आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको माग सम्बोधन नहुनु खेदजनक

शनिबार, १९ असार २०७८, ०८ : ५६
शनिबार, १९ असार २०७८

बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले आफ्ना माग सम्बोधन नभएको प्रति ध्यानाकर्षण गराएका छन् । उनीहरु विभिन्न माग राखी विगत १८ दिनदेखि आन्दोलनरत छन् ।

नेपाल चिकित्सक संघले नेपाल सरकार तथा सरोकारवाला निकायबाट उक्त आन्दोलनको कुनै पनि  सम्बोधन नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको त्यस प्रतिष्ठानमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरु यति लामो समयसम्म आन्दोलित भइरहँदा समेत सम्बन्धित सरोकारवाला निकायबाट वार्ता र संवादको वातावरण सिर्जना नगरिनु र उत्पन्न समस्याको समाधानतर्फ कुनै पनि पहल नगरिएको घटनाले समग्र राष्ट्रकै प्रतिष्ठामा आँच आएको ठहर गरेको छ ।  

नेपाल चिकित्सक संघले नेपाल सरकारले अबिलम्ब वार्ता टोली घोषणा गरी संवादको वातावरण तयार गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । 

त्यस प्रतिष्ठानमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले उठाएका जायज मागहरुलाई यथाशिघ्र सम्बोधन गरी बिना कुनै अवरोध शान्तिपूर्ण वातावरणमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न नेपाल चिकित्सक संघले नेपाल सरकारलाई अनुरोध समेत गरेको छ ।

साथै, नेपाल चिकित्सक संघ धरान शाखाले त्यस प्रतिष्ठानको सुदृढीकरणका लागि संचालन गरेका कार्यक्रमहरुमा यस केन्द्रीय कार्यालय ऐक्यबद्धता जाहेर गर्दै अबिलम्ब जायज मागहरु सम्बोधन गरेर बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठा र गरिमालाई जोगाउन सम्बन्धित सबैमा अपिल गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप