बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुरको निष्कर्ष : नेकपाजस्तै हामी पनि आ–आफ्नो बाटो लागौँ !

बुधबार, १६ असार २०७८, २१ : २४
बुधबार, १६ असार २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा सहभागी कार्यकारिणी समिति सदस्यका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले आफ्नो बाटो लागेजस्तै जसपाबाट समाजवादी पार्टी र राजपा नेपाल पनि आ–आफ्नो बाटो लाग्नुपर्ने निष्कर्ष बैठकको छ । 

जसपाका अध्यक्ष उपेन्द्र यादवसँग काम गर्न नसकिने भएकाले पार्टीमा किचकिच गर्नुभन्दा राम्रोसँग सल्लाह गरेर अलग हुन उपयुक्त हुने अधिकांशको सदस्यको धारणा रहेको ती नेताले रातोपाटीलाई जानकारी दिए । जसलाई जता मन लाग्छ, उता जान स्वतन्त्र छाडिदिनु पर्ने विषयमा पनि छलफलमा कुरा उठेको उनको भनाइ छ ।

दुवै पक्षको बीचमा देखिएको विवादलाई समाधान गर्न आयोगले छलफलका लागि दुवै पक्षलाई असार २२ गते बोलाएको छ । त्यहाँ हुने छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुरको पक्षबाट यही प्रस्ताव जाने बताइएको छ । 

यता, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले भने आजको बैठकमा निर्वाचन आयोगमा आफ्नो पक्षको रणनीति तय गर्ने बारे छलफल भएको रातोपाटीलाई बताए । ‘पार्टीको विवादको बारेमा के गर्ने नगर्ने विषयमा आज छलफल भयो । आजको छलफल सामान्य र अनौपचारिक हो,’ उनले भने, ‘पार्टीमा देखिएको विवादको समाधानका लागि आयोगले बोलाएको छ । त्यहाँ हुने छलफलबाट के निष्कर्ष निस्किन्छ त्यसैको आधारमा अगाडि बढ्ने कुराकानी भएको छ ।’ 

निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले निवेदन दिएका छन् । सो निवेदनबारे जानकारी गराउँदै आयोगले महन्थ ठाकुरलाई आफ्नो पक्षबाट प्रमाणहरू पेस गर्न पत्र पठाएको थियो । जवाफमा अध्यक्ष ठाकुरले आफ्नो पक्षमा बहुमत रहेको र बहुमतका आधारमा पार्टी आफूहरूको हुनुपर्ने तर्कसहित निर्वाचन आयोगमा पत्र पठाएका छन् ।

दुवै पक्षको आ–आफ्नो दाबी गरेपछि आयोगले छलफलका लागि बोलाएको हो । सो छलफलमा पार्टी नै अलग गर्ने प्रस्ताव महन्थ ठाकुरबाट जाने बताइएको छ । असार २२ गते निर्वाचन आयोगमा जानुभन्दा पहिले शनिबार १९ गते पुनः कार्यकारिणी समितिको बैठक बोलाउने भनिएको छ । 

आजको बैठकमा पार्टीमा विवादपछि अर्का अध्यक्ष उपेन्द्र यादव भने एकतर्फी रूपमा सङ्गठन निर्माण गरिरहेको र त्यसमा आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरूलाई निकालिरहेको कुरा अध्यक्ष ठाकुरले धारणा राखेका थिए । प्रदेश तथा जिल्लाहरूमा यादवले सङ्गठन निर्माणका कामहरू गरिरहेको तर त्यसमा पूर्वाग्रही ढङ्गबाट आफू पक्षका नेताहरूलाई कारबाही गर्ने र निकाल्ने भइरहेको जानकारी अध्यक्ष ठाकुरले बैठकलाई गराएका थिए । 

यादवको क्रियाकलापलाई काउन्टर दिन आफ्नो पक्षबाट पनि सङ्गठन निर्माणका लागि गतिविधिहरू गर्नुपर्ने कुरा बैठकमा उठेको थियो । यादवले जसरी एकतर्फी रूपमा यताबाट सङ्गठन निर्माणका लागि कार्यहरू गर्नुपर्ने बैठकमा सुझाव आएको बैठकमा सहभागी नेताको भनाइ छ । सुझाव अनुसार अध्यक्ष ठाकुरले एउटा कार्यदल नै गठन गर्ने प्रस्ताव गरेको बताइएको छ । शनिवार बस्ने बैठकबाट सङ्गठन निर्माण तथा सुदृढीकरणका लागि एउटा कार्यदल गठन गरिने भएको छ । 

आजको बैठकमा पनि कार्यकारिणी समितिका सदस्य राजकिशोर यादव, अमृता अग्रहरी उपस्थित थिएनन् । उनीहरूको प्रतीक्षामा १ बजे बस्ने भनिएको बैठक २ बजेपछि ढिलो गरी सुरु भएको थियो । 

ठाकुरले कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो तर्फबाट २० जना राखेका थिए । ती २० जनामध्ये धेरै जना आज बैठकमा अनुपस्थित थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप