सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

वीपी प्रतिष्ठानको आन्दोलन रिले अनशनमा परिणत, उपकुलपति काठमाडौं बसाइ लम्ब्याउँदै

मङ्गलबार, १५ असार २०७८, १६ : १०
मङ्गलबार, १५ असार २०७८

 मुलुककै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिष्ठानका रुपमा कहलिएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न मागसहित आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी, नर्सहरुले सोमबार बिहानदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । उनीहरुले आफ्ना माग सुनुवाईमा चासो नदेखाइएको भन्दै रिले अनशन थालेका छन् ।

आफ्ना सुनुवाई नभएसम्म आन्दोलनबाट विश्राम नलिने बताउँदै आएका उनीहरुले आमरण अनशनमा बस्ने चेतावनीसमेत दिएका छन् । तर प्रतिष्ठानले भने उनीहरुको आन्दोलनलाई बेवास्ता गर्दै आएको छ ।

संयुक्त संघर्ष समितिका संयोजक एवम् प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा रिले अनशन सुरु भएको छ ।

असार १ गतेबाट आन्दोलनकारीले प्रतिष्ठान र धरान नगरमा जुलुस प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनलाई पदाधिकारीले बेवास्ता गरेको भन्दै आन्दोलनकारीले आइतबार पदाधिकारीहरुले चढ्दै आएको गाडीको चाबीसमेत खोसेका थिए । आन्दोलनलाई पदाधिकारीले बेवास्ता गरेपछि हामी अनशनमा जान बाध्य भयौं, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले भने, ‘माग पूरा नभएसम्म अनशन निरन्तर रहनेछ ।

आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानको आर्थिक, प्रशासनिक, शैक्षिक शुद्धीकरणको माग अघिसारेका छन् ।

लामो समयदेखि चलेको आन्दोलनलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले बेवास्ता गरेको आरोप आन्दोलनकारीको छ । तर, प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले भने उपकुलपति प्रतिष्ठानको कामले काठमाडौंमा रहेको र फर्कने दिन कुरेर बसेको बताए । उपकुलपति आएपछि जायज मागका विषयमा छलफल गर्न प्रतिष्ठान तयार रहेको उनको भनाइ छ ।

तर आन्दोलनकारीले उपकुलपतिको शैक्षिक योग्यता सार्वजनिक गर्न माग गरेपछि वार्ता अघि बढ्न नसकेको रेग्मीको भनाइ छ । आन्दोलनकारीले नामका अघि प्राध्यापक लेख्दै आएका उपकुलपति गिरीलाई प्राध्यापक पद्वीको प्रमाण देखाउन चुनौती दिँदै आएका छन् । यसबाहेक शैक्षिक र प्रशासनिक सुधार उनीहरुको मुख्य माग छ ।

यसबीचमै वीपी प्रतिष्ठानमा चरम् लापरबाही भएको, अनियमितता मौलाएको भन्दै धरानका नौ राजनीतिक दलहरू आन्दोलनमा छन् । नागरिक समाजले पनि दबाब समूह बनाएर आन्दोलन गरिरहेको छ । जेठ अन्तिम हप्तादेखि उपकुलपति डा. गिरी प्रतिष्ठानमा उपस्थित छैनन् । प्रतिष्ठानभित्रको आन्दोलनलाई पन्छाउँदै गिरी काठमाडौंमा बस्दै आएका छन् ।

कारवाहीको धम्कीपछि आन्दोलन

गत जेठ २८ गते प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ तथा फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले आर्थिक अनियमितता छानविन गर्न माग गरेका थिए ।

डा.पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एसएमएस गरी प्रतिष्ठानमा भएको भ्रष्टाचार छानविन गरी दोषी उपर कारवाही गर्न माग गरेका थिए । दुई दिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले वीपी प्रतिष्ठानमा छापामारी खरिद सम्बन्धी सबै कागजपत्र नियन्त्रणमा लिएको थियो ।

त्यसपछि उपकुलपति डा ज्ञानेन्द्र गिरीले डा.पोखरेललाई स्पष्टीकरण सोधेका थिए । उपकुलपति गिरीले वेलफेयर सोसाइटीका अध्यक्ष पोखरेललाई जागिरबाट निस्कासन गर्ने धम्कीसहितको स्पष्टिकरण सोधेको भन्दै प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका थिए ।

उपकुलपतिको योग्यतामाथि प्रश्न

उपकुलपति गिरीले प्राध्यापक भनेर लेख्दै आएपछि प्रतिष्ठानभित्र उनको योग्यताबारे पनि प्रश्न उठेको छ ।

नेपाल मेडिकल काउन्सिलबाट २४८७ दर्ता नम्बर पाएका डा गिरी कोसी अस्पतालबाट मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा अवकाश पाएपछि विराट मेडिकलमै कार्यरत थिए । त्यहाँ रहँदै उनलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रतिष्ठानको उपकुपतिमा नियुक्तिका लागि सिफारिस गरेपछि १५ महिनाअघि प्रतिष्ठानमा आउनासाथ उनले आफ्नो नामको अगाडि प्राध्यापक लेख्न थालेका थिए ।

तर प्राध्यापक पद प्राप्त गर्नका लागि कुनै पनि मान्यताप्राप्त विश्वविद्यालयमा कम्तीमा १० देखि १५ वर्ष प्राध्यापन गर्नुका साथै वैज्ञानिक शोधपत्रहरु लेखेर अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित गरेको हुनुपर्छ । कार्डियोलोजी विषयका चिकित्सक गिरीले विश्वविद्यालयमा प्राध्यापन गरेकोबारे प्रतिष्ठान र विराटनगरकै समकालीन चिकित्सकहरुलाई समेत जानकारी नभएपछि प्रश्न उठ्न थालेको हो ।

उपकुलपति प्रा डा. गिरी वास्तविक प्राध्यापक भए÷नभएको पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

गत शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका४ बस्ने पर्यटनकर्मी शशीविक्रम कार्की र संखुवासभाको याखु गाउँपालिका ६ बस्ने आशिष राईले प्रा डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दर्ता गरेका छन् । प्राध्यापक पद आफूखुसी प्रयोग गरेकोमा दोषी ठहरिए उनीमाथि कानुनी कारबाही गर्न मागसमेत गरिएको छ ।

डा. गिरीले भने आफू अमेरिकाको विभिन्न राज्यको प्रख्यात मेडिकल कलेजको भिजिटिङ प्रोफेसर रहेको बताउँदै आएका छन् ।

राजनीतिक खिचातानीले धरासयी बन्दै प्रतिष्ठान

भौतिक पूर्वाधार र सेवा सुविधाले सम्पन्न अस्पताल भनेर प्रतिष्ठानलाई लिने गरिए पनि पछिल्लो समयमा सरकार परिवर्तनसँगै आफ्ना कार्यकर्ता भर्ती गर्ने केन्द्रका रुपमा यसलाई विकास गर्न थालिएको छ ।

अस्पतालभित्र भइरहेका आन्दोलनका कारणमात्रै होइन, राजनीतिक आस्था र पहुँचका आधारमा पदाधिकारी नियुक्त गर्ने क्रम बढेको छ ।

दैनिक ७५० जना बिरामी भर्ना हुने र २ हजार ५ सयले ओपीडी सेवा लिने प्रतिष्ठान प्रदेश १ कोमात्रै नभएर प्रदेश २ का बिरामीका लागि पनि उपचारको मूख्य थलो हो । प्रतिष्ठानमा नेपाल बाहिर भारत र भुटानबाट समेत उपचारका लागि बिरामी आउँछन् ।

समयानुकुल नयाँनयाँ योजना र प्रविधि भित्र्याउनुपर्नेमा अस्पताल प्रशासन, व्यवस्थापन र सञ्चालनको नेतृत्व गरेकाहरूबीच नै समन्वय नहुँदा प्रतिष्ठान ओरालो लागिरहेको नागरिक दबाब सञ्जालका अध्यक्ष डा. राजेन्द्र शर्मा बताउँछन् । राजनीतिक आस्था र पहुँचका आधारमा प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति गरिएकै कारण त्यसको असर बिरामी र आम नागरिकले भोग्नुपरेको उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप