शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको नदीहरूमा पानीको सतह  घट्दै, गौरको मुख्य बाटोमा भने डेढ फिट पानी

शुक्रबार, १८ असार २०७८, १३ : ०४
शुक्रबार, १८ असार २०७८

अविरल वर्षासँगै पछिल्लो दुई दिनदेखि लगातार बढ्दै गएको रौतहटको नदीहरूमा पानीको सतह आजदेखि क्रमशः घट्न थालेको छ ।  जिल्लाको पूर्वी भेग स्थित बागमती र पश्चिम लालबकैया नदीका साथै साना साना खोलाहरूमा समेत आज बिहानै देखि पानीको सतह घटिरहेको देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बागमती नदीमा पानी को सतह ६५० मिलिलिटर र बकैया नदीमा पनि अन्दाजी  साढे ५ फिट पानीको सतह बढेको थियो । तर शुक्रबार आज बिहानको मापन अनुसार बागमती ५५० मा मिलिटर र लालबकैया नदीमा अन्दाजी ५ फिट पानीको सतह रहेको रौतहटका सिडिओ इन्द्रदेव यादवले बताएका छन् ।

अन्य खोलाहरू चांदी, झांझ, गुजरा लगायतमा पानीको सतह घटिरहेको अवस्था रहेको सिडिओ यादवले जानकारी दिएका छन् ।  बागमती नदीमा ५०० मिलिमिटर भन्दा बढी पानीको बहाव देखिएमा त्यसलाई खतराको सङ्केत मानिने हुँदा अब क्रमशः खतरा कम हुँदै गएको छ ।

 यसैबीच लगातारको बाढीले क्षतिग्रस्त बनाएको बागमतीको १ नम्बर स्पर नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गए राती मर्मत गरेको छ ।  राजदेवी नगरपालिका ९ स्थित कटान हुन लागेको स्पर संयुक्त टोली र स्थानीय मिलेर बाँस पाईलिङ गरी बोराभित्र बालुवा राखेर तत्काल मर्मत गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले जानकारी दिनुभयो ।

 नदीहरूमा पानीको बहाव कम भएपछि जिल्ला सदरमुकाम  गौर स्थित मुख्य बाटोमा अदालतको अगाडि डेढ फिट पानी जमेको छ ।  मुख्य बाटोमा पानी जमेकाले आवतजावत गर्न ठुलो कठिनाइ भइरहेको स्थानीय पत्रकार आरएन साहले बताएका  छन् ।

जिल्लाको पूर्वीभेगमा बागमती र पश्चिममा लालबकैया नदीमा ठुलो बाढी आएमा दक्षिणी भेगका केही गाउँ र सदरमुकाम गौर डुबानमा पर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप