गण्डकीका ट्याक्सी व्यवसायीको माग : बैंक कर्जाको समयसीमा ६ महिना सारिदिनुपर्यो
गण्डकी ट्याक्सी व्यवसायी पब्लिक लिमिटेडले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर बैंकको किस्ताको समय अवधि थप गरिदिन आग्रह गरेको छ । संस्थाका अध्यक्ष गान्धीराज गिरीको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री पोखरेललाई भेटेर कम्तिमा ६ महिना किस्ता सार्ने व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
तत्काल सवारी साधन मर्मत गर्नुपर्ने भएकाले व्यवसायीले जुन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइएको छ त्यसैमा नै कम्तिमा दुईदेखि पाँच लाख रुपैयाँसम्म कम्तिमा ६ महिनापछि किस्ता शुरु हुने गरि थप कर्जाको व्यवस्था गरिदिन मुख्यमन्त्री पोखरेललाई भेटेर आग्रह गरिएको अध्यक्ष गिरीले बताए ।
उनले बीमा रकमका सम्बन्धमा लकडाउन भएको दिनदेखि लकडाउन अन्त्यको १५ दिनपछि लागू हुने गरी बीमा रकम व्यवस्था गर्न पनि संस्थाको तर्फबाट माग गरेको बताए । यसैगरी स्वरोजगार मजदूरलाई खाने व्यवस्थाका लागि आवश्यक राहतको उचित व्यवस्था गरिदिन पनि संस्थाले प्रदेश सरकारसँग माग गरेको छ । मुख्यमन्त्री पोखरेल समक्ष आफूहरुले राखेका माग जायज भएकाले माग पूरा हुनेमा आशावादी रहेको अध्यक्ष गिरीले बताए ।
उनले संस्थाका तर्फबाट मुख्यमन्त्री पोखरेल समक्ष राखिएका माग पूरा भएको अवस्थामा मात्र यातायातका साधन सहज रुपमा सञ्चालन गर्न सकिने बताए । संस्थाले प्रदेश सरकारको अन्य विषयमा पनि ध्यानाकर्षण गराएको छ ।
गण्डकीमा सार्वजनिक सवारी साधनलाई दीर्घकालीन रुपमा कसरी सञ्चालन गर्ने, प्रदेशभित्र सञ्चालित सवारी साधनको एकिन गर्ने, सवारी साधन कस्ता र कति सञ्चालन गर्ने, सडकअनुसार भाडादर कस्तो कायम गर्ने, पर्यटन सवारी साधनमा कसरी विश्वास दिलाउने, उपभोक्ता मुखी सेवा कसरी प्रदान गर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष गिरीले बताए ।