ad
x

कविता : रोपाइँ

person explore access_timeअसार १५, २०७८ chat_bubble_outline0

 


-चन्द्र रावत ‘गुराँस’ 



यसपालि पनि विरौटाहरुमा रोपाइँ सुरु हुन्छ 
हल गोरु लिएर बिहान अरू नउठ्दै
किसान खेतमा पुगिसक्छ
रुज्दैभिज्दै भुराभुरीहरु पनि
आँखा मिच्दै बाआमाको पछि लाग्छन् ।



यताका डल्ला उता सारेर
उताको हिलो यता सारेर
रातभरि कुलाको डिलमा बसेर
एक निमेष आँखा बन्द नगरी
जुनकिरीको उज्यालो र भ्यागुताको सङ्गीतमा
रोपारा र बाउसे खोज्दै,
खोजखाज गरी खेतलाका लागि बनाएको
अचार, तरकारी र खाना नास्ताको डोको बोकेर
किसानको परिवार खेतमा झुल्किन्छ ।



पानीमा खेल्दै, पानीमा रुज्दै
हिलोमा लटपटिँदै
बाउसे, हली, बेगारे, ब्याडे, रोपार्नीहरु
पिठ्युँमा असार बोकेर
माटोमा पसिना पोख्छन्



किसानले
पाथीको दरमा खेत रोपेर सिध्याउनु छ
तलमाथि अरूको सकियो
मेरो मात्रै बाँकी छ
अरूले जस्तै आफूले पनि समयमै
रोपाइँ सकेर मैजारो गर्नका लागि
किसान हिलोमा प्रीति रोपिरहन्छ
माना, पाथी र मुरीको गणितमा
डाँडा आवतको खेत, कर्कले ढुङ्गाको खेत
रावतवाडाको खेत र यस्तै अरू खेतहरु
महिना दिनभन्दा बढी लगाएर रोप्छ ।
  
माथिको कुहिरो लाग्ने लेकतिर हेर्दै
पानी बोकेर ओर्लर्दै गरेको बादललाई
पर्खिरहन्छ किसान 



उता सरकार, प्रत्येक वर्ष
कुनै विद्वानको डायरीबाट शब्द खोज्दै 
रोपाइँको नारा तयार गर्दछ ।
सुटबुट र टाई लगाएका 
एक हातमा डायरी, अर्को हातमा क्यामेरा समाएका
सरकारी  लोगो अङ्कित टिसर्ट लगाएका
सरकारी  प्रतिनिधिहरु
टीएडीएसहितको सेल्फी लिँदै
एक दिन खेतको छेउमा उभिन्छन्
दही चिउरा खान्छन् र रोपाइँ दिवस मनाउँछन् ।

अखबारका पाना र सञ्जालका भित्ताहरुमा
रोपाइँका रङ्गीन फोटाहरु हेरेर 
सरकार नाकका प्वाल फुलाउँछ
र बजेटको थैलो फालिदिन्छ

सरकारको सुनि नसकिँदो बजेट
कुलोबाट खेतमा झर्न नपाउँदै
कौवाका हुलहरुले उठाएर लैजान्छन्
किसानलाई  मतलब छैन 
सुनै हराओस  कान नहराओस 
हिलो र माटोमा लगाएको प्रीति नटुटोस्
बाउसो, फाली, हलो, हलानो र खेत मैसँग
स्याँकु ओढेर लगाएको माया नछुटोस्

किसानलाई थाहा छैन 
कृषिमा आएको अनुदान
कुन सरकारी कार्यालयको चोर ढोकाबाट बाहिरिन्छ
बीउ बिजन, मल र कृषि औजारको नाममा आएको रकमबाट 
सहरमा हेरिनसकिँदो घर कसले बनायो ?
जनताको पसिना निचोरेर शङ्कमा 
कसले गुडायो पजेरो
कुन कुन अड्डामा को कसलाई नमस्ते चढाएपछि 
एक क्वाएल पाइप आउँछ  
किसानलाई थाह छैन

असारमा सुरुवाल लगाउने
मङ्सिरमा धान चोर्ने
यस्तैयस्तै छेड हानेर 
रोपाइँको महत्त्व बुझाउँछ किसान
आफ्ना उत्तराधिकारीहरुलाई ।

दुल्लु नगरपालिका–७, दैलेख
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।