शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारमा टेन्टमा बैठक : माधव पक्ष गएन, वामदेव र पूर्व माओवादी नेताहरु उपस्थित

शुक्रबार, १८ असार २०७८, १२ : २३
शुक्रबार, १८ असार २०७८

माधव नेपाल पक्षको अनुपस्थितिबीच नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आज बालुवाटारमा बैठकका लागि बाहिर नै टेन्टको व्यवस्था गरिएको छ ।

आजको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् ।  त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय कमिटीमाथि माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।

आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो । तर, आजको बैठक स्थगित गरिएन । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो।


​वरिष्ठ नेता माधव नेपाल पक्षको अनुपस्थितिमा बसेको पहिलो बैठकले नवौं महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई १० औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास थालेको थियो ।

आयोजक कमिटीद्वारा नेपाल पक्षमाथि गरिएको कारबाहीलाई सर्वोच्चले अवैध भनेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी ब्युँत्याएका थिए । तर ०७५ जेठ २ को केन्द्रीय कमिटीमा नफर्किएको भन्दै माधव नेपाल पक्षले आजका बैठकमा पनि उपस्थिति नहुने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप