स्वर्गीय बाबुको त्यो सम्झना, जसले सधैँ मैदानमा हँसाउँछ
(प्लयेर्स ट्रिब्युनमा १२ जनवरी २०१७ मा छापिएको यो पत्र ३७ वर्षको उमेरमा रोनाल्डिन्होले बाल्यकालबारे आफूलाई सम्बोधन गरेर लेखेका हुन् । अर्थात् ८ वर्षका रोनाल्डिन्होलाई ३७ वर्षका रोनाल्डिन्होले यो पत्र लेखेका हुन् । उनले आफ्नो जीवनका भोगाइलाई यसमा उतारेका छन् । यो पत्र लेख्दासम्म रोनाल्डिन्होले फुटबलबाट संन्यास लिइसकेका थिए, पत्रमा उनले आफ्नो करियरलाई सुरुवातदेखि कोट्याएका छन् ।)
प्रिय आठ वर्षका रोनाल्डिन्हो ।
भोलि जब तिमी फुटबल खेलेर घर फर्कनेछौ तब तिम्रो घरमा धेरै मानिस हुनेछन् । तिम्रा काकाहरू, तिम्रो परिवारका साथीहरू र ती व्यक्तिहरू जसलाई तिमीले चिन्दैनौँ, उनीहरू किचनमा हुनेछन् ।
सुरुमा तिमीलाई लाग्नेछ, तिमी पार्टीका लागि केही ढिला भयौ । त्यहाँ सबैजना तिम्रो दाजु रोबर्टोको १८औँ जन्मदिन मनाउन भेला भएका हुन् ।
प्रायजसो जब तिमी फुटबल खेलेर घर आउँदा आमा सधैँ हाँस्छिन् वा जोक गर्छिन् । तर यसपटक उनी रोइरहेकी हुनेछिन् ।
त्यसपछि तिमीले रोबर्टोलाई देख्नेछौ । उनले तिम्रो काँधमा हात राख्नेछन् र तिमीलाई एकान्तमा कुरा गर्न बाथरुम लिएर जानेछन् । त्यसपछि उनले केही भन्नेछन्, जो तिमीले बुझ्नेछैनौ ।
‘त्यहाँ एउटा दुर्घटना भयो । बुबा बित्नु भयो । उहाँको निधन भयो ।’
यो तिम्रा लागि अर्थहीन हुनेछ । यसको अर्थ के हो ? उनी कहिले फर्कनेछन् ? बुबा कसरी र कहाँ जानसक्छन् ?
बुबा ती व्यक्ति हुन्, जसले तिमीलाई फुटबल मैदानमा सिर्जनशिल भएर खेल्न भनेका थिए । ती व्यक्ति हुन्, जसले तिमीलाई फ्रिस्टायलमा खेल्न भनेका थिए । केवल बलसँग खेल्न भनेका थिए । उनले तिमीलाई अरू कसैले भन्दा धेरै विश्वास गर्थे । रोबर्टोले गत वर्षबाट ग्रेमियोका लागि खेल्न थाल्दा बुबाले सबैलाई भनेका थिए, ‘रोबर्टो राम्रो छन् तर हेर उसको भाइ चाँडै आउँदैछ ।’
बुबा सुपरहिरो थिए । उनी फुटबललाई कति माया गर्थे भने साताभर बन्दरगाहमा काम गरेपछि पनि छुट्टीको दिन ग्रेमियोको मैदानमा सेक्युरिटी गार्डको काम गर्थे । तिमीले कसरी उनलाई फेरि नदेख्न सक्छौ ? रोबर्टोले के भन्दैछ, तिमीले बुझ्नछैनौ । अहिल्यै तिमीले दुःख मान्ने छैनौ । यो केहीपछि आउनेछ । अबको केही वर्षपछि तिमीले बुबा फेरि धर्तीमा कहिल्यै फर्कंदैनन् भन्ने स्विकार्नेछौ । तर म के कुरा तिमीलाई बुझाउँदैछु भने हरेक पटक खुट्टामा बल हुँदा बुबा तिमीसँग हुनेछन् ।
जब तिम्रो खुट्टामा फुटबल हुनेछ, तिमी स्वतन्त्र हुनेछौ । तिमी खुसी हुनेछौ । यो तिमीले सङ्गीत सुनेजस्तै हो । यसले अन्यसामु खुसी बाँड्ने तिम्रो चाहना अनुभूत गराउँछ ।
तिमी भाग्यमानी छौ किनभने तिमीसँग रोबर्टो छन् । उनी १० वर्ष जेठा छन् र ग्रमियोबाट खेल्न थालिसकेका छन् तर तिम्रा लागि सधैँ छन् । उनी केवल दाजु मात्रै होइनन्, उनी तिम्रो बाबुजस्तै हुनेछन् । त्योभन्दा ठूलो उनी तिम्रो हिरो हुनेछन् ।
तिमी उनले जसरी नै खेल्न चाहन्छौ, तिमी उनीजस्तै बन्न चाहन्छौ । हरेक बिहान जब तिमी ग्रेमियो जान्छौ, त्यहाँको युवा टोलीबाट खेल्छौ । यही समय सिनियर टोलीबाट रोबर्टोले खेल्छन् । तिमी लकर रुमसम्म आफ्ना फुटबल स्टार दाजुसँगै हिँडेर जान्छौ र हरेक रात तिमी जब खाटमा जान्छौ । तिमीलाई लाग्नेछ, तिमी आफ्नो आदर्श व्यक्तिसँग कोठा सेयर गर्दैछौ ।
तिमीले सेयर गर्ने त्यो बेडरुमका भित्तामा कुनै पोस्टर हुनेछैन, केवल सानो टीभी हुनेछ । यसले अर्थ राख्नेछैन, किनभने तिमीहरूसँग एकसाथ खेल हेर्ने समय हुनेछैन । जब उनी म्याचका लागि जानेछैनन्, त्यतिबेला रोबर्टोले तिमीलाई थप फुटबल खेलाउन बाहिर लैजानेछन् ।
पोर्टो एलिग्रेमा ड्रग्स, ग्याङ र यस्तै खाले गतिविधि पनि आसपास हुन्छन् । यो कठिन हुँदैछ तर तिमी जतिबेला सडक र पार्कमा आफ्नो कुकुरसँग फुटबल खेलिरहेका हुनेछौ तिमीले सुरक्षित महसुस गर्नेछौ ।
हो, मैले तिम्रो कुकुर भने नि, त्यो त नथाक्ने डिफेन्डर पो हो त !
तिमीले रोबर्टोसँग खेल्नेछौ, पार्कमा अन्य बालक र ठूला उमेरका केटाहरूसँग खेल्नेछौ । तर अन्ततः सबै थाक्नेछन् तर पनि तिमी खेलिरहनेछौ । त्यसैले आफ्नो कुकुर बमबमलाई सधैँ आफूसँगै लैजानू । बमबम मट प्रजातिको हो, वास्तविक ब्राजिली कुकुर । र, ब्राजिली कुकुरहरूले पनि फुटबललाई माया गर्छन् । ऊसँग ड्रिब्लिङ र कलाको राम्रो अभ्यास हुनेछ ।
अबको वर्षाैंपछि जब तिमी युरोपमा खेलिरहेका हुनेछौ तब थोरै डिफेन्डरहरूले तिमीलाई बमबमको याद दिलाउने छन् ।
बाल्यकाल तिम्रा लागि धेरै कठिन हुँदैछ । तिमी १३ वर्षको हुँदा मानिसहरूले तिमीबारे कुराकानी गर्न थालिसकेका हुनेछन् । तिम्रो कला र तिमीले बलसँग के गर्नसक्छौ भन्नेबारे उनीहरूले चर्चा गर्नेछन् । यो समय फुटबल तिम्रा लागि केवल खेल हुनेछ । तर १९९४ मा तिमी १४ वर्षको हुनेछौ अनि विश्वकपले फुटबल केवल सामान्य खेलभन्दा धेरै हो भनेर तिमीलाई देखाउनेछ ।
१७ जुलाई १९९४ को दिनलाई हरेक ब्राजिलीहरूले याद गर्छन् । यस दिन तिमी ग्रेमियो युथ टिमबाट खेल्नका लागि बेलो होरिजोन्टे जानेछौ । टीभीमा विश्वकप फाइनल हुन्छ र त्यहाँ ब्राजिल र इटली भिडिरहेका हुन्छन् । ब्राजिल २४ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको हुन्छ र पूरै देश रोकिएजस्तो हुनेछ ।
बेलो होरिजोन्टेमा चारैतिर ब्राजिलको झन्डा हुनेछ । त्यस दिन त्यहाँ हरियो र पहेँलोबाहेक अर्को रङ्ग हुनेछैन । सहरका हरेक कुनामा टीभीमा म्याच चलिरहेको हुनेछ र मानिसहरू जम्मा भएका हुनेछन् ।
तिमी आफ्नो टोलीका साथीभाइहरूसँगै खेल हेरिरहेका हुनेछौ । अन्तिम सिट्ठी बज्दा स्कोर ०–० हुनेछ । खेल पेनाल्टी सुटआउटमा जानेछ ।
इटलीले पहिलो पेनाल्टी किक गुमाउनेछ र ब्राजिलले पनि । त्यसपछि इटलीले गोल गर्नेछ । र, रोमारियोले गोल गर्छन् । उनको सट देब्रेतर्फ घुम्नेछ र पोस्टमा ठोक्किनेछ र गोलमा परिणत हुनेछ । टिमका साथीहरू चिच्याउनेछन् ।
इटलीले गोल गरेपछि फेरि त्यहाँ सन्नाटा छाउनेछ ।
ब्राजिलबाट ब्रान्कोले गोल गर्छन् । टाफरेलले इटलीको प्रहार रोक्छन् । ब्राजिलबाट डुङ्गाले गोल गर्छन् ।
त्यसपछिको क्षणले केवल तिम्रो जीवन मात्र होइन, दशौँ लाख ब्राजिलीहरूलाई परिवर्तन गर्छ ।
रोबर्टो बाजियोले इटलीका लागि गरेको प्रहार मिस हुन्छ ।
ब्राजिल विश्व च्याम्पियन बन्छ ।
यो खुसीयालीले के स्पष्ट गर्दैछ भने तिमी आफ्नो जीवनको बाँकी समय के गर्न चाहन्छौँ ।
ब्राजिलीहरूका लागि फुटबलको अर्थ के हो भनेर तिमीले अन्ततः महसुस गर्दैछौ । तिमीले यो खेलको शक्ति महसुस गर्दैछौ ।
मुख्य कुरा फुटबलले सर्वसाधारणमा ल्याउनसक्ने खुसी तिमीले देख्नेछौ ।
‘म ब्राजिलका लागि खेल्न गइरहेको छु,’ तिमीले त्यस दिन आफैसँग भन्नेछौ ।
सबैले तिमीमा विश्वास गरिरहेका हुँदैनन्, विशेषगरी तिम्रो खेल्ने शैलीका कारण ।
केही प्रशिक्षकहरू हुनेछन्, विशेषगरी एकजना, जसले तिमीलाई त्यसरी नखेल्न भन्नेछन् ।
उनलाई लाग्नेछ, तिमी केही गम्भीर हुन आवश्यक छ, तिमीले धेरै ड्रिब्लिङ गर्न बन्द गर्नुपर्छ । ‘तिमी यसरी जीवनमा फुटबलर बन्नेछैनौ,’ उनले भन्नेछन् ।
ती शब्दहरूलाई प्रेरणाका रूपमा लिनू, त्यसलाई यस खेलमा केन्द्रित हुन प्रयोग गर्नु । र, ती खेलाडीका विषयमा सोच्नु, जसले सुन्दर फुटबल खेल्थेँ ः डिनेर, म्याराडोना, रोनाल्डो ।
बाबुले जे भन्थे, त्यो सोच्नू । स्वतन्त्र भएर केवल बलसँग खेल्नू । खुसीसँग खेल्नू । यो त्यस्तो कुरा हो, जो सबै प्रशिक्षकले बुझ्ने छैनन् । तर जब तिमी मैदानमा हुन्छौ, तिमीले कहिल्यै हिसाब गर्नेछैनौ ।
सबै कुरा प्राकृतिक रूपमै आउनेछ । तिमीले सोच्ने समय पाउनुभन्दा पहिले नै तिम्रो खुट्टाले निर्णय लिइसकेको हुन्छ ।
सिर्जनशीलताले तिमीलाई हिसाब–किताबभन्दा अगाडि लैजानेछ ।
रोमारियोले १९९४ को विश्वकप उपाधि उचालेको केवल केही महिनापछि ग्रेमियोमा तिम्रो प्रशिक्षकले तिमीलाई अभ्यासपछि आफ्नो कार्यालयमा बोलाउनेछन् । उनले तिमी ब्राजिलियन अन्डर १७ राष्ट्रिय टिममा छानियौ भन्नेछन् । जब तिमी टेरेसोपोलिसस्थित अभ्यास मैदानमा जानेछौ तब तिमीले त्यस्तो केही देख्नेछौ, जो कहिल्यै बिर्सनेछैनौ । जब तिमी क्यान्टिनमा जानेछौ, तब तिमीले भित्तामा झुन्डिएका पेले, जिको, बेबेटोका फोटोहरू देख्नेछौ ।
ती महान् खेलाडीहरू जसरी नै तिमी त्यही हलमा हिँडिरहेको हुनेछौ । रोमारियो, रोनाल्डो र रिभाल्डो बसेकै क्यान्टिनको टेबुलमा तिमी बस्नेछौ । त्यही खाना खानेछौ, जो उनीहरूले खाएका थिए । उनीहरू सुतेकै छात्रावसमा सुत्नेछौ । जब तिमीले आफ्नो टाउको निद्राका लागि पल्टाउनेछौ तब तिम्रो अन्तिम सोच हुनेछ, ‘मेरा हिरोमध्ये यो तकियामा को सुतेको थियो ?’
अबका चार वर्ष तिमीले फुटबल खेल्नेबाहेक अरू केही गर्नेछैनौ । तिमीले आफ्नो जीवन बस र अभ्यास मैदानमा बिताउनेछौ । खासमा १९९५ देखि २००३ सम्म तिमीले कहिल्यै छुट्टी लिनेछैनौ । यो अति तीव्र गतिमा हुनेछ ।
तर १८ वर्षको भएपछि तिमीले त्यस्तो केही उपलब्धि हासिल गर्नेछौ, जसमा तिम्रो बाबुले गर्व गर्नसक्थे । तिमीले ग्रेमियोको सिनियर टोलीमा डेब्यु गर्नेछौ । एउटै दुखद पक्ष, रोबर्टो त्यहाँ हुनेछैनन् । घुँडाको चोटका कारण ग्रेमियोमा उसको समय छोटो हुनेछ र खेल्नका लागि ऊ स्विजरल्यान्ड जानेछ ।
तिमीले आफ्नो हिरोसँग मैदानमा खेल्न पाउनेछैनौ तर तिमीले यति धेरै वर्ष रोबर्टोले खेलेको हेरेर बिताएका छौ । त्यसकारण तिमीलाई के गर्ने, कस्तो खेल्ने भन्ने थाहा हुनेछ ।
खेल भइरहेको समय तिमी तिम्रो बाबुले सप्ताहान्तमा सेक्युरिटीको काम गर्ने कार पार्क हुँदै हिँड्नेछौ ।
तिमी त्यो ड्रेसिङ रुममा छिर्नेछौ जहाँ तिम्रो दाजुले तिमीलाई बालखै छँदा लैजान्थे । तिमीले निलो र कालो ग्रेमियोको सर्ट तान्नेछौ र सोच्नेछौ– जीवन योभन्दा राम्रो हुनैसक्दैन । तिमीलाई लाग्नेछ अन्ततः तिमीले गरिछाड्यौ, आफ्नो सहरको क्लबमा खेल्दैछौ ।
तर यहाँ तिम्रो कथा अन्त्य हुनेछैन ।
अर्को वर्ष तिमीले ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट आफ्नो पहिलो खेल खेल्नेछौ । एउटा रमाइलो कुरा हुनेछ । टोलीका अन्य खेलाडीभन्दा एक दिनपछि मात्रै तिमी अभ्यासमा जानेछौ । किन ? किनकि क्याम्पियोनाटो गाउचो प्रतियोगिताको फाइनलमा इन्टरनासिओनलविरुद्ध ग्रेमियोका लागि खेल्नुपर्ने भएकाले एक दिन ढिला हुनेछौ ।
इन्टरनासिओनलमा ९४ को विश्वविजेता टोलीका कप्तान डुङ्गाले खेलिरहेका हुन्छन् । यस खेलमा तिमीले धेरै राम्रो खेल्नेछौ । त्यसैले जब तिमी ब्राजिलका लागि पहिलो पटक अभ्यासमा जानेछौ, तब तिम्रो टोलीका अन्य खेलाडी, ती स्टार खेलाडी जसले ९४ को विश्वकप जितेको तिमीले टीभीमा हेरेका थियौ । उनीहरू एक खेलाडीका विषयमा चर्चा गरिरहेका हुनेछन्, १० नम्बरको जर्सी लगाएको फुच्चे केटाका विषयमा ।
उनीहरू तिम्रोबारे कुरा गरिरहेका हुनेछन् ।
तिमीले कसरी ड्रिब्बल गरेर डुङ्गालाई खेलायौ भनेर उनीहरू चर्चा गरिरहेका हुनेछन् । उनीहरू उपाधि जिताउने तिम्रो गोलबारे चर्चा गरिरहेका हुनेछन् ।
तर धेरै आत्मविश्वासी नहुनु किनकि उनीहरू तिमीसँग सहज हुने छैनन् । यो तिम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण हुनेछ । जब तिमी यो स्तरमा आउँछौ, तब मानिसहरूले तिमीबाट धेरै अपेक्षा गर्नेछन् ।
के तिमी आफ्नै शैलीमा खेलिरहनेछौ ?
वा तिमीले हिसाब–किताब गर्न थाल्नेछौ ? के तिमी जोगिएर खेल्नेछौ ?
तिमीलाई दिने मेरो एउटै सल्लाह भनेको– आफ्नै शैलीमा गर । स्वतन्त्र होऊ, सङ्गीत सुन । तिम्रा लागि जीवन जिउने यो एक मात्र तरिका हो ।
ब्राजिलका लागि खेल्दा तिम्रो जीवन बदलिनेछ । कहिल्यै आफ्ना लागि उपलब्ध हुन्छ भनेर तिमीले नसोचेका ढोकाहरू अचानक खुल्न थाल्नेछन् ।
तिमीले युरोपमा खेल्नेबारे सोच्न थाल्नेछौ, जहाँ तिम्रा धेरै हिरोहरूले आफूलाई प्रमाणित गरेका थिए । रोनाल्डोले तिमीलाई बार्सिलोनाको जीवन सुनाउनेछन् ।
तिमीले उनको अवार्ड, बालोन डीओर र क्लबका ट्रफीहरू देख्नेछौ । अचानक, तिमीले पनि इतिहास बनाउन चाहनेछौ । तिमीले ग्रेमियोबाट टाढा सोच्न थाल्नेछौ । सन् २००१ मा तिमीले पेरिस सेन्ट जर्मेनसँग सम्झौता गर्नेछौ ।
फाभिलाको एउटा काठे घरमा जन्मिएको एउटा बच्चालाई युरोपको जीवन कस्तो हुन्छ भनेर म कसरी बताउँ ? यो असम्भव छ ।
मैले भने पनि तिमीले बुझ्नेछैनौ । तिमी पेरिस गएको छोटो समयमै बार्सिलोना, त्यसपछि मिलान जानेछौ, धेरै कुरा छिटोछिटो हुनेछन् ।
युरोपका केही मिडियाले तिम्रो खेलशैली बुझ्ने छैनन् । तिमी सधैँ किन हाँसेको भनेर उनीहरूले बुझ्ने छैनन् ।
ठीक छ, तिमी हाँस्नेछौ किनभने फुटबल रमाइलो हो । तिमी किन गम्भीर हुने ? तिम्रो लक्ष्य त खुसी बाँड्नु हो । म फेरि भन्छु– हिसाब–किताब होइन, सिर्जनशीलता ।
स्वतन्त्र बस र तिमीले ब्राजिलका लागि विश्वकप जित्नेछौ । स्वतन्त्र बस र तिमीले च्याम्पियन्स लिग, ला–लिगा र सिरी ए जित्नेछौ ।
स्वतन्त्र बस र तिमीले बालोन डीओर जित्नेछौ ।
आफ्नो शैलीको खेलबाट बार्सिलोनामा फुटबल परिवर्तन गर्न सहयोग गरेकोमा तिमीले सबैभन्दा धेरै गर्व गर्नेछौ । जब तिमी त्यहाँ जानेछौ, त्यतिबेला रियल म्याड्रिड स्पेनिस फुटबलको शक्ति हुन्छ । तिमीले क्लब छाड्दासम्म, बच्चाहरू बार्सिलोनाको शैलीमा खेल्ने सपना देख्ने हुनेछन् ।
मलाई सुन । यस अवस्थामा तिम्रो भूमिका तिमीले मैदानमा निभाउनेभन्दा पनि धेरै हुनेछ ।
बार्सिलोनामा तिमीले युथ टिममा रहेको एक फुच्चेबारे सुन्नेछौ । उसले पनि तिमीजस्तै १० नम्बर जर्सी लगाउँछ । ऊ पनि तिमीजस्तै सानो छ । उसले तिमी जसरी नै बलसँग खेल्छ । तिमी र तिम्रा साथीहरू उसले बार्सिलोनाको युवा टोलीबाट खेलेको हेर्न जानेछौ र त्यो क्षण तिमीलाई थाहा हुनेछ कि ऊ महान्भन्दा पनि माथिको फुटबलर बन्नेवाला छ ।
यो बालक फरक छ । उसको नाम लियो मेस्सी हो ।
प्रशिक्षकहरूसामु तिमीले उसलाई आफूसँगै खेल्नका लागि सिनियर टोलीमा ल्याउन भन्नेछौ । ऊ आएपछि बार्सिलोनाका खेलाडी उसका विषयमा त्यसरी नै चर्चा गरिरहेका हुनेछन् जसरी ब्राजिली खेलाडीहरूले तिम्रोबारे चर्चा गरिरहेका थिए ।
म चाहन्छु, तिमीले उसलाई एउटा सल्लाह दिनू ।
‘खुसीसाथ खेल । स्वतन्त्र खेल । केवल बलसँग खेल,’ उसलाई भन्नू ।
तिमी जब जानेछौ त्यतिबेला पनि मेसीमार्फत बार्सिलोनामा फ्रिस्टायल रहनेछ ।
तिम्रो जीवनमा राम्रा–नराम्रा धेरै कुरा हुनेछन् । तर जेसुकै भए पनि त्यसका लागि तिमी फुटबलप्रति ऋणी हुनेछौ । मानिसहरूले तिम्रो शैलीमा प्रश्न गर्नेछन्, खेल हारेपछि किन हाँस्छौ भनेर सोध्नेछन् । तिमीले एउटा स्मरण गरेको हेर्न चाहन्छु ।
तिम्रो बाबुले यो धर्ती छाड्दा उनका कुनै भिडियो तिमीसँग भएन । तिम्रो परिवारसँग धेरै पैसा थिएन, त्यसैले भिडियो क्यामेरा किनेनन् । तिमीले तिम्रो बाबुको आवाज सुनेनौ वा उनले फेरि हाँसेको सुनेनौ । तर यी सबैका बाबजुद तिमीले उनलाई सधैँ सम्झने एउटा कुरा छ ।
त्यो तिम्रो र तिम्रा बाबुले फुटबल खेल्दाको फोटो हो । तिमी हाँसिरहेका छौ, खुसी छौ र बल तिम्रो खुट्टामा छ । उनी तिमीलाई हेरेर दङ्ग छन् ।
पैसा आउँदा दबाब र आलोचना पनि आउनेछ– स्वतन्त्र रहनू ।
उनले भने जसरी खेल्नू ।
बलसँग खेल्नू ।
अनुवाद : अन्वेषण अधिकारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको कार्यशैलीमा हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई एमालेभित्र चर्को दबाब
-
रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु