पर्सामा ३० प्रतिशत धान रोपाइँ सम्पन्न
वर्षा ऋतुको आगमनसँगै मनसुनको झरीमा रमाउँदै हिलाम्मे खेत, हाथभरी धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त छिन् । आकाशभरि छिटपुट पानी परिरहेको छ । ती झरीमा महिलाहरु आफ्नो कोकिल कण्ठले सुरिलो गीत गाउँदै धान रोप्नमा व्यस्त देखिन्छ । यस्ता दृश्यले जो कोहीलाई पनि आफूतिर आकर्षित गरिरहेका छन् ।
मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटलगायत जिल्लामा यो वर्ष समयमै मनसुन प्रवेश गरेपछि किसान गण्डक नहरको पानीको भर नपरी अकासे पानीले समयमै बेर्ना लगाएका छन् । जगरनाथपुरका किसान हरिदेवले गण्डक नहरमा समयमा पानी नआउँदा मनसुने पानीको भरमा समयमै बेर्ना लगाइएकाले यसपाली धानको उत्पादन राम्रो हुने विश्वास व्यक्त गरे ।
केही दिनयता मनसुन सक्रिय भई पानी परेकाले समयमा धानको बेर्ना लगाएपछि यसपाली मानो रोपेर मुडी उव्जाउने किसानको सपना साकार हुने देखिन्छ । उत्पादन राम्रो हुने देखेपछि यहाँका किसान खुशी भएका छन् । किसान मनोज साहले भने, “मनसुनी वर्षाका कारण यो वर्ष सोचेभन्दा बढी उत्पादन हुने हुँदा किसान खुशी देखिएका छन् ।”
पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेश प्रसादले बताए । पर्सामा कूल ४६ हजार ६ सय हेक्टर ,बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
यसवर्ष समयमै मनसुनी वर्षा भएकाले तराईका जिल्लाहरुमा चाडै नै धान रोपाइँ सकिने र यही अवस्था रहेमा उत्पादन पनि राम्रो लिन सकिने विश्वास सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएको छ । उर्वरभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै पनि विगतका वर्षहरुमा पानीको अभावका कारण समयमा धान रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आउने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी