आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ कार दुर्घटना : चालक कार्की पुर्पक्षका लागि कारागार चलान

बुधबार, १६ असार २०७८, १८ : ०२
बुधबार, १६ असार २०७८

मापसे गरेर कार चलाउँदा एकजनाको ज्यान जाने गरी सवारी दुर्घटना गराउने  विराटनगरका  २४ वर्षीय रोविन भनिने रविन सिंह कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि कार्की विराटनगर कारागार चलान भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

कार्की विरुद्ध सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा मंगलबार अभियोग दर्ता गराएको थियो । अभियुक्तलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना मागदाबी राखेर अभियोग दर्ता भएको थियो । बुधबार प्रतिवादीको बयान सकिएपछि भएको थुनछेक बहस पछि उनलाई थुनामा राख्न आदेश दिइएको हो ।

गत जेठ २० गते राति प्रदेश सांसद विन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । ठक्कर दिने कार चलाउने रोविन सांसद कार्कीका छोरा हुन् ।

मृतक र घाइते विराटनगर–४ स्थित न्यू एभरेष्ट स्टिल उद्योगका कामदार हुन्। मदिरा सेवन गरेपछि कार्कीले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटना भएको तीन दिनपछि २३ जेठमा कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप