आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरस्वती प्रधानलाई लिफ्ट दिने मन्त्रीलाई प्रधानमन्त्रीले गराए सचेत

मङ्गलबार, १५ असार २०७८, १८ : २०
मङ्गलबार, १५ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् । जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएका हुन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले जातिय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वयम् प्रहरी कार्यलय पुगेको र आफ्नै सवारी साधनमा चढाएर लगेको प्रसंग उल्लेख गर्दै कानुन कार्यान्वयनमा सन्देह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराउनुभएको बताए । उनले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गरे ।

उनले भने– “गाडीमा चढाएर लगे । यो दुर्भाग्य कुरा हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले (हाँस्दै) अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ? तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईले गर्नुभयो, त्यो ठिक भएन भन्नुभएको छ है । यसमा प्रधानमन्त्री स्वयंको पनि ध्यानाकर्षण भएको छ । ”

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरपट्टी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप