शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

उदयपुरका ५ सय घर डुबानमाः बाढीले बगाउँदा एकको मृत्यु

शनिबार, १९ असार २०७८, १७ : २१
शनिबार, १९ असार २०७८

लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । 

    बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ । बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । 

    तपेस्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गएराति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेस्वरीका जसबहादुर श्रेष्ठले बताए ।  त्यस्तै स्थानीयवासी राजकुमार भुजेलका अनुसार ती खोलामा आएको बाढीले तपेस्वरी क्षेत्र डुबानमा पर्नुका साथै जग्गा कटान गर्न थालेको छ । स्थानीय खोलाहरुमा आएको बाढी गाउँघरमा प्रवेश गर्न थालेपछि स्थानीयवासीलाई सर्तकता अपनाउन आग्रह गरिएको र बाढीपीडितको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सीलाका प्रमुख तेजबहादुर कटुवालले बताए । 

    निरन्तर वर्षाले बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ । त्यस्तै त्रियुगा नगरपालिका—११ गाइघाटस्थित बरुवा खोलामा आएको बाढीले कच्ची बाँध भत्किन सक्ने र गाइघाट बजारसमेत डुबानमा पर्न सक्ने जोखिम बढेको त्रियुगा नगरपालिका—११ ढिम्कीका शिब कार्कीले बताए । 
यसैबीच उदयपुरको चौदण्डी गढी नगरपालिकाको सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा बेल्टार मदनचौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप