मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

झापाको धान सुपरजोनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो

मङ्गलबार, १५ असार २०७८, १३ : ३५
मङ्गलबार, १५ असार २०७८

 झापाको धान सुपरजोन क्षेत्रमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो । 

धान सुपरजोन क्षेत्रको रुपमा रहेको कचनकवल गाउँपालिका १ घेराबारीमा कृषि ज्ञान केन्द्र झापाले रोपाइँ  नै आयोजना गरि राष्ट्रिय धान दिवस मनाएको हो । केन्द्रले स्थानीय गणेश कृषक समूहसगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको कार्यालय प्रमुख निलकमल सिंहले जानकारी दिए । सो क्षेत्रको आठ कठ्ठा खेतमा रोपाइँ गरिने उनले बताए । केन्द्रले प्रत्येक बर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाउने गरेको छ ।

झापामा यसपटक १७ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको प्रमुख सिंहले बताए । झापाको ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । सो क्षेत्रबाट ४.७ मेट्रीक टन प्रती हेक्टरका दरले ४ लाख १२ हजार २५० मेट्रीक टन धान उत्पादन भएको उनको भनाई छ । 

यता सरकारले कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्धेश्यले विभिन्न कृषि जोन क्षेत्र  घोषणा गरि कार्यक्रम अगाडी बढाएको छ । झापामा धान, मकै, रबर र सुपारी गरि चओटा सुपर जोन निर्धारण गरेको छ । कचनकवल बाहेक अन्य चौध पालिकामा प्रति पालिका २०० हेक्टरका दरले धान सुपरजोन क्षेत्र निर्धारण गरेको छ भने भद्रपुरका केही वडा र कचनकवलमा गरि १ हजार ३०० हेक्टरलाई धान सुपर जोन क्षेत्र घोषणा गरि कार्यक्रम  अगाडी बढाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख बरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले रातोपाटीलाई जानकारी दिए ।

 कृषिलाई आधुनिकीकरण गर्न यान्त्रिककरणमा जोड दिँदै उत्पादन बढाउने परियोजनाको लक्ष्य रहेको उनले बताए । सुपरजोन क्षेत्रमा मात्र यो बर्ष २२ प्रतिशत रोपाइँ सकिएको उनको भनाई छ । गएको बर्ष यहि अवधीमा २८-३० प्रतिशत रोपाइँ सकिएको भएपनि निषेधाज्ञाका कारण यो बर्ष रोपाइँ ढिलो भएको उनले बताए । मनसुन ढिलो सक्रिय हुनुका साथै कतिपय स्थानमा हिउँदे धान काट्न ढिला भएकाले पनि यो बर्ष रोपाइँ ढिलो भएको उनले जानकारी दिए । 

नेपाल कृषि प्रधान देश भएको र यहाँका अधिकांश मानिस कृषि पेशामा निर्भर रहेकाले बर्सेनि धान दिवस मनाउने गरिएको छ । २०६१ साल मंसिर २९ गते मन्त्रिपरिषदले निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप