आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीका वकिलले भने– मुलुकलाई निर्दलीयतर्फ लैजाने गरी अदालतले व्याख्या गर्न मिल्दैन

शुक्रबार, १८ असार २०७८, १२ : ५४
शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरेका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले मुलुकलाई निर्दलीयतर्फ लैजाने गरी अदालतले संविधानको व्याख्या गर्न नसक्ने जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै उनले संविधानको धारा ७६ (५) अनुसार अन्तिम सरकार गठनको आधार उपधारा २ मात्रै रहेको दाबी गरे । त्यसैले, निर्दलीयतर्फ मुलुकलाई लैजाने गरी सर्वोच्चले संविधानको व्याख्या गर्न नमिल्ने उनको भनाइ छ ।

राष्ट्रपतिविरुद्ध मुद्दा लाग्ने व्यवस्था संविधानले नगरेको जिकिर गर्दै उनले धारा ७६ को उपधारा (५) मा व्यवस्था भएको आधारलाई राष्ट्रपतिले नै मूल्याङ्कन गर्ने बताए ।

‘राष्ट्रपतिले गर्ने निर्णयको मूल्याङ्कन अरूले गर्नुपर्छ भन्ने हुँदैन,’ उनले भने, ‘जसलाई संविधानले निर्णय गर्ने अधिकार दिएको छ, उसैले आधारको मूल्याङ्कन गर्नुपर्छ ।’

आधार परीक्षण गर्न अन्यत्र पठाउने भन्ने नहुने जिकिर गर्दै भट्टराईले आधार मूल्याङ्कन गरेर निर्णय गर्ने अधिकार राष्ट्रपतिकै हुने बताए ।

‘ओली र देउवा दुवैले पेस गरेको आधार मूल्याङ्कन गरौँ,’ इजलासमा उनले भने, ‘राजनीतिक दल सम्बन्धी ऐन अनुसार शेरबहादुर देउवाको पक्षमा १११ सांसद मात्र बाँकी हुन्छन् ।’

राजनीतिक दल सम्बन्धी ऐन अनुसार संसदीय दलको नेताको ह्वीप लाग्ने जिकिर गर्दै उनले संसदीय दलको नेता आफैँले प्रधानमन्त्रीमा दाबी गरेको अवस्थामा एमालेको एउटा समूहले देउवालाई समर्थन गर्न मिल्छ भनेर अदालतले भन्न नसक्ने प्रस्ट पारे ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप