भेदभाव कहिले अन्त्य होला ?
छुवाछुतविरुद्धको विषय सामाजिक सञ्जाल, मिडिया, पत्रपत्रिकामा धेरै चर्काचर्की हुने गर्छ । यस विषयमा गहिरिएर कसैले बोल्दैनन् । माथिल्लो भनिने जातिमा भेदभाव भएकै छ । कुनै सानो जातले छोएको पानी कतिपय ग्रामीण भेगमा अझै पनि चल्दैन । बाल्यकालमा म पनि यसबारे अनभिज्ञ थिएँ । तर अहिले आएर धेरै कुरा बुझेँ ।
प्राचीन कालमा काम गर्ने क्रममा विवाद हुँदा पुर्खाहरुले कामको बाँडफाँट गरेर गरिएको भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । पछि यसैलाई ठूलाठालुले गलत अर्थ लगाएर मानव जाति बीच आन्तरिक द्वन्द्व उत्पन्न गराएको कुरा भेटिन्छ । तर यो विषयमा कसैले पनि सही तरिकाले भन्न सक्दैन ।
यसमा मेरै पनि एक अनुभव छ । एक जना नानीले छोएको जुठो पानी खायो भनेर घरमा हजुरआमा गाली गर्नुभयो । ५ महिनासम्म कुल देवताको कोठामा म छिर्न पाइनँ । उमेरका हिसाबले वृद्ध उहाँलाई मैले बुझाउन सकिनँ । उहाँहरुको मानसिक छाप मेट्न सजिलै सकिँदैन थियो ।
हाम्रो समाजमा जैसी, उपाध्याय, क्षत्री, सन्यासी आदिमा अनौठो किसिमको भेदभाव छ । सबैभन्दा ठूलो उपाध्याय अनि क्रमशः जैसी, क्षेत्री, सन्यासी छन् । अनि उनीहरुबीच पनि क्रमशः ठूलोदेखि सानोमा भेदभाव हुँदै आएको छ ।
उनीहरुले सहयोग, पानी, फलफूल, सब्जी, रोटी आदि मीठो मानी मानी लिन हुने तर खाना खायो भने उनीहरुको जात, धर्म, संस्कार आदिले दिँदैन । त्यही धानबाट बनेको परिकार खान संस्कारले सजिलै दिइरहेको छ । सोच्दा पनि अचम्म लाग्छ । कस्तो संस्कार, एउटै धर्म मान्ने भए पनि भेदभाव गर्नुपर्ने ? हामीले हाम्रो जात अनुसारको कुल देवता मान्दै आएका छौँ । तर धर्म परिवर्तन गर्ने बित्तिकै कुल देवता नमान्ने भयौँ । हिजोसम्म त्यही कुल देवताको कोठामा अरू कोही छिर्न हुँदैन भनेर आस्था राख्ने हामी आज आएर पूर्वकालदेखि हाम्रा पुर्खाले मानेको कुरा एकैचोटि परिवर्तन गर्दा केही कठिन हुन सक्छ । तर हामीले गरेको यो निर्णय हाम्रो जाति र धर्मविरुद्ध छ । मेरो भनाइको आशय कुनै पनि धर्मको विरुद्ध छैन । विश्वास भएसम्म एउटा धर्म रहेर बाचौँ तर विश्वास नभएपछि धर्म मान्नुको अर्थ छैन । गलत लागेको कुरा भइ आफूले नै परिवर्तन गर्न सकिन्छ ।
कथित माथिल्लो जातिलाई अजात भनिने महिलामाथि बलत्कार गर्न छेकेको छैन । के सबैमा झुटो माया देखाएर शारीरिक सन्तुष्टि मेट्न अधिकार छ ? हामी कुन जात र धर्म आफ्नो संस्कारमा रही मानेको छौँ ? सबै पेसामा इज्जत हुन्छ ।
पण्डित पनि एउटा पेसा नै हो । उनीहरू एउटा नियम, मर्यादामा रही आफ्नो अध्ययन समाप्त गरी दक्ष भई समाजलाई नियम, संस्कार, धर्मबारे व्याख्या गर्न सक्छन् तर हामीले बनाएको खाना किन खाँदैनन् ? उनीहरुलाई भेदभाव गर्न पक्कै सिकाएको छैन । पण्डितले अरूले छोएको खायो भने त्यही घरकाले नै गाउँमा हल्ला पिट्छन् । यो बाहुनले मेरो घरमा खायो भनेर । अनि त्यही कुरा समाजमा फैलिन सक्छ । भोलिदेखि समाजमा ती पण्डितले जोसुकैले छोएको खाएको भनेर उनको पेसाबाट बहिष्कार गर्न थाल्छन् । यसले उनको पेसा खतरामा पर्छ । त्यसैले जातपातका बारेमा उनीहरु बोल्न हिचकिचाउँछन् ।
दिदी र बहिनीले फरक जातसँग विवाह गर्दा उहाँहरुबीच भेदभाव भइरहेकै छ । विवाह गर्नुभन्दा अगाडि एकअर्कालाई खाना ख्वाउनु भएकै होला । तर किन आज बहिनीकोमा जाँदा आफैँ भान्से हुनु प¥र्याे ? एउटा बाहुन हुने अर्काे क्षेत्री हुने । फेरि हजुरहरुको कुल देवता कसरी खुसी भए ? विवाहअगाडि एउटै थिए तर परिवर्तन भएर दुईथरि हुँदा पनि संस्कारको विरुद्ध भएन । धर्मपुत्रपुत्री पाल्दा पनि हाम्रो जात, धर्म र संस्कारले सजिलै मान्दोरहेछ । कुन जात, धर्म आदिको हो भन्ने कुरा नै थाहा छैन भने के हामी पुर्खाले देखाएको बाटो सबै हिँडेका छौँ ?
केही दिन अगाडि रुपा सुनारको बारेमा भनाभन भएको समाचार सामाजिक सञ्जालमा आयो । उनले भनेको कुरा ठिकै लाग्यो । उनको कडा शब्दले झन् यो विषयमा खोज्न उत्प्रेरित गर्याे । रुपा सुनार एक सञ्चारकर्मी भएर जातीय विरुद्धको आवाज उठाइरहँदा आफ्नो दलित (ठूलाबडाले राखिदिएको नाम) समुदायभित्र पनि भेदभाव भइरहेको देख्न भयो कि भएन ? आरक्षण कोटा हटाउनुपर्छ भनेर सरकारसमक्ष कतिचोटि जानु भयो त ? के हामीलाई भत्ता दिनुपर्दैन भन्न सक्नु भयो त ? के सरकारतर्फ पनि दलित शब्द हटाउनै पर्छ भन्ने सुझाव आयो ? आफ्नो समुदायमा बुझाउन सक्नुभएन अनि कसरी अरू समुदायमा बुझाउन सक्नु हुनेछ ? वर्षौंदेखि मानव जातिको दिमागमा बसेको मानसिक छाप कसरी एकैचोटि मेट्न सक्नुहुन्छ ? दलित समुदायले छुवाछुत भइरह्यो भनी राख्दा किन आरक्षण कोटा, भत्ता आदि नहटाउँदा दलित कमजोर छन् भन्ने देखाइरहन्छ ।
कुनै व्यक्तिले उच्च शिक्षा हासिल गर्दैमा मानसिक सोच परिवर्तन हुन नसक्ने रहेछ । देश समृद्धि बनाउनु छ भने विकासित देशका जनताको जस्तै एकअर्काको संस्कारलाई समान गर्न सक्नुपर्छ । तर नेपालमा प्रत्येक जात र धर्ममा भेदभाव नै छ । पहिला आफू परिवर्तन हुन जरुरी छ । आगामी पुस्तालाई कस्तो सिकाउने भनेर प्रत्येक व्यक्तिको मानसिकतामा परिवर्तन हुन जरुरी छ । अनि मात्रै भेदभावरहित समाजको निर्माण हुन्छ ।