कर्णालीमा कुल खेतीयोग्य जमिनको ६१ प्रतिशत क्षेत्रफल आकाशे पानीको भरमा
झन्डै २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफल भएको कर्णालीमा २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य जमिन छ । त्यसमध्ये २ लाख १६ हजार ८८० हेक्टरमा मात्र खेती गर्ने गरिएको छ। कर्णालीको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्दा खेती गर्ने (उपयोग गर्ने) कुल हेक्टर जमिनमध्ये ३१ दशमलव ५१ प्रतिशत जमिनमा मात्र सिँचाई सुविधा पुगेको छ भने बाँकी ३१ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानी (मौसमी खेती) को भरमा छ । भौगोलिक भू–बनोट अधिकांश पहाड क्षेत्रले ओगटेको यो प्रदेशमा बर्सेनि खाद्यान्न सङ्कट हुने गरेको छ । १० जिल्ला रहेको यो प्रदेशको सुर्खेतमा सबैभन्दा धेरै ३७ हजार ४४४ हेक्टर क्षेत्रफलमा खेती गर्ने गरिएको भने सबैभन्दा कम हुम्लामा ५ हजार २० हेक्टरमा खेती गर्ने गरिएको छ ।
कर्णालीमा हिउँदे खेतीको तुलनामा बर्खे खेती धेरै क्षेत्रफलमा लगाइने गरिन्छ । बर्खाको समयमा वर्षा हुने र सुख्खा खोलानालाहरूमा समेत पानी हुने भएकाले बर्खेबाली बढी क्षेत्रफलमा लगाइन्छ । बर्खाको समयमा खोलानालाको पानी पनि नपुग्ने क्षेत्रमा धान खेती गरिन्छ भने हिउँदमा बाँझो रहेको जमिनमा बर्खे बालीनालीहरू लगाइन्छ । अझ, भन्नुपर्दा व्यावसायिक कृषि खेती एकदमै कम मात्रामा गरिन्छ । अधिकांश कर्णालीका युवाहरु मौसमी खेती गरेर रोजगारीका लागि काला पहाड जाने परम्परा जस्तै छ ।
४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती
कुल खेतीयोग्य जमिनको झन्डै ४६ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको छ। मन्त्रालयका अनुसार प्रदेशभर ४६ हजार ३२२ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । कर्णालीमा विशेष गरी मार्सी, हाइब्रिड, शंकर–३१२, खुक्खा–१, २, ३ र ५ लगायत जातका धानहरू लगाउने गरिन्छ । भूगोलअनुसार यी जातका धानको उत्पादन पनि बढी हुने कृषि विज्ञहरू बताउँछन् । धान खेती हुने कुल हेक्टर जमिनमध्ये यो वर्ष मध्ये असारसम्म (असार १५) ५५ प्रतिशत रोपाइ सकिएको छ।
विगतमा यो समयसम्म आइपुग्दा निकै कम मात्रामा रोपाइ हुने गरेपनि यो वर्ष समयमा नै मनसुन सुरु भए पनि विगतभन्दा बढी हेक्टर क्षेत्रफल जमिनमा रोपाइ सकिएको हो ।
धान खेती गरिने जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी १५ हजार २४० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । मनसुन चाँडै भित्रिएका कारण पनि विगतका वर्षभन्दा यो वर्ष रोपाइँ छिटो सुरू भएका छन् । खोलाकिनार आसपासका सबैजसो क्षेत्रमा रोपाइ सकिएका छन् भने आकाशे पानीको भर पर्नुपर्ने जमिनमा केही मात्रामा रोपाइँ गर्न बाँकी छ । कृषि विकास निर्देशनालयका अनुसार जुम्लामा ९० प्रतिशतभन्दा बढी रोपाइ सम्पन्न भएको छ भने सबैभन्दा कम सुर्खेतमा ३५ प्रतिशतको हाराहारीमा धान रोपाइ सकिएको छ । जुम्लामा अन्य जिल्लाको तुलनामा चाँडै रोपाइ गर्ने गरिन्छ । यतिबेला जुम्लामा धान खेती गोडमेल गर्ने समय भएको छ। हुम्ला डोल्पालगायतका हिमाली जिल्लामा ७० देखि ८० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएका छन् भने अन्य जिल्ला रुकुमपश्चिम, दैलेख, जाजरकोट, सल्यान, कालिकोटमा ८० देखि ८५ प्रतिशतसम्म धान रोपि सकिएको छ । निर्देशनालयका निर्देशक तथा कृषि विज्ञ चित्रबहादुर रोकायले विगतको भन्दा यो वर्ष समयमै धान रोपाइ भएकाले उत्पादन क्षमता पनि बढ्ने अनुमान गरिएको बताए । कर्णालीमा गत वर्ष प्रतिहेक्टर ३ दशमलव ९६ प्रतिशत धान उत्पादन भएको थियो भने यो वर्ष वृद्धि हुने अपेक्षा गरिएको हो ।
बर्सेनि ३ लाख मेट्रिकटन बराबरको खाद्यान्न उत्पादन
सबैजसो खेतीयोग्य जमिनमा सिँचाई सुविधा नपुगेका कारण कर्णालीमा खाद्यान्न उत्पादन क्षमता न्युन छ । जसका कारण वर्षेनी खाद्यान्न सङ्कट हुने गरेको छ । विशेष गरी यहाँका हिमाली जिल्लाहरुमा खाद्यान्नको अभाव हुने गरेको छ । उत्पादन भएको खाद्यान्नले वर्षभरी पुग्दैन । जसका कारण भोकमरी निम्तिने खतरा हुन्छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार कर्णालीमा वर्षेनी झन्डै ३ लाख १६ हजार तीन सय ९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुने गरेको छ भने २६ हजार मेट्रिक टनसम्म खाद्यान्न अभाव हुने गरेको छ । जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा बढी खाद्यान्न अभाव हुने जिल्लामा पर्दछन् । प्रदेशको जनसंख्यालाई आँकलन गर्ने हो भने पनि वार्षिक ३ लाख ४८ हजार सात सय ३२ मेट्रिक टन बराबरको खाद्यान्न आवश्यक पर्ने देखिन्छ । कर्णालीका सुर्खेत, सल्यान, रुकुम–पश्चिम र दैलेख खाद्य आत्मनिर्भर जिल्लाको सूचीमा छन् । तर, यी जिल्लामा पनि बेला–बेलाआईपर्ने दैविक विपत्तिले खाद्यान्न समस्या हुने गरेको हुन्छ ।
धान दिवस यसरी मनाइयो
सोमबार धान दिवसको अवसरमा वीरेन्द्रनगरमा पनि धान दिवस मनाइएको छ। कर्णाली प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनमा ‘‘ धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’’ भन्ने नारा सहित राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव गरिएको हो । मन्त्रालयले आयोजना गरिएको कार्यक्रमको सन्देश ‘धान खेतलाई धरेलीकरण हुनबाट बचाऔँ, भावी पुस्ताका लागि धान खेती जोगाऔँ ’ भन्ने थियो । कृषि मन्त्री कुर्मराज शाहीले रोपाइ कार्यक्रममा युवालाई कृषि उत्पादनमा जोड्नुपर्ने कुरा उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख