वर्षको हुँदा नै विवाह गरियो ।’

माइतीमा हुँदाका १२ वर्ष निकै कष्टकर रहे । उनका बुवा भोलि आउँछु भनेर कता जान्थे कसैलाई अत्तोपत्तो हुँदैनथ्यो । आमा नभएका टुहुरा बालख उनीहरू झ्यालमा बसेर रोएरै रात कटाउने गरेको उनले बताइन् । यति भन्दै गर्दा एकछिन अघिसम्म उज्यालो देखिएको उनको अनुहारमा अकस्मात् हन्डर र ठक्करका चोटैचोट देखिए । 

‘दुःख पाएको हो के मैले चाहिँ । खानाका लागि केही हुँदैनथ्यो । ओल्लो घर पल्लो घरकाले जे दिन्थे, त्यही खान्थ्यौँ ।’ 

मनमा उठेका आवेगलाई शब्दको धागोमा उनेर भन्न उनलाई मुस्किल पर्याे । परेली दबिएर निचोरिएका उनका आँसु नाके डाँडी वरिपरिका कुलेसा भएर बगे । उनी मौनतामा बोल्दै थिइन्, मैले उनलाई मनले सुन्न थालेँ । 

हातमा बोकेको ज्यावलले आफू बसेको स्थानमा ट्याकट्याक हिर्काउँदै उनले मेरो अनुहारमा हेरेर एकाएक प्रतिप्रश्न गरिन्, ‘पहिला दुःख भएपछि  पछि पनि दुःखै हुने रहेछ है ?’

म उनको जवाफ फर्काउन असमर्थ भएँ । गाढा सुस्केरा हाल्दै उनको मनभरी निसास्सिएको मुस्लो हावामा छरियो ।

 

स्कुल गएकै दिन शिक्षकले कुटे, उनले पनि लट्ठी भाँच्चिने गरी हानिन्ः

सन्नाटालाई चिर्दै अर्को प्रश्न गरेँ, ‘स्कुल जानुभएन ?’ यो प्रश्नको जवाफ मलाई रोचक लाग्यो । 

उनी १० वर्षकी हुँदा उनका बुवाले स्कुल जाऊ भनेर पठाएको उनलाई याद छ । तर स्कुल गएको पहिलो दिन नै उनलाई शिक्षकले हातमा बेस्सरी कुटे । शिक्षकको कुटाइ सहन नसकेर उनले पनि त्यही लट्ठीले शिक्षकलाई कुटिन् । लट्ठी दुई टुक्रा भयो । 

शिक्षकले किन कुट्नुभयो त ? यसको उत्तर दिँदा उनी झोँक्किइन् । 

‘कुनै बच्चा स्कुल गएको पहिलो दिनदेखि नै क, ख लेख्न सक्छ त ? पहिलो दिन नै सरले पढ्पढ् भन्नुभयो । जान्या भए पो पढ्नु, किताब हेरेर बसिरहेँ । अनि त्यसपछि सर आएर ‘तलाईं लाटी’ भनेर ड्याम्म सुम्ला बस्ने गरी कुट्नुभयो ।’ 

अनि त्यसपछि के भयो ? जिज्ञासु शैलीमा सोधिएको प्रश्नमा उनले भनिन्– 

‘त्यसपछि त्यही लट्ठी खोसेर सरलाई टाउकोमा हिर्काएँ, लट्ठी दुई टुक्रा भयो ।’ 

त्यसपछि उनी भागेर घर पुगिन् । बेलुका घरमा ती शिक्षक आएर ‘ठूल्दाइ, म तपाईंको कान्छीलाई पढाउन सक्दिनँ’ भने । झ्यालमा बसिरहेकी उनले पनि ‘त्यसो भए मलाई किन कुटिस् त’ भनेँ ।’

त्यस उप्रान्त उनी स्कुल गइनन् । 

अहिले सम्झिँदा उनलाई पढ्न पाएको भए नि हुन्थ्यो जस्तो लाग्छ । आखिर विद्या भनेको जिन्दगीको बत्ती न हो । उनी त्यो बत्तीबाट वञ्चित भइन् । तर श्रीमानले  थोर–बहुत सिकाएका छन् । ‘सीता’ भनेर नामसम्म लेख्न सक्छिन् । अरू जान्दिनन् । 

२८ वर्षपछि सम्बन्धविच्छेद

१२ वर्षको हुँदा ठूली आमापट्टिका दाइहरू र बुवाले उनको विवाह गरिदिए । नन्द देवरले उनका श्रीमानलाई ‘ठूल्दाइ’ भन्थे, उनले पनि ठूल्दाइ नै भन्थिन् । जन्मघरमा अत्यधिक दुःख पाएकी उनले विवाहपछि कर्मघरमा पनि असाध्यै हेला होचोको सामना गर्नुपरेको बताइन् । त्यतिबेला आफूले गर्नुपर्ने कामलाई उनी दुःख ठान्दिनन्, कर्म ठान्छिन् । बिहान उठ्ने, दैलो पोत्ने, भकारो फाल्ने, घाँस काट्ने, सोत्तर काट्न जाने, त्यसपछि मेलापात जाने उनका दैनिकी थिए । यति सबै काम सिध्याएर कहिलेकाहीँ दाउराका लागि वन पनि जानुपर्दथ्यो । डोकोमा गाग्रो राखेर पानी बोक्नु पर्दथ्यो । 

थुप्रै पटक लडेर गाग्रो फुटेको याद उनको मनस्पटलमा ताजै छन् । गाग्रो फुटेको दिन उनको पेट भोकै हुन्थ्यो । गाग्रो फुटाएको भन्दै सासूले खान नदिएका घटना पनि उनले कहिल्यै बिर्सन सक्दिनन् । साथै जेठो छोरो जन्माएपछि श्रीमान् उनीसँग तीन वर्षसम्म नबोलेको घटना सम्झिँदा आज पनि उनलाई उदेक लाग्छ । 

‘अहिलेका मान्छे श्रीमान् तीन वर्षसम्म नबोल्दा घरमा टिकेर बस्छन् ? जेठो छोरो जन्माएपछि एउटा मात्रै बच्चा जन्माउनेको मुख हेर्नु हुँदैन भनेर श्रीमान् तीन वर्षसम्म बोलेनन् । चार वर्ष लागेपछि अर्को छोरा जन्माएँ, अनि त्यसपछि मात्रै हामीबीच बोलचाल सुरु भयो । नभए अर्को श्रीमती ल्याउँछु भन्ने, ल्याउन् भन्दाभन्दै कोही पनि आएनन्, अहिले आफू छुट्टिएर हिँड्नुपर्यो ।’

सानै उमेरमा विवाह गरेका श्रीमानसँग उनको जीवन घिसिपिटी नै सही तर चलिरहेकै थियो । ‘आज नराम्रो भएर के भयो त भोलि त राम्रो होला नि’ आशाको टुकी उनको चित्तमा बलिरहेको थियो । तर नियतीको खेल अर्कै रहेछ । जब उनीमाथि श्रीमानले बात लगाए तब उनले सहन सकिनन् । आफ्नो २८ वर्षको वैवाहिक सम्बन्धलाई किनारा लगाउन बाध्य भइन् । 

बल्खु पुलबाट हाम फालेर आत्महत्याको प्रयास

जेठो श्रीमानबाट छुट्टिनु परेको कारण उनले सबिस्तार बताइन् । सम्बन्धविच्छेद हुनु केही समयअघि उनका श्रीमान् पालुङबाट भागे । कारण कसैलाई थाहा छैन । उनीहरूको तामाको चक्का बेच्ने पसल थियो । पसलै छोडेर उनी बेपत्ता भए । खोज्दै जाँदा सीता केही मानिसहरूको सहयोगमा चाल्नाखेल पुगिन् । श्रीमान भेट्दा सीतालाई ‘राम’ भेटेँ झैं भयो । 

चाल्नाखेल आएपछि अब किन जानु, यहीँ बसौँ भन्ने भयो । उनी श्रीमान्सँग चाल्नाखेलमा नै बसिन् । 

चाल्नाखेल बस्दा बल्खुमा एउटा रासनको गोदाममा उनी काम गर्न थालिन् । त्यतिबेला उनी ४० वर्ष पनि पुगेकी थिइनन् । चाल्नाखेलबाट बल्खुसम्म बसमा नै आउजाउ गर्थिन् । कान्छा तामाङ भन्ने व्यक्ति सडक विभागअन्तर्गत सरसफाइ गर्ने कामका लागि जान्थे । उनीहरू दुवैको धेरैजसो बसमा भेट हुन्थ्यो । एउटै मान्छेसँग बारम्बार भेट भइरहे बोलचाल हुने कुरालाई उनी सामान्य ठान्छिन् । 

वि.सं. २०६६ सालतिरको कुरा हो । उनलाई महिना याद छैन तर १८ गते हो भन्ने चाहिँ याद थियो । त्यस दिन सीताका जेठो श्रीश्रीमानले उनलाई ‘तँलाई एक दिन पनि बस्न दिन्नँ, तैले पकाएको भात पनि खादिनँ, तँ यस्तो मान्छेसँग हिँडेको छ रे’ भनेर बात लगाए । 

श्रीमानले बात लगाएपछि सीता खङ्ग्रङ्ग भइन् । उनले त कसैसँग सामान्य व्यवहार मात्रै गरेकी थिइन्, श्रीमान्‌ले भनेजस्तो कसैसँग सल्किएकी थिइनन् । मनमा अनेक प्रश्न उब्जन थालेँ । उनको टाउको पहाडले एकाएक थिचेको जस्तो गह्रौँ भयो । त्यतिबेला सीताको बाहिरी संसार कति शान्त र शितल थियो तर उनको फाट्न खोजेका चित्तमा भने बेचैनीको अत्यधिक उखरमाउलो ताप थियाे । 

उनलाई उकुसमुकुस भयो । झट्ट आत्महत्या गर्ने सोच पलायो । घरबाट काममा जान निस्किन् तर उद्देश्य आत्महत्याको थियो । बल्खु पुगेपछि पुलतिर लागिन् र हाम फाल्न तम्सिइन् । ट्राफिक प्रहरीले देखे, समात्न भ्याए । ‘भाइहरू मलाई नसमात्नुहोस्, मलाई मर्न दिनुस्’ रुँदै भनिन् । ट्राफिकले ‘यसो गर्न पाउनुहुन्नँ, के भयो भन्नुहोस्’ भनेर सोधिरहे । 

स्थिति नियन्त्रणमा लिएपछि ट्राफिकले सीतालाई केरकार गरे । उनले उद्वेलित मनको बह ट्राफिक माझ पोखिन् । बल्खुमै काम गर्ने भएकाले धेरैजसो ट्राफिक प्रहरीले उनलाई चिनेका पनि थिए । तसर्थ उनलाई थोरै सहज भयो । आफ्ना श्रीमानले कान्छा तामाङ भन्ने व्यक्तिसँग नाम जोडेको सबिस्तार बताइन् । कान्छा तामाङ पनि त्यतिबेलासम्म काममा पुगिसकेका थिए । उनको काम सडकमा नै थियो तसर्थ ट्राफिक प्रहरीले उनलाई पनि सोधपुछको दायरामा राखे । 

कसैसँग बोल्दैमा यस्तो आरोप किन ? उनको मनमा ठूलो प्रश्न थियो । कान्छा तामाङले पनि सीतालाई ‘नलगी नहुने हो भने लैजान्छु’ भने । ५० वर्ष नाघिसकेका उनको त्यतिबेलासम्म पनि विवाह भएको थिएन । 

दुवैजनाको सहमति पछि ट्राफिक प्रहरीले गाविसमा कागज बनाउन लगाएर हामीलाई यता पठाए । गाविसमा कस्तो कागजात बनाएको भन्ने प्रश्नमा उनले भनिन्, ‘गाविसमा हामीलाई खोज्दै पाउँदैनौ भनेर कागज लेखेपछि ट्राफिक प्रहरीले पठाइदिए ।’

तीन घण्टा हिँडेर काममा

उक्त घटना भएको पनि १२ वर्ष बितिसकेको छ । त्यस उप्रान्त उनी असाध्यै खुसी छिन् । कान्छा भएकाले श्रीमानलाई ‘च्याङ्बा’ भनेर सम्बोधन गर्छिन् । 

सडक सरसफाइको काम उनलाई श्रीमान्‌ले नै लगाइदिएका हुन् । उनले यो काम गरेको १० वर्ष बितिसक्यो । उनका श्रीमानले त झन् आफ्नो ३४ वर्ष यही कर्ममा बिताए । अहिले उनका श्रीमान; ६४ वर्षका भए । बुढाबुढीको तलब उत्ति नै छ । 

उनी भैँसेपाटीमा बस्छिन् । कोरोनाका कारण लागू गरिएको पहिलो र दोस्रो लकडाउनमा पनि यो काम रोकिएन । पहिलो लकडाउनमा आफूहरू १८ दिन घर बसेको उनले बताइन् । दोस्रो निषेधाज्ञामा शुक्रबार र आइतबार छुट्टी बसिन्, सोमबारदेखि काममा आइहालिन् । पहिलो र दोस्रो लकडाउनमा सार्वजनिक यातायात अलि मात्रै सञ्चालनमा आए तर उनीहरू कार्यालयले तोकेको बाहेक एकदिन पनि घरमा बसेनन् । 

सीता भैँसेपाटीदेखि हिँडेर कुपण्डोल आउँछिन् । उनका श्रीमानको साइट झम्सीखेल हो, उनी त्यतैतिर लाग्छन् । यसबारे उनी भन्छिन्–

‘भैँसेपाटीदेखि हिँडेरै आउँछु । मलाई त तीन घण्टा लाग्छ । हिँड्न सक्दिनँ । जाँदा झन् बढी समय लाग्छ । उकालो छ ।’

घरबाट कतिबजे हिँड्नुहुन्छ त, मेरो अर्को प्रश्नमा उनले भनिन्, ‘साढे सात बजे खाना खान्छौँ र बिहान ८ बजे हिँड्छौँ । काम गर्न १० बजे आइपुग्नुपर्ने हो । साढे ११ भित्र आइपुग्छु । बेलुका साढे तीन बजे हिँड्छु ।’

यसरी दैनिक हिँड्दा उनको खुट्टा अत्यधिक दुख्ने भएको छ आजकाल । देब्रे खुट्टाको घुँडा वरिपरि देखाउँदै उनले भनिन्, ‘अघिल्लो वर्ष लकडाउन हुनुअघि अलिअलि दुख्थ्यो । लकडाउनमा हिँडेर काममा आउँदा झनै दुख्न थाल्यो ।’

एक दिन नआउँदा जागिरै जाने हो कि भन्ने डर छ उनलाई । आखिर दिनदिनै पाखुरामा नबजारे, ढाड नकुप्र्याए, पसिना नबगाए उनको अँगेनामा ओदान बस्दैन, अँगेनामाथि कराई तात्दैन । 

बिहान साढे सात बजे खाना खाएकी उनी पसल खोलिएका छन् भने दिउँसो यस्सो एक कप चिया पिउँछिन् । घर फर्कने बेला कहिलेकाहीँ एकछिन सुस्ताउनकै लागि भए पनि जोइपोई पसलतिर छिरेर एक–एक कप चिया पिउँछन् नत्र भने घरै जान्छन्, जे छ त्यही खान्छन् । 

तीन घण्टा हिँडेर काममा आएर, दिनभरी काम गरेर, तीन घण्टाभन्दा बढी हिँडेर घर फर्किएपछि ज्यान कस्तो हुन्छ त ? अर्को प्रश्नमा उनले हाँस्दै भनिन्, ढुङ्गामाटो जस्तो । बसे उठ्न मन लाग्दैन । घर फर्केपछि लत्र्याकलुत्रुक्क भइन्छ । काम नगरौँ भने खान पाइँदैन बहिनी, यस्तै त हो नि है ।’

नाङ्गो भइन्छ कि भोको, ठेगान छैन

हुन त उनी आफ्नो पाखुरी बजार्न पाएकोमा खुसी छिन् तर पनि आफ्नो कामले केही निश्चित कुरा सुनिश्चित गरिदिएको खण्डमा सुनमा सुगन्ध हुने बताउँछिन् । 

‘हामी सडक विभागअन्तर्गत काम गर्छौं । सरकारले दिएको ज्याकेट लगाउँछौँ तर यो यतिमा मात्रै सीमित छ । मासिक तलबबाहेक पेन्सन, उपदान केही पनि आउँदैन । बल छउन्जेल रोडमा बस्ने, बल सिद्धिएपछि घरमा लुत्रुक्क परेर बस्ने । नाङ्गो हुन्छ कि भोको हुन्छ ठेगान छैन ।’

कमाएको सङ्कलन गर्न सके बुढेसकालमा पैसाले सहारा दिने कुरामा उनको दुई मत छैन । तर महिनाभरी काम गरेको पैसा खाना र भाडा तिर्नमा नै ठिक्क हुने उनी बताउँछिन् । बासका लागि जग्गा भाडामा लिएर जस्ताको टहरा बनाएकी छिन् । पानी, बत्तीको गरेर वर्षको २७ हजार तिर्नुपर्छ । 

उनले पीर मान्दै भनिन्, ‘अहिले राम्रो छ, पछिको जिन्दगी के हुन्छ थाहा छैन । पछि न पाटीको मरण हुने हो कि । दुई दिन काम गर्न सकेन भने तिमीहरूसँग पैसा छैन, निस्केर जाऊ भनिहाल्छन् घरबेटीले ।’

जीवन पानी जस्तो

जीवन के रहेछ त दिदी ? यसको जवाफमा उनी भन्छिन्, ‘जिन्दगी केही पनि होइन, पानी जस्तो हो । पानीजस्तो किन भन्दा, आज कमायो भोलि खायो । भोलि कमायो, पर्सी खायो । जम्मा गरेर राख्न सकिँदैन । मेरो त त्यस्तै भयो । पछि गएर छोराछोरीले हेर्छन् भन्ने पनि छैन । अरूको हेरेर पनि दिक्क लाग्यो । कतिले बाउआमाको बिचल्ली गराएका छन् । कतिका बुवाआमा पेटीपेटीमा सुतिरहेका छन् । कतिले आमाबुवालाई वृद्धाश्रम पु¥याएका छन् ।’

उनका जेठो श्रीमान​टका छोरा–छोरीहरू मातातीर्थ औँसी, कुशे औँसी र विभिन्न चाडवाडमा उनलाई भेट्न आउँछन् । दसैँ तिहारमा घरभरी आफ्ना सन्तान देख्न पाउँदा उनको मन पुलकित हुन्छ । कान्छो छोराको विवाह हुनै बाँकी छ । बाँकी चारजना छोरा छोरीका ८ जना नातिनातिना छन् । नाती नातिनाकाे कुरा गर्दा उनकाे अनुहार एकाएक उजेलियाे । दन्तलहर खाेल्दै उनले साँवाको भन्दा ब्याजको बढी माया लाग्छ बताइन् । 

अहिले म खुसी छु, रानी जस्तै छु

‘अहिले म खुसी छु, अहिले त धेरै राम्रो छ ।’ हाम्रो आधा घण्टाको कुराकानीमा यो वाक्य उनले बारम्बार दोहोर्याइन् । 

‘म भन्छु कि बसेर खाएर कसैलाई पनि पुग्दैन । पुग्छ त ? ज्यान सकुन्जेल जेजति सकिन्छ गरौँ, पछि भनेको कुरा जे होला होला,’ उनले भनिन् । 

गोडा नदुखे यो काम उनी अझै २०औँ वर्षसम्म गर्न सक्छिन् रे । ‘मेरो यत्ति गोडा नदुखे म भारी बोकेर पनि हिँड्थेँ, जस्तो काम पनि गर्थेँ,’ उनले निकै उत्साहित भएर भनिन् । 

यति धेरै ऊर्जा कहाँबाट आउँछ ? यसको जवाफमा उनले भनिन्, ‘मलाई भगवानले नै दिएको शक्ति होला यो । पहिलाको जीवनसँग तुलना गर्ने हो भने म त अहिले रानी जस्तै छु नि ।’

उनले हालको समयलाई विगतसँग पनि तुलना गरेर भनिन्, ‘पहिला त कति रोएर हिँडे, कति दुःख पाएँ, लुगा सय ठाउँमा टालेर पनि लगाइयो । अहिले लुगा पनि राम्रै लगाएको छु, मिठै खाएको छु । हिँड्न पनि पाएको छु । म आज गीत गाउन जान्छु, नाच्न जान्छु भन्यो भने बुढाले ‘जाऊ, जाऊ चाँडै आऊ’ भन्नुहुन्छ । मलाई त्यही खुसी छ, एकदम रमाइलो छ । पहिलाको भन्दा म अत्ति नै धेरै खुसी छु ।’

केही कुरामा झट्पट आफ्नो प्रतिक्रिया जनाइहाल्ने उनी हाल आफूलाई स्वतन्त्र महसुस गर्छिन्, श्रीमानबाट त्यत्तिकै इज्जत र माया पाएकी छिन् । यो उमेरसम्म पनि आफैँले कमाउन सकेकी छिन् । सायद त्यसैले उनलाई अत्यधिक खुसी दिएको छ । यसकै कारण आज उनी आत्मैदेखि सन्तुष्ट छिन् । 

कोरोनाको डर लाग्दैन ? यो प्रश्नको जवाफ दिँदा उनको हक्की स्वभाव झल्कन्छ । उनले भनिन्, ‘हामी काम गर्ने मान्छेलाई कोरोना लाग्छ र ? काम गर्नुपर्छ, मज्जाले खानुपर्छ, यो कोरोना लाग्दैन ।’

‘त्यो ओलीलाई किन निकाल्न आँट्याँ ?’

सायद उनले मबाट राजीनीतिक प्रश्नको अपेक्षा गरेकी थिइन्, कुरा टुङ्ग्याउनै लाग्दा उनले जिब्रोको तलतल मेट्दै हत्तपत्त सोधिन्, ‘होइन एउटा कुरा, त्यो ओलीलाई किन निकाल्न आँट्या ? के भयो ?’

उनको एकदम बेग्लै प्रश्न सुन्दा म चकित र अवाक् भएँ । 

त्यसपछि मैले सोधेँ, ‘तपाईं ओलीलाई हटाउनु हुन्न भन्ने पक्षमा हो दिदी ?’

‘हो नि, कत्ति राम्रो मान्छे हो थाहा छ ? कत्ति ठाउँमा बिचल्ली भइरहेको छ, उनले हेरिरहेका छन् । हिजो पनि समाचारमा भन्दै थियो । कति ठाउँमा पुल बनाएको छ । कति ठाउँ राम्रो भइरहेको छ । रोड कति राम्रो गरा’का छन् उनले । उनले नगरेको भए यस्तो हुन्छ त ?’

उनको धाराप्रवाह बोलीमा कतै ब्रेक लागेन । ‘त्यस्तो मान्छेलाई आजै निकाल्ने, भोलि नै निकाल्ने । कस्तो किरा पर्या मुख होला । मलाई यस्तो चित्त दुखेको छ । त्यो ओलीलाई किन निकाल्ने ? हाम्रो त बाउ सरहका मान्छे हुन नि । हो कि होइन ? उनले भ्रष्टाचार गरेर खाएका छैनन् । पशुपतिमा गएर केके चढाएको छ । कताकता पुल बनाएको छ । उनले खाएका हुन् र त्यो पैसा ?’

‘तपाईंको राजनीतितिर पनि रुचि छ ?,’ मैले प्रश्न सोधेँ । 

‘हेर्नुस् मलाई चित्त नपरेको कुरा फ्याट्टै भन्ने हो । चित्त दुखेको कुरा हो यो क्या । म त समाचार पनि हेर्छु, दोहोरी गीत पनि हेर्छु म, परी आयो भने अहिले पनि गीत गाउँछु ।’

राष्ट्रपति र ओली मिले रे, मिल्न परी गो नि

उनको चित्त दुखाई प्रधानमन्त्रीमाथि गरिएको सर्वत्र आलोचना मात्रै सीमित थिएन । जनताले राष्ट्रपतिमाथि गरेको टीकाटिप्पणीसँग पनि उनको असन्तुष्टि छ । 

‘राष्ट्रपतिलाई किन ठुँगिरहेको हो ? हँसियाले ठुँगेको जस्तो । किन ठुङेको त्यो राष्ट्रपतिलाई ?,’ उनले बम्किँदै भनिन् । 

‘राष्ट्रपति र ओली मिले रे ल । मिल्न परि गो नि । होइन ? संसार चलाउन परेको छ । हाम्रो एउटा छोरा, एउटा बुहारी, नाति नातिना मिलाएर राख्न सकिँदैन । उनीहरूले यत्रो राष्ट्र मिलाएर राख्नुपरेको छ, हो कि होइन । किन रिस गरेको त्यो बेकारमा ? मैले भेट्न पाए त त्यस्ता मान्छेहरूलाई उल्टो मुड्कीले हान्दिन्थेँ,’ उनले हात तेस्र्याउँदै हाँनुला झैँ गरिन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.