शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारदेखि सबै यातायात चलाउँछौंं : यातायात व्यवसायी

बस चालक भन्छन् : जोर–बिजोरमा चलाएर तेल खर्च नै उठेन
बुधबार, १६ असार २०७८, २१ : ०१
बुधबार, १६ असार २०७८

साँखु–सातदोबाटो रुटमा चल्ने सार्वजनिक बसका  सहचालक सूर्य नेपाली ठ्याक्कै दुई महिना बेरोजगार भए । दुई महिना घरमा बसेका उनी अहिले फेरि काममा फर्किएका छन् ।

बैशाख १६ देखि सुरु भएको निषेधाज्ञा असार १५ बाट केही खुकुलो पार्दै सरकारले उपत्यकामा जोर–बिजोर का आधारमा बस सञ्चालन गर्न दिएपछि नेपाली काममा फर्किएका हुन् । तर, बस चल्न थाले पनि कमाइ भने ठप्प रहेको उनले सुनाए ।

पर्याप्त यात्रु नभएका कारण गाडीमा हाल्ने तेल खर्चसमेत निकाल्न कठिन भएको नेपालीले रातोपाटीलाई बताए । उनीजस्तै अहिले उपत्यकामा गुड्न थालेका बसका चालकहरूको साझा गुनासो छ, ‘पर्याप्त यात्रु छैनन्, बस भाडादर पुरानै छ, तेल खर्चसमेत उठाउन मुस्किल छ ।’

सरकारले निषेधाज्ञा खुकुलो पारेर जोर–बिजोर नम्बरका आधारमा उपत्यकामा बस सञ्चालन गर्न दिए पनि कोरोना संक्रमण दर पूर्ण रुपमा घटेको छैन । सर्वसाधारणहरू पूर्णरुपमा निर्धक्क  भएर घर बाहिर निस्कन सकेका छैनन् ।

काठमाडौंको चक्रपथ रुटका बस चालक जगत रानामगर सरकारले जोर–बिजोरका आधारमा बस चलाउन खुला गरे पनि यात्रु संख्या थोरै भएका कारण समस्या परेको बताउँछन् । सरकारले भाडादर पुनरावलोकन गर्नुपर्ने उनले बताए ।

लगनखेल–भक्तपुर रुटका सहचालक गणेश प्रधान डिजेलको भाउ प्रतिलिटर ११० रुपैयाँ पुग्दा पनि भाडादर पुरानै भएकाले बस चलाउन समस्या रहेको बताउँछन् ।

उनी भन्छन्, ‘काम नगरी पनि भएन, तर कमाइ छैन । बस भाडा नबढाउने हो भने त तेल हाल्नै पुग्दैन । सरकारले भाडा बढाए हुन्थ्यो ।’

चक्रपथ रुटका बस चालक लीला थापामगरले पनि यात्रु थोरै भएका कारण तेल खर्च उठाउन समस्या परेको बताए । उनले भने, ‘तेल हाल्न र खानलाई अलिअलि पुगेको छ, पछि के हुन्छ हेरौँ ।’

यातायात व्यवसायी भन्छन् – ‘हामी सम्पूर्ण बस चलाउँछौँ’

यसैबीच बस व्यवसायीहरुले भने सरकारले जोर–बिजोरका आधारमा बस चलाउन दिनु ठीक भए पनि सम्पूर्ण क्षेत्रमा बस चलाउन नदिनु अव्यवहारिक भएको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले देशभरि बस सञ्चालन गर्न दिनुपर्ने बताउँदै सरकारले नमाने अवज्ञा गर्ने बताए । यसबारे बिहीबार यातायात व्यवसायीहरुको बैठक बसेर थप निर्णय लिइने उनले बताए ।

सिटौलाले भने, ‘सरकारले छोटो, मध्यम तथा लामो सबै दुरीको बस सञ्चालन गर्न दिनुपर्छ । साथै भाडादर समायोजन नभएको निकै भइसक्यो, वैज्ञानिक ढंगले भाडादर समायोजन पनि गर्नुपर्छ ।’

महासचिव सिटौलाले आर्थिक गतिविधिलाई बढाएर जनजीवन सहज अवस्थामा फर्काउनका लागि पनि बस सञ्चालनलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।

यातायात व्यवसायीहरुले चालक तथा सहचालक जोखिम क्षेत्रमा रहेको भन्दै उनीहरुका लागि कोरोनाविरुद्धको खोप लगाउन पनि माग गरेका छन् । सरकारले आफ्नो माग सम्बोधन नगरे यही असार १८ गतेबाट देशब्यापी रुपमा बस सञ्चालन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

हेर्नुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप