बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियामा कोरोनासँग सम्बन्धित लापरवाहीका कारण ‘ठूलो संकट’

बुधबार, १६ असार २०७८, १४ : ५६
बुधबार, १६ असार २०७८

उत्तर कोरियामा सरकारी कर्मचारीको गल्तीका कारण कोभिड–१९ सँग सम्बन्धित एउटा ठूलो संकट पैदा भएको छ ।

यो कुरा उत्तर कोरियाको सरकारी मिडियाको रिपोर्टमा बताइएको छ । सरकारी मिडियाको रिपोर्ट अनुसार किम जोङ उनले शीर्ष अधिकारीलाई यसबारे धिक्कारेका छन् ।

यद्यपि, संकट कस्तो खालको हो भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । यो उत्तर कोरियामा महामारीको गम्भीरताको एउटा संकेत हो, उत्तर कोरियाले आफ्नो देशमा यसअघि कोभिडका कोही पनि संक्रमित नभएको बताउँदै आएको थियो ।

कोरोना भाइरसका कारण उत्तर कोरियाले आफ्नो सीमा बन्द गरेको छ । तर उसको यो निर्णय र केही अन्तरराष्ट्रिय प्रतिबन्धका कारण देशमा खाद्यान्नको कमी भएको छ र अर्थव्यवस्था थप बिग्रिएको छ ।

किम जोङ उनले देशमा खाद्यान्नको स्थिति गम्भीर भएको स्वीकार गर्दै नागरिकलाई खराब स्थितिका लागि तयारी गर्न भनेका थिए ।  

उनले यसको तुलना सन् १९९० को दशकमा देशमा आएको भोकमरीसँग गरेका थिए । यो हप्ताको सुरुमा सरकारी टेलिभिजनले किम कमजोर देखिएको भन्दै एक सर्वसाधारणले गरेको टिप्पणी प्रशारण गरेको थियो ।

किमलाई हेर्दा यस्तो लाग्छ कि उनको तौल निकै कम भएको  छ । सरकारी समाचार एजेन्सी केसीएनएको रिपोर्टका अनुसार किमले पार्टी नेताको एक विशेष बैठकमा शीर्ष अधिकारीमाथि लापरवाहीको आरोप लगाए ।

उनले ‘देशको सुरक्षा र जनताको सुरक्षा सुनिश्चितताको मामिलामा एउटा ठूलो संकद पैदा भएको र यसको गम्भीर नतिजा देखिएको’ बताए । रिपोर्टका अनुसार पार्टीका थुप्रै सदस्यलाई फिर्ता बोलाइएको छ । यसमा शक्तिशाली स्थायी समितिका एक सदस्य पनि समावेश छन् ।

यो समितिमा पाँच सदस्य हुन्छन् । जसमा किम जोङ उन आफैं पनि छन् । यद्यपि, यो रिपोर्टमा घटनाबारे थप विवरण दिइएको छैन न नै अधिकारी को हुन् भनेर जानकारी दिइएको छ ।

उत्तर कोरियाबाट भागेर आएका तथा अनुसन्धानकर्ता आहन चान इलले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार रिपोर्टको अर्थ यो हो कि देशमा सायद कोभिडको पुष्टि भएको छ ।

उनका अनुसार यो रिपोर्टले यो पनि संकेत दिएको छ कि उत्तर कोरियालाई सायद अन्तरराष्ट्रिय मद्दतको आवश्यकता छ ।

उनले भने, ‘अन्यथा, उनले यस्तो भन्दैनथे किनभने यसमा महामारीसँग जुध्ने प्रयासमा सरकारको विफलतालाई स्वीकार गरिएको छ ।’

दक्षिण कोरियाको राजधानी सोलमा इवा विमेन्स युनिभर्सिटीमा अन्तरराष्ट्रिय अध्ययनका असोसिएट प्राध्यापक डाक्टर लिफ एरिक इस्लेले यो रिपोर्ट उत्तर कोरियामा बिग्रदोँ स्वास्थ्य व्यवस्थाको संकेत भएको बताएका छन् ।  

उनले भने, ‘यो घटनाका लागि किम जोङ उनले बलीको बोको खोज्ने र आफ्ना विरोधी अधिकारीलाई हटाउने सम्भावना छ । यो विदेशबाट भ्याक्सिन स्वीकार गर्ने राजनीतिक तयारी पनि हुनसक्छ ।’

कोरोना भाइरसको विषयमा उत्तर कोरियाले थुप्रै प्रतिबन्ध लगाएको छ र सरकारी मिडियाले नागरिकलाई लगातार सतर्क रहनका लागि आग्रह गरिएको बताउँदै आएको छ ।

उत्तर कोरियाका प्रमुख व्यापारिक पार्टनर चीन हो । तर सीमा सील गरेका कारण चीनसँग व्यापारमा गिरावट आएको छ । यसका कारण केही खाद्यान्न र औषधी देशमा आउन सकेको छैन ।

सहायता संगठनले देशमा गम्भीर खाद्य र आर्थिक संकट आउन सक्ने चेतावनी दिएको छ । थुप्रै रिपोर्टमा हालका महिनामा उत्तर कोरियामा खाद्य सामग्रीको मूल्यमा भारी वृद्धि देखिएको छ । देशमा भोकमरीको पनि खबर छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप