शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रान्डिङमा मेघेन्द्रको जादु

मङ्गलबार, १५ असार २०७८, १२ : ३४
मङ्गलबार, १५ असार २०७८

कुनै पनि कम्पनीको पहिचान भनेकै ‘ब्रान्ड’ हो । जुनसुकै व्यापार, व्यवसाय, उद्योग धन्दा, संघ संस्थालाई गति दिन होस् वा उत्पादनको पहिचान र बजार विस्तारका लागि ब्रान्डिङले ठूलो भूमिका निर्वाह गर्दछ । ब्रान्डका लागि आजभोलि लाखौं–करोडौं खर्च गर्ने गरेको पाइन्छ । तर यही ब्रान्ड स्थापित गर्न कम्पनीले गरेको सिर्जनशीलताबारे भने कसैको ध्यान गएको पाइँदैन ।

पशुपति पेन्ट्सको एउटा स्लोगन छ ‘खुसीका रङहरु’, त्यसैगरी कैलाश चियाको एउटा स्लोगन छ ‘मुड फ्रेस तुरुन्तै’ । यही स्लोगनहरुले नै यी उत्पादनले राम्रै बजार पिटे । सुन्दा सामान्य तर मनमै बस्ने यस्ता स्लोगन कसले बनायो होला ?

हामी कुरा गर्दैछौं यस्ता जनजिब्रोमा झुण्डिने स्लोगनका सिर्जनाकर्ता तथा ब्रान्डिङमा नाम कमाएका एक व्यक्तित्व मेघेन्द्रप्रकाश गिरीको । उनी यस्ता एक व्यक्तित्व हुन् जो ब्रान्डिङ कै लागि चर्चित छन् ।

कर्पोरेट क्षेत्रले पनि ब्रान्डिङलाई निकै ठूलो महत्व दिने गरेको छ । ब्रान्डिङका लागि सिर्जनशीलता चाहिन्छ र यस्तै सिर्जनाशीलता भएका व्यक्तित्व उनै गिरीलाई कर्पोरेट, उद्योग तथा व्यावसायिक क्षेत्रले आफ्नो संस्थामा आवद्ध गराउन चाहन्छ ।

ब्रान्डिङले कम्पनीका साथै उत्पादनको पब्लिसिटी गराउन सघाउने भएकाले आजको जमाना ब्रान्डिङकै भएको उनको तर्क छ । कुनै पनि कम्पनीका उत्पादनलाई गतिलो पहिचान दिन सकियो भने उक्त कम्पनी रातारात चम्किने उनी बताउँछन् ।

बर्दियाको गुलरियामा जन्मिएका गिरीले सोही स्थानबाट विद्यालयस्तरको अध्ययन पूरा गरे । २०४७ सालमा एसएलसी पास गरेका उनले त्यहीको स्थानीय क्यम्पसबाट आइकम पनि पास गरे । २०५२ सालमा नेपालगन्जस्थित महेन्द्र मल्टिपल क्याम्पसबाट बीकम पास गरेपछि काठमाडौं हानिएका गिरीले काठमाडौंस्थित शंकरदेव क्याम्पसबाट २०५६ मा एमबीए पास गरे । अध्ययन पूरा गरेसँगै सुरु भएको उनको करियरले अहिले भिन्नै उचाइ हासिल गर्न सफल भएको छ । अझ ब्रान्डिङ तथा मार्केटिङ कलाले उनलाई मिडिया, बैंक हुँदै बीमाको क्षेत्रमा स्थापित गरिदिएको छ ।

ब्रान्डिङ कला

भनिन्छ हरेक व्यक्तिमा अदृश्य कला हुन्छ । कतिले आफ्नो कलाको पहिचान नै गर्न सक्दैनन् भने कति त्यसैको भरमा उचाइ चुम्छन् । सन् २००० मा बाल पत्रिका ‘योङ हेराल्ड’मा मार्केटिङबाट करियर सुरु गरेका गिरीले २००१ देखि २००४सम्म नेपाल टोबाको (गोर्खा लहरी)मा कार्यरत रहँदादेखि नै हो आफ्नो छवि स्थापित गर्न सफल भएको ।

