शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अविरल वर्षासँगै प्रदेश २ का विभिन्न स्थान जलमग्न (तस्बिरहरु)

शनिबार, १९ असार २०७८, १२ : ३९
शनिबार, १९ असार २०७८

अविरल वर्षाका कारण प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामसहित प्रदेशका विभिन्न स्थान जलमग्न भएको छ । जनकपुरधाम उपमहमानगरपालिकाद्वारा एकीकृत शहरी विकास परियोजना अन्तर्गत ऋणको सहयोगबाट विकास निर्माण गरिएको ढल तथा नालामा पानी निकास हुन नसक्दा सडकदेखि घरसम्म पानी पसेर जनजीवन प्रभावित बनेको छ । 

ढलमा पानी निकास अवरूद्ध हुँदा मधेश भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलमग्न भएको छ । त्यस्तै धनुषाको ढल्केबर सतह हिसाबले उच्च स्थानमा पर्छ । तर वर्षाको पानी पूर्व–पश्चिम राजमार्ग भएर बग्दा सयौं घर डुबानमा परेको छ । बर्षाको पानी बग्न बनाइएको नाला जाम हुँदा ढल्केबरस्थित राजमार्ग भएर पानी बगिरहेको हो । 

सडक डिभिजन कार्यालय जनकपुरले करिब २ करोड रुपैयाँ खर्चेर एक किलो मिटरसम्म  नाला निर्माण गरेको छ । वर्षाको पानी सहज रुपमा पूर्वमा रहेको बसही खोलामा बग्नका लागि सो नाला निर्माण गरिएको हो । तर नाला फोहर र माटोले पुरिएपछि ढल्केवरमा यस्तो अवस्था आएको हो ।

यसैगरी पर्सा सदरमुकाम विरगंज क्षेत्र समेत डुबानमा परेको छ । बिहीबारदेखि परेको अविरल वर्षाले वीरगंजको मुख्य बजार आदर्शनगर सहित विभिन्न वडा समेत डुबानमा परेको हो । 
यस्तै पर्साको र्सिसिया खोलामा आएको बाढीले खोला नजिकका विभिन्न वडा डुबानमा परेको छ ।  खोलाको बहाव निरन्तर बढिरहेकाले थप जोखिम रहेको स्थानीयले जनाएका छन् ।  वर्षापछि छपकैया, आदर्शनगर, रानीघाट, गहवा, रामटोल, श्रीपुरलगायतका क्षेत्र डुबानमा परेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय क्षेत्र समेत पानीको बहावले डुबानमा छ । ढल तथा नालाको सहज निकास नहुदाँ वर्षाको पानी सडकमा लाग्दा जलमग्न बन्नुका साथै यातायात समेत प्रभावित छ । 
त्यस्तै लगातारको भारी वर्षाको कारण महोत्तरीको रातो नदीको तटबन्ध खतरामा रहेको छ ।  तटबन्ध खतरामा रहेपछि अहिले उद्धार कार्यका लागि महोत्तरीको विभिन्न डुबान क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

तटबन्धको अधिकांश भाग पानीको बहावले भत्किसकेको हुँदा सुरक्षा टोलीले प्राविधिकहरूसँग सल्लाह लिई उद्धार कार्य अघि बढाउने महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाएको छ । अहिले सो क्षेत्रमा तत्काल प्लास्टिकको बोरामा माटो हालेर कटान रोक्ने प्रयास भइरहेको उनले बताए ।

सदरमुकाम जलेश्वर समेत वर्षातको पानीले गर्दा जलमग्न भएको छ । यस्तै पिपरा, सिरसिया, सिमरदही, मटिहानीको बरदाहा क्षेत्र र सो आसपासका वस्तीहरुमा लगातार वर्षात् भएमा बाढी आउने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले सतर्क रहनका लागि आग्रह समेत गरेको छ ।

त्यसैगरी निरन्तरको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गमा समेत पानीको बहावको कारण अवरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप