बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बजेट बिचौलिया पोस्ने प्रकृतिको भयो : सांसद सिंखडा

शुक्रबार, १८ असार २०७८, १७ : ०३
शुक्रबार, १८ असार २०७८

बागमती प्रदेशसभा सदस्य जगतबहादुर सिम्खडाले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट जनताको पक्षमा नभएको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्दै सांसद् सिम्खडाले बजेट हेटौंडा र काठमाडौं केन्द्रीत गरेर ल्याएको बताए ।

सरकारले बजेटमा विकटका पालिकाहरुलाई उपेक्षा गरेको उनले बताए । प्रदेशको विकट पालिकाका जनताले बजेटमा प्रदेश सरकारको अनुभव गर्न नपाएको उनको भनाई छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेट मन्त्री र कार्यकर्ता केन्द्रीत भएको भन्दै गरिब जनताको पक्षमा नभएको उनले बताए ।

प्रदेश सरकारले बजेट ल्याउँदा कोरोना नियन्त्रण, खोप र राहतलाई केन्द्रीत गर्नुपर्ने भए पनि त्यसो हुन नसकेकाले सरकार जनताप्रति उत्तरदायी नभएको प्रष्ट भएको उनले बताए । प्रदेश सरकारले हेटौंडाको कपडा उद्योग, काठमाडौंको बाँसबारी छाला उद्योग, भृकुटी कागज कारखाना सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

प्रदेश सरकारको बजेट रोजगारी र उत्पादनतर्फ नभई बिचौलिया पोस्ने प्रकृतिको भएको भन्दै बजेटमा रुबी भ्याली, गंगाजमुना जस्ता विकट पालिकालाई बेवास्ता गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप