बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

प्रेरक भनाइ : तीर्थ जानुभन्दा मन शुद्ध राख्नु बेश

शनिबार, १९ असार २०७८, १२ : ५३
शनिबार, १९ असार २०७८


आद्य शङ्कराचार्यले वैदिक सनातन धर्ममा महत्वपूर्ण योगदान दिएका दिए ।  उनको जन्म सन् ७८८ र मृत्यु ८२० मा भएको थियो । उनका मातापिता क्रमशः श्रीमती आर्याम्बा र शिव गुरु थिए, जो दक्षिण भारतीय ब्राह्मण परिवारमा पर्थे । उनको स्वभाव बाल्यकालदेखि नै शान्त, धीर र गम्भीर प्रकृतिको थियो । एकपटक सुनेको कुरा कहिल्यै बिर्सँदैनथे । 
उनले वैदिक सनातनधर्म संरक्षणका लागि भारतको पूर्व, पश्चिम, उत्तर, दक्षिण चार दिशामा चारवटा मठ स्थापना गरेका थिए, जसलाई क्रमशः गोबर्धन मठ, शारदा मठ, वेदान्त मठ वा श्रृङ्गेरी मठ र ज्योति मठ भनिन्छ । आठ वर्षको उमेरमा चार वेदको ज्ञाता बनेका उनी १२ वर्षको उमेरमा समग्र शास्त्र विशेषज्ञ भएका थिए । त्यस्तै १६ वर्षको उमेरमा गीता, उपनिषद् र ब्रह्मसूत्रको भाष्य लेख्ने काम सकेका थिए भने ३२ वर्षको उमेरमा संसार त्यागेर गएका थिए । प्रस्तुत छ उनै शङ्कराचार्यका महत्वपूर्ण केही भनाइ । 

१, सबैभन्दा उत्तम तीर्थ भनेको आफ्नै मन हो । मन शुद्ध भए सामान्य धारा वा कुवा नै तीर्थ बनिरहेका हुन्छन् । होइन भने तीर्थले शरीरको मयल पखाल्ने बाहेक केही गर्न सक्दैन । यसको अर्थ तीर्थको महत्व नै छैन भन्ने होइन तर त्योभन्दा पहिले मन शुद्ध हुनु जरूरी छ ।  

२, तीर्थको खोजीमा बाह्य संसारमा भड्किँदै हिड्नु भनेको हत्केलाले आँखा छोपी अँध्यारो भयो भन्दै हिँड्नु जस्टै हो । सबैभन्दा ठूलो तीर्थ आफैँभित्र अर्थात् आफ्नै साथमा छ, जसलाई मन भनिन्छ । मन शुद्ध भए केही गर्नै पर्दैन ।  

३, संसारमा सत्य भनेको एक मात्र ब्रह्म हुन् । यसबाहेक जेजति भौतिक पदार्थ छन् ती सबै मिथ्या हुन् । जहाँसम्म जीवात्माको कुरा छ उनीहरू पनि स्वयं ब्रह्मकै स्वरूप हुन् । 

४, काम, क्रोध, लोभ र मोहले भरिएको संसार स्वप्न जस्तै हो । जसरी स्वप्न देखुन्जेलका लागि मात्र सत्य हुन्छन् संसार पनि त्यस्तै हो । आँखा झिमिक्क गर्न भ्याएको हुन्न उसमा केही न केही परिवर्तन भइसकेको हुन्छ । यो त्यतिबेलासम्म सत्य देखिन्छ जतिबेलासम्म अज्ञानरूपी निद्राबाट ब्युँझन भ्याइएको हुँदैन । 

५, सत्यको परिभाषा यही हो कि जो हिजो पनि स्थिर थियो, आज पनि स्थिर छ र भोलि पनि स्थिर नै रहनेछ । जो एकैछिन पनि स्थिर छैन, स्थिर रहन सकेको छैन त्यस्तालाई सत्य मान्नु वा ठान्नु मूखता बाहेक केही होइन । 

६, आत्म भनेको त्यस्तो ज्ञान स्वरूप हो, जसलाई अर्को प्रकाशको जरुरत पर्दैन । जसरी बलेको बत्तीलाई चम्काउन अर्को बत्तीको आवश्यकता पर्दैैैन त्यसैगरी आत्मलाई चमत्कृत हुन पनि अर्को ज्ञानको आवश्यकता पर्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप