बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा उपेन्द्र यादव पक्षकै मुख्यमन्त्री र अर्थमन्त्रीबीच टकराव

शनिबार, १९ असार २०७८, १९ : ३२
शनिबार, १९ असार २०७८

प्रदेश २ को सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको टकराव जनता समाजवादी पार्टी नेपालका लागि टाउको दुखाइको विषय बनेको छ ।

त्यसो त, जसपा अहिले दुई धारमा विभाजित देखिन्छ तर ती दुई धारमध्ये उपेन्द्र यादव पक्ष प्रदेश २ को सरकारमा छ भने अर्को पक्ष सरकारबाट बाहिरिएको छ । उपेन्द्र यादवकै पक्षका मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादवबीच व्यक्तित्वको टकरावका कारण प्रदेश सरकार फेरि अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चिन्ता बढेको हो ।

मुख्यमन्त्री राउत र मन्त्री यादवबीचको अन्तरद्वन्द्व मिलाउन पार्टी अध्यक्ष उपेन्द्र यादवले पटकपटक प्रयास नगरेका होइनन् तर पनि समस्या समाधान हुन सकेको छैन । पछिल्लो समय यी दुवैजनाको अन्तरद्वन्द्वले पार्टी तथा सरकारलाई असर पुग्ने देखेर अध्यक्ष यादव तीनदिन जनकपुरमै रहेर सहमतिको प्रयास गरे ।

उनले दुवै नेताबीचको विवादलाई थामथुम पार्ने प्रयास गरे पनि समस्या उस्तै रहेको जानकारहरु बताउँछन् । मुख्यमन्त्री राउत र मन्त्री यादव दुवैजना जसपाका कार्यकारिणी सदस्य हुन् । पार्टीभित्र दुवैले एक अर्कालाई प्रतिस्पर्धीका रुपमा लिने गरेका छन् ।

प्रदेश २ सरकार गठन भएदेखि नै दुई नेताका बीच व्यक्तित्वको टकराव सुरु भएको थियो । यी दुवै नेता मुख्यमन्त्रीको दावेदार थिए तर अन्ततः राउतले बाजी मारे । स्रोतका अनुसार त्यतिबेला राउत र यादवलाई आधाआधा कार्यकाल सरकारको नेतृत्व दिने भद्र सहमति भएको थियो । तर आधाभन्दा बढी समय बित्दा पनि आफूलाई मुख्यमन्त्री नबनाइएको भन्दै यादव असन्तुष्ट हुन थालेका छन् ।

एक वर्षअघि समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपछि सरकार हेरफेरको चर्चा चलेको थियो । यस्तो चर्चासँगै मन्त्री यादवले आफू मुख्यमन्त्री बन्न पाउनुपर्ने दाबी गरेका थिए । उनले संसदका बहुमत सदस्यको मत आफ्नो पक्षमा पार्ने प्रयाससमेत गरेका थिए ।

त्यसका लागि उनले सुरुदेखि नै सांसदहरुलाई बजेटमा कार्यक्रम पार्ने, क्षेत्रमा बजेट मिलाइदिने जस्ता काम गर्दै आइरहेका थिए । पछिल्लो समय जसपा नेपालमा विवाद उत्पन्न भएपछि पनि प्रदेश २ जसपा संसदीय दलको नेता बन्न यादवले सक्दो प्रयास गरेका थिए । आफ्नो पक्षबाट सांसदहरुको हस्ताक्षर संकलन समेत गरिसकेका थिए ।

तर पार्टीले पुनः लालबाबु राउतलाई नै संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीमा निरन्तरता दिएपछि विजय यादव निरास बनेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई हटाएर काँग्रेसलाई सरकारमा ल्याएपछि विजय यादव थप असन्तुष्ट बनेको चर्चा छ ।

सुरुदेखि नै मुख्यमन्त्री राउतलाई असहयोग गर्दै आएका उनी पछिल्लो हेरफेरमा पनि आफूलाई मुख्यमन्त्री नबनाइएको भन्दै सरकारमा पुरै असहयोग गर्न थालेको चर्चा मधेस भवनमा व्याप्त छ ।

यहाँसम्म कि बजेट ल्याउँदा अर्थमन्त्रीका हैसियतले विजय यादवले मुख्यमन्त्री राउतसँग कुनै सल्लाह नगरेको बताइन्छ । बजेट ल्याउनुभन्दा अघि सरकार प्रमुखलाई बजेट वक्तव्य अध्ययन गर्न दिने चलन रहे पनि अर्थ मन्त्री यादवले सिधै प्रदेशसभामा गएर बजेट पढेर सुनाएको मुख्यमन्त्री पक्षधर नेताको भनाइ छ ।

एउटै पार्टीका भएका कारण राउतले यो कुरालाई गम्भीर रुपमा नउठाएको उनी निकट एक प्रदेशसभा सदस्यले बताए । उनले भने, ‘मन्त्री विजय यादवले मुख्यमन्त्रीजीसँग जे व्यवहार गर्नुभएको छ, त्यो शोभनीय छैन, यदि मुख्यमन्त्रीले चाहेको भए धेरै कुरा हुन्थ्यो तर उहाँ आफ्नै पार्टीको नेता भनेर सबै सहेर बसिरहनुभएको छ ।’

अर्थमन्त्री विजय यादवले मुख्यमन्त्री राउतकै चासोका थुप्रै बजेटहरु काटेको बताइन्छ । प्रदेश सरकारको कानुनी सल्लाहकार मुख्यन्यायधिवत्ता दीपेन्द्र झाको जिल्ला तथा क्षेत्रका लागि बजेटमा थुप्रै कार्यक्रम राखिएकोमा ती सबैलाई बजेटमा हटाइएको चर्चा छ । मुख्यन्यायाधिवक्ता झाले जे भन्छन्, राउतले त्यही मान्ने भएका कारण पनि अर्थमन्त्री यादवले बजेटमा कैँची चलाएको जानकारहरु बताउँछन् ।

यद्यपि जसपाका प्रदेशसभा सदस्य संजय यादवले मुख्यमन्त्री राउत र अर्थमन्त्री विजय यादवको बीचमा कुनै विवाद नरहेको दावी गरे । उनले भने, ‘दुवैजनाको सल्लाहमै प्रदेश सरकार सञ्चालन भइरहेको छ, दुईजनाको बीचमा विवाद रहेको कुरा विपक्षीहरुले उचालेको मात्र हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप