मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

यसरी ‘झापाली’ भइयो !

बुधबार, १६ असार २०७८, २१ : ५९
बुधबार, १६ असार २०७८

राजधानी काठमाडौँमा ०७८ वैशाख १६ देखि सरकारले निषेधाज्ञा जारी गर्ने भयो । झापामा रहेकी श्रीमतीले जोड गरिन्, ‘कति दिन निषेधाज्ञा लाग्ने हो, जसरी पनि यतै आउनुपर्‍यो।’ फलतः वैशाख १५ गते क. पासाङ मोक्तानको सहयोगमा गाडी चढेर १६ गते बिहान झापाको कमल गाउँपालिका–४ पुगियो ।  सो आज दुई महिना पुग्यो ।

यत्ति लामो समय झापामा बसोबास गरिएको जीवनकै पहिलो घटना हो । यस सन्दर्भमा आफ्नाबारे केही कुरा उल्लेख गर्न चाहन्छु–

१. हामीले ०५१ फागुन २५ गते विवाह गर्‍यौँ, जीवनसाथी गीता राईसँग । मेरा ससुरा श्री इन्द्रबहादुर राई एवाई पाछा (गोत्र) को बान्तवा हुनुहुन्छ । उहाँका पुर्खाहरू आठ पुस्ताअघि माझकिरातको दिल्पाबाट इलाम आएका थिए । उहाँ भने बेलायती गोर्खा फौजबाट निवृत्त भएपछि झापाको दमक झर्नुभयो । दमकबाट क्रमशः तत्कालीन तोपगाछी झर्नुभयो । तोपगाछीको वडा नम्बर ५ मा ससुरा इन्द्रबहादुर राई दुई कार्यकाल अध्यक्ष निर्वाचित हुनुभयो, नेकपा (एमाले) बाट ।

सर्वहारा माक्छा (ज्वाइँ) ले छोरीको व्यवस्थापन नलिमाउने भए भनेर नै हुनुपर्छ, ससुराले छोरीलाई साढे चार कट्ठा जमिन दिने सोच गर्नुभएछ । यद्यपि, ससुरा परिवारमा छोरीको संख्या न्यून हुने गरेकाले सानै छँदा दुई कट्ठा जमिन दिने वचन थियो रे । ०७० असारमा साढे चार कट्ठा जमिन छोरी गीताको नाममा पास गरिदिनुभयो ।

शाही संकटकालविरुद्व हामी भीषण जनयुद्धमा थियौं । जमिन दिने हुनुभयो ससुराले । त्यस समयको तीन लाख रुपैयाँ पठाउने काम हङकङमा मजदुरी गरिरहेका जेठो सालो श्री रमेश राईले गर्नु भएछ । ससुराले छोरी र नातिका लागि भनेर तीन कोठाको पक्की घर निर्माण गरिदिनुभयो, ०५८–०५९ मा । मैले त्यो घर ०६० माघमा देखेँ, भूमिगत अवस्थामा ससुराली पुग्दा ।

२. हाम्रो एक मात्र सन्तान छ, हाङ्छा किराँती । उसले नेपाल कमर्स क्याम्पस, मीनभवनबाट स्नातक गरेको छ । उप्रान्त आफैँ नोकरी गरेर पढ्नु भनिएको छ । कतै सानो नोकरीमा जीवन गुजारा गरिरहेको छ ।

३. दोस्रो संविधानसभा निर्वचनमा हामी झापा–७ बाट उम्मेदवार भयौँ।  हामी यहाँ उम्मेदवार हुनुपर्ने कारणमध्ये पहिलो, झापा–७ का निम्ति पार्टीमा उपयुक्त उम्मेदवार उपलब्ध भइरहेको थिएन । दोस्रो, सुनसरी–१ मा लम्पट चरित्रका व्यक्तिहरूले समस्या खडा गरिरहेका थिए । झापा–७ मा राष्ट्रीयस्तरको नेता नपठाउने हो र सो क्षेत्र खड्ग ओलीलाई जिम्मा दिने हो भने आफूहरू झापामा कोही उम्मेदवार नबन्ने जिल्ला पार्टी इन्चार्ज धर्मशीला चापागाईँको रूढ अडान थियो । त्यस्तै, धरानमा आम कार्यकर्ताको मागविपरीत मुकेश लिम्बुको चरम व्यक्तिवाद र लिम्बुवादी निकृष्ट हठको खराब उद्दण्डता थियो । हामी कोचिला राज्य पार्टीको इन्चार्ज थियौं भने क. वर्षमान पुन पूर्वी ब्युरो इन्चार्ज ।

०७० असोज १६ गते बेलुका वर्षमानजी उम्मेदवार सिफारिस पत्र लिएर विराटनगर आउनुभयो । र, उहाँले ‘सुनसरी–१ गोपाल किराँती’ लेखिएको मनोनयन पत्र हामीलाई थमाउनुभयो । हामीले पत्र हेर्यौं । तर, स्थानीय जटिलताका कारण उक्त पत्र फिर्ता गर्‍यौँ र झापा –७ मा आफू जानैपर्ने स्थिति बतायौँ । वर्षमान पुन काफी प्रशन्न हुनुभयो । कारण, झापा–७ मा केन्द्रीय कार्यालयले उपयुक्त उम्मेदवार फेला पार्न सकेको थिएन । किराँतीको कदमले सो आपूर्ति गर्‍यो।

४. झापा–७ मा हामी यसरी उम्मेदवार बन्न पुग्यौँ । ससुराली घर संयोगले यही निर्वाचन क्षेत्रमा पर्दथ्यो । निर्वाचन सकिनासाथ ‘घर यहीँ भएकाले अब झापाली बन्नुपर्छ’ भनेर धर्मशीला कमरेडहरूले जोड गर्नुभयो । श्रीमती गीता पनि त्यस कुराप्रति अग्रसर हुने नै भइन् ।

अब जीविकोपार्जनका लागि काठमाडौँ बौद्धमा पालेको बङ्गुर ५ लाख ८० हजारमा बेचियो । उक्त बङ्गुर फार्म स्थानीय रञ्जित तामाङ माध्यम प्रचण्ड पुत्र प्रकाश दाहालले खरिद गर्न पुगे । श्रीमतीको जोडमा, त्यही बङ्गुर बेचेको पैसाले एक कोठे तला थपियो ।

तर, झापाका अधिकांश माओवादी कमरेडहरू बचनको पक्का रहेनछन् । खड्ग ओलीजस्तै फटाहा रहेछन् । अतः हामीजस्तो इमान्दार सर्वहाराको झापामा राजनीतिक सुरक्षा नहुने तथ्य तुरुन्तै निश्चित भयो र स्थायी बसोबास गर्न नसकिने स्थिति बन्यो ।

५. पार्टी पुनर्गठनका दौरान श्रीमती गीता राई झापाको घरमा बस्नुपर्ने भयो । ससुरा निकै ज्येष्ठ उमेरको हुनुभएको अवस्थामा घर–जमिन दिलाउने बुवाको सेवा पनि गर्नुपर्ने नै हुन्छ ।

यसरी अहिले झापामा दुई महिना बढी बस्ने काम गरियो ।

अन्त्यमा, देश र जनताका नाममा जीवनको राजीनामा लेखेर हिँडेको हामीजस्ता सर्वहारा राजनीतिक कार्यकर्तालाई राज्यले अन्ततः एउटा कोठाको बन्दोबस्त गर्देला भनेर सोचिएको थियो । तर, त्यो सुविधा निकै दुरूह बनेको प्रस्टै छ । परन्तु, हदैसम्मको गरिब परिवारमा जन्मेर अति दुर्गम इलाका (सोलुखुम्बु) मा हुर्केको हामीले १८ वर्षको उमेरदेखि क्रान्तिको खोजी गर्‍यौँ र अहिले ६० को नजिक यात्रामा छौँ । हामीलाई क. पुष्पलाल श्रेष्ठको जीवन सङ्घर्ष साँच्चै मन पर्छ । उहाँजस्तै सर्वहारा जीवन बाँच्ने सङ्कल्पमा बाँकी जीवन सङ्घर्ष जारी छ ।

परन्तु, पृथ्वीनारायण शाहद्वारा स्थापित असली हिन्दुस्तान बनाउने चार वर्ण छत्तीस जातको कार्यदिशा र जङ्गबहादुर राणाद्वारा स्थापित चरम असहिष्णु राजनीतिक सभ्यताका वीच विद्यमान दलाल पुँजीवादी समाजमा सर्वहारा जीवन चरित्रले आफ्नो परिवारलाई चाहिँ निकै कष्ट दिलाएको देख्नु पर्दा मानिसको मन ज्यादै अशान्त हुने गर्छ ।

फेरि पनि गुरु कार्ल मार्क्स र पुष्पलालको जीवनी पढेर आश्वस्त हुने गरिन्छ ।

(माओवादी नेता किराँती पूर्व संस्कृति मन्त्री हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल किराती
गोपाल किराती
लेखकबाट थप