शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली एमालेको प्रतिक्रिया : संसदीय व्यवस्था र दलीय आचरण विपरित गतिविधि भए

शुक्रबार, १८ असार २०७८, २२ : २३
शुक्रबार, १८ असार २०७८

नेकपा एमाले कर्णालीले पटक–पटक संसद अवरुद्ध गर्नु रहर नभई बाध्यता भएको बताएको छ । आइतबार संसद अवरुद्धपछि पत्रकार सम्मेलन गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय व्यवस्था र दलीय आचरण विपरित गतिविधि देखा परेकाले त्यसलाई सच्याउनका लागि गरिएको अभ्यास भएको बताए । 

‘हाम्रो बुझाई संसदीय व्यवस्थाभित्र एउटै पार्टी सत्तापक्ष र प्रतिपक्ष हुँदैन्’ कँडेलले भने, ‘त्यसरी सभा चलाउने या नचलाउने भन्नेबारे विषयमा हामीले विषय संसदमा उठाएका हौँ ।’ एउटै पार्टी सत्ता र विपक्षमा रहेर सभा चलाउने वा नचलाउने छलफल गरौँ भन्ने कुरा राख्दा केही सहमति भएपनि सरकार पक्ष कार्यान्वयनमा अग्रसर नभएपछि संसद अवरुद्ध गर्नुपर्ने बाध्यता आएको हो ।’ 

‘हामीले कुनै रहरका लागि यो सबै गरेका छैनौँ’ कँडेलले भने–‘सभामुखले जेठ ३१ गते पुनर्बहाली गरेको निर्णय पढेर प्रदेशसभामा स्थापित भएको जानकारी गराउनुभयो । सोही अनुसारको कार्यव्यवस्था देखिएन । सभामुखले चारैजनाको नाम लिएर सभामा स्थापित भएको कुरा जानकारी गराएपछि त त्यही नियम हो कानुन हो नि !’

‘असार १ गते बजेट ल्याइसक्नुपर्ने बाध्यता थियो । हामीले बाधक बन्दैनौँ भन्यौँ । तर, १ गतेदेखि हाम्रा कुरा निरन्तर उठाउने भनेका थियौँ । तर, सरकार पक्ष चुपचाप लाग्यो ।’ नेता कँडेलले आइतबार सर्वदलीय बैठक बसेको बताउँदै भने–‘ बजेट छ । बजेटमा ध्यान जानुपर्छ । तर, त्योभन्दा अगाडि हामीले ल्याएको व्यवस्था, संरचना, यसका मूल्य मान्यताहरुको  रक्षा गर्नु प्रमुख दायित्व ठानेर हामीले कुरा उठाइरहेका छौँ । प्रदेशसभामा एउटै पार्टीको प्रमुख प्रतिपक्ष र सत्तापक्ष रहनेगरी अभ्यास गर्ने कि नगर्ने ? गर्ने भए छलफल चलाउ भनेर पनि हामीले भनेका छौँ ।’ 

कँडेलले विगत सम्झँदै भने– ‘हामी तीन वर्षको अवधिसम्म सदनभित्र सत्तापक्ष भएर भूमिका खेलेका थियौँ । केही समयदेखि प्रतिपक्षको भूमिकामा रहेर भूमिका निर्वाह गरिरहेका छौँ । विगतको के अभ्यास थियो ? र आज के भयो भन्ने कुरा हो ।’ 
कर्णाली प्रदेशमा राजनीतिक विवादका कारण संसद सहज रुपमा चल्न सकिरहेको छैन् । फ्लोर क्रस गरेका एमाले खनाल–नेपाल समुहका चारजना सांसदको सांसद पद पुनर्बहाली भएसँगै कर्णाली प्रदेशमा नेकपा एमाले भित्रको राजनीति खल्बलिएको छ भने त्यसको प्रभाव प्रदेशसभामा परिरहेको छ । जसका कारण प्रतिपक्षले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

असार १ गते आगामी बर्षको बजेट प्रस्तुत भएपनि हालसम्म बजेटमाथि छलफल हुन सकिरहेको छैन । प्रमुख प्रतिपक्ष दल एमालेले लगातार संसद अवरुद्ध गर्दै आएपछि बजेटमाथि छलफल हुन नसकेको हो । प्रदेशसभाको आइतबार बोलाइएको आठौँ अधिवेशनको १४ औँ बैठक पनि एमालेले चल्न दिएन । एमालेले आफ्नो दलभित्रको राजनीतिक मुद्दालाई प्रदेशसभामा लगेर लगातार संसद अवरुद्ध गर्नु राम्रो पक्ष नभएको सरकार पक्षको टिप्पणी छ ।

एमाले खनाल–नेपाल पक्षका चारजना मध्ये प्रकाश ज्वाला पार्टी फर्किए पनि सरकारमा रहेका तीन जना अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा भने पार्टी केन्द्रको अवस्था र सर्वोच्चको फैसला कुरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप