केन्द्रीय संस्करण
मेरो जीवन

‘काँग्रेस पार्टी हाँक्न सक्छु ’

त्यो त्याग कसैले बुझेन, चित्त दुखेर आउँछ

person explore access_timeअसार १९, २०७८ chat_bubble_outline0

चित्रलेखा यादव नेपाली काँग्रेसकी नेत्री हुन् । विद्यार्थी जीवनदेखि नेविसङ्घ हुँदै नेपाली काँग्रेसको राजनीतिमा होमिएकी यादवको पार्टीभित्र राम्रो छवि रहेको छ । पञ्चायतविरुद्ध प्रजातान्त्रिक आन्दोलनको समेत अनुभव भएकी उनी अहिले नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । २०५७/०५८ यता उनी निरन्तर केन्द्रीय सदस्यमा रहँदै आएकी छन् ।

एक समय पार्टीको कोषाध्यक्षको जिम्मेवारी बहन गरेकी उनी २०५६ मा सिरहा २ बाट निर्वाचित सांसद बनेकी थिइन् । सोही समय उपसभामुख समेत बनेकी उनी २०६२÷०६३ को जनआन्दोलनमा सभामुखको हैसियतले सडकबाटै विघटित प्रतिनिधि सभाको बैठक सञ्चालन गरेकी थिइन् । २०७२ मा शिक्षामन्त्री बन्न सफल उनी अब हुने नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा माथिल्लो तहमा आउने कसरतमा छिन् । परिआए नेपाली काँग्रेस हाँक्न सक्ने यादव बताउँछिन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापति वा महामन्त्री दाबी गर्ने तयारीमा रहेकी चित्रलेखा यादवका जीवनका विभिन्न पाटा रातोपाटीको मेरो जीवन स्तम्भमा उनकै शब्दमाः

राजनीति

मेरो राजनीति स्कुले जीवनबाट सुरु भएको थियो । कक्षा ८ मा पढ्दा पञ्चायत विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सहभागी थिएँ । एकजना दाइमार्फत त्यसमा होमिएकी थिएँ । उक्त समय उहाँले बीपीले लेख्नुभएको प्रजातन्त्र के हो,किन चाहिन्छ ?लगायत केही लेख पढ्न दिनुभएको थियो । ती लेखले प्रजातन्त्र हाम्रा लागि कति महत्त्वपूर्ण रहेछ भनेर बुझ्न सकें । सो समय साथीहरुलाई म दौडेर गएर दरबारभित्रबाट प्रजातन्त्र खोसेर ल्याउँछु भन्थेँ ।

विश्वविद्यालयमा पनि विद्यार्थी राजनीति गरेँ । विद्यार्थी जीवनमै २०४२/०४३ सालमा सिरहाको जिल्लाको कार्यसमिति सदस्य भएँ । त्यसपछि नेपाली काँग्रेसको राजनीति सुरु भयो । अहिले नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुँ । २०५७÷०५८ देखि नियमित केन्द्रीय सदस्यमा रहँदै आएको छु । एक पटक कोषाध्यक्षसमेत भएँ ।

२०५६ मा सिरहा २ बाट निर्वाचित सांसद भएको म अहिले समानुपातिकबाट सांसद भएकी छु । २०५६ मा उपसभामुखसमेत भएकी थिएँ ।

२०७२ साल शिक्षासमेत भएकी थिए । जिल्ला शिक्षा कार्यालय र स्कुल कहीँकतै खबर नगरेर सीधै कक्षाकोठामा निरीक्षणका गर्ने नेपालको पहिलो शिक्षा मन्त्रीमै होला । त्यसो गर्नुको उद्देश्य नियमित निरीक्षण र निगरानी भयो भने शिक्षा सुध्रिन्छ भन्ने थियो । अर्काे कुरो मैले शिक्षकको काजमा दुर्गमबाट सुगम सरुवा पनि गरिनँ । दरबन्दी दिन नसक्ने ठाउँका शिक्षक काजमा ल्याएर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नुहुँदैन भन्ने मेरो धारणा थियो । त्यसकारण धेरै साथीभाइ मसँग रिसाए ।

अहिले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आएको छ । महाधिवेशनबाट माथिल्लो तहमा आउने मेरो सोच छ । त्यहीअनुसार साथीभाइसँग परामर्श भइरहेको छ । महिला माथिल्लो तहमा पुग्नुप-यो भन्ने आवाज पनि पार्टीभित्र छ । परिआए म नेपाली काँग्रेस पार्टी हाँक्नसक्छु । लामो अनुभवले त्यो क्षमता पनि छ ममा । पार्टीको सभापति वा महामन्त्री अहिले मेरो दाबी रहन्छ ।

अहिलेको परिस्थितिले नेतृत्व परिवर्तन खोजेको छ । राजनीति भनेको जनचाहनाअनुसार अगाडि बढ्ने हो । त्यसअनुसार अगाडि बढ्न सक्यो भने जनताले त्यो पार्टी रुचाउँछ । जुन पार्टीमा महिला त्यो पार्टी भन्ने अहिले पछिल्लो समय भनाइ समेत छ । कतिपयले मलाई तपाईंको चाहना किन बाहिर आएन भनेर प्रश्न गर्नुभएको छ । मैले साथीभाइले जे उपयुक्त ठान्छन् त्यही गर्न तयार छु भन्ने गरेको छु । साधारण सदस्य भएर पनि पार्टीमै रहने मेरो कटिबद्धता हो ।

भाषण

विषयवस्तुमै केन्द्रित भएर सीधा भाषण गरेको मनपर्छ । कतिपय मानिसको आफ्नो भाषणमा अनावश्यक कुरो तानेर ल्याएर लामो बोल्छन् । त्यो मलाई मनपर्दैन ।

म पनि सीधा भाषण ठोक्छु । मैले गर्ने भाषणमा सरल र एग्रेसिभ परिस्थितिले निर्धारण गर्छ । परिस्थिति र पब्लिकको चाहना र मुड जस्तो छ त्यहीअनुसार म भाषणमा सरल र एग्रेसिभ निर्धारण गर्छु ।

सपना

नेपाल बलियो र समृद्ध राष्ट्रको रूपमा विश्वको परिवेशमा अगाडि बढोस् भन्ने पहिलो सपना हो । अर्काे नेपाली काँग्रेसबाट पार्टीबाट अग्रजले देश र जनताका लागि जति धेरै काम गरेका छन् । यो पार्टी बलियो भएको,जनताको पार्टीको रूपमा अगाडि आएको र काँग्रेसले देश र जनताको मुहार फेर्न सफल भएको,काँग्रेसले जनतालाई सुखी,न्यायमुखी जीवन दिन सकेको हेर्ने सपना हो ।

दुःख

राजनीतिमा षडयन्त्र धेरै हुँदो रहेछ । म रचनाात्मक काम गर्ने,कतै नअल्झिने,कसैलाई गालीगलौज नगर्ने,राम्रो काम गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताको मानिस हुँ । तर राजनीतिमा यस्तो धारणा राम्रो मानिँदो रहेनछ । सक्षम,योग्य र सरल भएको कारणले पार्टीभित्र पछाडि पार्नका लागि षड्यन्त्र बुनिँदा रहेछन् । त्यो देख्दा दुःख लाग्छ ।

विश्व संसदीय इतिहासमा म पहिलो सडक सभामुख हो । २०६२÷०६३ को जनआन्दोलनमा सभामुखको हैसियतले सडकबाटै विघटित प्रतिनिधि सभाको बैठक सञ्चालन गराएको थिए ।

सो समय जलस्रोत मन्त्रीको प्रस्ताव आएको थियो । मन्त्री पदसमेत रिजेक्ट गरेको जनआन्दोलनको अग्र मोर्चामा रहेकी मलाई त्यसपछि सभामुख दिनुपर्थ्यो । तर दिइएन । विदेशका धेरै राष्ट्रका पत्रकारले मेरो सडक सभामुखको विषयमा लेख तथा समाचार बनाएका थिए । त्यतिबेलाको त्यो त्याग कसैले बुझेन । त्यो नबुझेको देख्दा चित्त दुखेर आउँछ ।

त्यतिबेला मलाई सभामुख बनाउनुपर्थ्यो । त्यसो गर्दा देशकै प्रतिष्ठा बढ्थ्यो । अमेरिका जस्तो बृहत डेमोक्रेसी भएको ठाउँभन्दा नेपालमा पहिले महिला सभामुख हुन्थे । केही देशमा महिला प्रधानमन्त्री र राष्ट्रपति भएका थिए । तर सभामुख भएका थिएनन् ।

मलाई सभामुख दिएको भए पहिलो महिला सभामुख हुने देशमा नेपालको नाम लेखिन्थ्यो । त्यो अवसरबाट नेपाल चुक्यो । सभामुख मैले नपाएर त्यति दुःख लागेको थिएन । जतिबेला दुःख देशले यो अवसर गुमाएको थाहा पाउँदा लाग्यो । त्यो समय म एकदमै रोएको थिए ।

भुल

मानिस हुँ जानी नजानी धेरै भुल भए होलान् । भुलबाट सिक्ने र सुधारेर जाने हो । गल्ती नहोस् भनेर केही काम गर्नु पहिले म चार चोटि सोच्छु

विवाह

२०३९ सालमा मैले एरेन्ज म्यारिज गरेकी हुँ । विवाहपछि श्रीमान्सँगै प्रेम बस्यो । त्यो प्रेम अहिले पनि जारी छ । विवाह अगाडि कलेज र स्कुल पढ्दा कोहीसँग प्रेम बसेन । किनभने म पढाइमा राम्रो विद्यार्थी थिए । सबैसँग राम्रो मित्रता थियो । सबैलाई पढ्न सिकाउँथे । तर कसैसँग प्रेम भने भएन ।

खाना

मनपर्ने खाना दाल,भात र तरकारी नै हो । गुन्द्रुक,भटमास र तामा लगायतका तरकारी बढी मनपर्छ । रोटी पनि खान्छु । मन नपर्ने केही छैन । साकाहारी भएकाले माछा,मासु,अन्डा खान्नँ ।

रेस्टुरेन्ट परिवार साथीभाइ सबैसँग जान्छु । त्यहाँको भेज,इन्डियन खाना र मम मनपर्छ । मैले जीवनमा नगरेको एउटै काम भनेको पकाउने हो ।

फिट्नेस

फिट्नेसमा सजगकै छु । पहिलेदेखि नै नियमित एक्सरसाइज गर्छु । केही योगको आसन पनि गर्छु । घरमै सिँढीमा तलमाथि गरेर वाक समेत गर्छु । घरमा केही एक्सरसाइजका सामान छन् । तर म त्यो प्रयोग गर्दिनँ ।

पोसाक

सुहाउने,राम्रो लाग्ने र प्रयोग गर्ने पोसाक सारी चोलो हो । घरमा बस्दा पनि यस्तै नेपाली पहिरन प्रयोग गर्छु । पहिरनमा मनपर्ने रङ्ग लाइट,स्काई कलर हो ।

मैले अहिलेसम्म आफ्नो लागि पहिरन किनेको छैन । हाम्रो समुदायमा माइत,मावली,आफन्तको जहाँ गए पनि पहिरन दिने चलन छ । त्यसैले पुगेको छ ।

अध्ययन

अध्ययन गर्ने बानी छ । श्रीमानले नयाँ नयाँ पुस्तक ल्याउनुहुन्छ । उहाँले ल्याएपछि म पनि पढ्छु । म अङ्ग्रेजी साहित्यको विद्यार्थी भएकाले साहित्यमा कविता,कथालगायत पढ्छु । विद्यार्थी जीवनमा जीवनीहरू समेत पढ्थेँ ।

कोठामा धेरै पुस्तक राखेको छु । ती मध्ये द क्वालिटी आफ लाइफ भन्ने पुस्तक पनि छ । यो मेरो मनपर्ने पुस्तक पनि हो । यो पनि फेरि पढिरहेकी छु । अन्य केही किताब पढ्दै छु । लिभिङ रुममा समेत मैले किताब सजाएर राखेको छु ।

घुमघाम

घुमघाममा असाध्यै रुचि छ । घुम्नका लागि ऐतिहासिक,धार्मिक ठाउँहरु मनपर्छ । विदेशका करिब ४०÷४५ देश पुगेँ होला । देशको पनि करिब करिब सबै जिल्ला टेकेकी छु ।

अहिले घुम्न जान मन लागेका ठाउँ थुप्रै छन् । ती मध्ये चार धाम एक हो ।

फुर्सद

सबैभन्दा समस्याको विषय नै फुर्सद हो । फुर्सद कहिल्यै हँुदैन । यसो गरौँला,उसो गरौँला भनेर प्लानिङ ग¥यो फुर्सदको नभएका कारणले प्लानिङ फेल हुने रहेछ । केही न केही अपर्झट काम आइपरेकै हुन्छ । जनताको सेवा गर्छु भनेर राजनीतिमा आएपछि पव्लिकले भनेको नाइँ भन्न पनि नसकिने रहेछ । त्यसैले फुर्सद नै हुँदैन ।

खेलकुद

खेलकुदमा रुचि छ । सानोमा धेरै खेलहरु खेल्थेँ । भलिबल,रनिङ लगायतमा टिम लिडर भए धेरै खेल्थे । पढाइ होस् वा खेलकुद म सेकेन्ड भएको रेकर्ड छैन । जुनै खेलमा पनि भाग लिन्थेँ र भाग लिएको खेलमा फस्ट नै हुन्थेँ । खेलकुदबाट थुप्रै पुरस्कार जितेकी छु । समयको अभावले अहिले खेलकुद हेर्नसमेत रुचि छैन ।

मोबाइल

पहिले धेरै समयसम्म मैले मोबाइल बोकिनँ । साथीभाइ सबैले यस्तो पनि हुन्छ भनेर गिल्ला गर्न थालेपछि बोक्न थालेँ । मेरा साथी भाइमध्ये सबैभन्दा पछि मोबाइल बोक्ने मै होला ।

अहिले नोकिया र आइफोन गरेर दुईवटा मोबाइल छन् । कुरा गर्न नोकिया प्रयोग गर्छु भने मल्टिमिडिया,सामाजिक सञ्जाल,इमेल,युट्युब लगायत प्रयोग गर्न आइफोन चलाउँछु । समाचारहरु समेत यसैबाट हेर्ने गर्छु । आइफोन छोराले अमेरिकाबाट पठाएको हो ।

टिभी

कहिले पार्टीको मिटिङ,कहिले अन्य मिटिङ र अन्य कामले सधैँजसो व्यस्त हुने भएकाले टीभी हेर्न भ्याउँदिनँ । घरमा बसेको समय केही राम्रो कुरा आएको छ भने १०/१५ मिनेट हेर्छु पनि ।

चलचित्र

अध्ययनको समय कीर्तिपुरको गल्र्स होस्टल बसेर पढियो । त्यतिबेला पनि साथीहरु जाँदा म हलमा गएर फिल्म हेर्दिनँ भन्ने । कलेज समय कहिलेकाहीँ जान्थेँ । अहिले हलमा गएर फिल्म नहेरेको धेरै भयो ।

आर्ट खालका,अस्करमा नोमिनेशन भएका,चर्चा आएका फिल्म भने कहिलेकाहीँ हेर्छु । कसैले हेर्नैपर्ने भनेर सिफारिस गरेका फिल्म पनि हेर्छु । फिल्म हेर्ने समय अध्ययनमा दिन मलाई मन लाग्छ ।

गीतसङ्गीत

गीतसङ्गीत धेरै मनपर्छ र सुन्छु पनि । जीवन,जगत,परिस्थिति झल्काउने,मानिसलाई मार्ग निर्देशन गर्ने र दुःख,सुखका घटना सम्झाउने गीतसङ्गीत सुन्छु । भजन पनि मनपर्छ । गीतसङ्गीत सुन्ने प्रायः बेलुकाको समय हो ।

स्कुलले जीवनमा एक पटक गीत गायन र कविता प्रतियोगितामा पनि प्रथम भएकी थिएँ । त्यसपछि यसमा कटिबद्ध हुन सकिएन ।

मापसे

मापसे कहिल्यै गरिन र झुकावसमेत रहेन । आफूले नखाए पनि अहिले घरमा सजाएर राख्ने चलन छ । म भने त्यसो गर्दिनँ । घरमा आउने पाहुनाले मागे बाहिरबाट उपलब्ध गराउँछु ।

रोग

भगवानको आशीर्वादले अहिलेसम्म केही रोग छैन ।

राशि

मेरो राशि मीन हो । ग्रहदशामा विश्वास लाग्छ । हेराउने जुराउने गर्दिनँ । सानैदेखि भगवानप्रति विश्वास रहँदै आएको छ । भगवानको भक्ति समेत गर्छु ।

भगवान हुनुहुन्छ,जे दिने हो उहाँले दिनुहुन्छ भन्ने सानैदेखि लाग्नेगथ्र्यो । त्यो विश्वास उमेरसँगै  झन् गाढा भएको छ । मेरो भगवान प्रतिको विश्वास कहिल्यै घटेन ।

मृत्यु

मृत्यु जीवनको अन्त्य हो । हामी सबै एक दिन जानैपर्छ । को,कहिले भन्ने कसैलाई थाहा हुँदैन । मृत्यु अगाडि राम्रो काम गर्न छोड्नु हुँदैन मेरो धारणा हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.