त्यहीबेला मार्केटिङ कम्युनिकेशन अफिसर रहेका मेघेन्द्रले ‘कैलाश चिया’को मार्केटिङ गरे । उनको मार्केटिङ गर्ने तरिका भिन्न थियो । त्यतिबेला भर्खरभर्खर सुरु भएका डिपार्टमेन्ट स्टोरको गेटबाहिर बसेर त्यहाँ आउने ग्राहकलाई कैलाश चिया पकाउँदै खुवाउने अभियान सुरु गरे गिरीले । त्यसपछि त निकै चर्चित मुना चियाकै हाराहारीमा कैलाश चियाको पनि बिक्री हुन थाल्यो ।

उनले कैलाश चियाका लागि ‘मुड फ्रेस तुरुन्तै’ स्लोगन बनाएर ब्रान्डिङ गरेका थिए, जसको निकै चर्चा हुने गर्दछ र यो स्लोगन अहिले पनि नेपालीको जिब्रोमा झुण्डिएको छ । त्यस्तै, पशुपति पेन्ट्सको ‘खुसीका रङहरु’, चाचान ग्रुपको त्रिशक्ति सिमेन्टका लागि ‘पुस्तौं पुस्ताका लागि’को सिर्जनाकार उनै मेघेन्द्र गिरी हुन् । यी स्लोगन चर्चितमात्रै छैनन् नेपालीको जनजिब्रोमा वर्षौंदेखि झुण्डिरहेका छन् ।

गिरीले नेपाल लाइफ इन्स्योरेन्सको प्रोफाइल डकुमेन्ट्री ‘नेपाल लाइफमा बीमित हुने सारा नेपालीको रहर, थुप्रै योजना उच्च बोनश दर’, ‘रोग लाग्नै नदिने प्रयत्न तपाईँको, केही भए उपचारमा साथ दिने बाचा हाम्रो’ जस्ता स्लोगनहरु सिर्जना गरिसकेका छन् । त्यस्तै, ‘एनआईसी एसिया बैंकका लागि ‘हाम्रो समुन्नति राष्ट्रकै उन्नति, आजैदेखि बचत गरौं है साथी’ जस्ता ट्यागलाइन पनि उनै गिरीका सिर्जना हुन् ।

उनी २००४ देखि ५ महिना एसियन पेन्ट्सको एरिया सेल्स म्यानेजरको रुपमा काम गरे । लगत्तै उनले कान्तिपुर टेलिभिजनमा असिन्टेन्ट मार्केटिङ एन्ड कम्युनिकेशन म्यानेजरको रुपमा २०१६ सम्म काम गरे । २०१६ देखि बैंकिङ्ग यात्रा थालेका गिरीले एनआईसी एसिया बैंकमा डेढ वर्ष कर्पोरेट कम्युनिकेशन, ब्रान्डिङ एन्ड सीएसआर डेपुटी हेडको रुपमा काम गरे । २०१८ देखि भने उनी बीमा क्षेत्रमा प्रवेश गरे । नेपाल लाइफमा कर्पोरेट कम्युनिकेशन एन्ड ब्रान्डिङ हेडका रुपमा प्रवेश गरेका उनको ब्रान्डिङ तथा मार्केटिङका कारण नेपाल विज्ञापन संघबाट सन् २०१९ मा बेस्ट एडभरटाइजिङ क्याम्पेनबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पुरस्कृत भएको थियो । गिरी आफू सधैँ संस्थाको हितमा काम गर्नेमात्रै होइन, कम्पनीको योजनालाई साकार पार्न हरसम्भव प्रयास गर्ने पनि बताउँछन् ।

नेपाली, हिन्दी, भोजपुरी, अवधि, थारु सबै भाषामा पोख्त छन् गिरी । त्यसैले त ब्रान्डिङ गर्दा वा कुनै सिर्जना गर्दा उनलाई सहज हुने गरेको छ । कर्पोरेट क्षेत्रले ब्रान्डिङ कै लागि आफूलाई खोज्ने गरेको उनी बताउँछन् । ब्रान्डिङ एक कला भएकाले यसलाई नवीन शैलीबाट अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् उनी ।

सांगीतिक कर्मले पनि साथ दियो

मेघेन्द्र गिरी ब्रान्डिङमा चर्चित हुनुका पछाडि उनमा लुकेको कलाकारिता पनि प्रमुख कारण हो । उनी आफू गीतकार, गायक, संगीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशक समेत भएको बताउँछन् । भन्छन्, ‘२०५२ सालमा नेपालगन्जमा बीबीसी नेपाली सेवाले आयोजना गरेको कार्यक्रममा ‘बिझाइ नदेऊ यो मुटुमा फूल टिप्दा काँडा बनेर’ बोलको आधुनिक गीत गाएको थिएँ र उक्त कार्यक्रम बीबीसी टेलिभिजनले समेत प्रशारण गरेको थियो । यसबाहेक अन्य दुईवटा गीत आफ्नै लेखन र स्वरमा बजारमा आएका छन् ।’

गिरी एक मोडल तथा कलाकार पनि हुन् । गीत संगीतका मात्रै होइन, विज्ञापनको अवधारणा बनाउन पनि उत्तिकै खप्पिस छन् गिरी । उनले विज्ञापन रचनासमेत गरेका छन् । हाल बीमा क्षेत्रमा ब्रान्डिङमा रमाएका उनका यी पक्ष निकै रोचक छन् । कला निर्देशन तथा अभिनयमा पनि उत्तिकै पोख्त गिरी यी सबै कर्मले नै आफूलाई आज सिर्जनशील हुन उत्प्रेरित गरिरहेको बताउँछन् ।

सिर्जनाका लागि बजारको मागसँग साक्षात्कार हुनुपर्छ

ब्रान्ड स्थापना गर्नका लागि बजारसँग साक्षात्कार हुन जरुरी हुन्छ । गिरी आफू बजारको माग र ग्राहकको चाहना के छ, त्यसमा सधैँ केन्द्रित रहन्छन् । उनी विश्व बजारको पनि उत्तिकै अध्ययन गर्छन् । कुनै पनि व्यवसायलाई समयअनुसार परिमार्जन गर्न सकिएन भने त्यो मिति गुज्रिएको सामानजस्तै हुन्छ । त्यसैले समय र बजारको आधारमा कम्पनीका हरेक उत्पादन वा नीति, नियम परिवर्तन गर्न सक्नुपर्ने गिरीको तर्क छ ।

सिर्जनशीलताका लागि स्वतन्त्रताको आवश्यकता पर्दछ । त्यसैले नयाँ अवधारणामा काम गर्न स्वतन्त्र दिमागको आवश्यकता पर्दछ । गिरी हरेक उत्पादनसँग कनेक्ट हुन्छन् । भन्छन्, ‘घरमा, बेड रुममा, बाथ रुममा, सडकमा वा कार्यालयमा जहाँ पनि मस्तिष्कले नयाँ अवधारणा वा नयाँ कुराको सिर्जना गर्न सक्छ । कतिपय कम्पनीका स्लोगन, गीतलगायतका सिर्जना मैले राति १२ बजे उठेर पनि लेखेको छु,।’

उनी भन्छन्, ‘यदि ब्रान्डलाई उकास्न चाहने हो भने लक्षित ग्राहकले के चाहन्छ ? के बोल्छ ? के सोच्छ ? के खान्छ ? के लगाउँछ ? कसरी हिँड्छ ? उसको आम्दानी कस्तो छ ? भन्नेबारे जानकार हुनु जरुरी हुन्छ ।’ बजार र ग्राहकको चाहना बुझ्न सकिएमा ब्रान्डिङका लागि सिर्जना आउने उनी बताउँछन् ।

कान्तिपुरमा काम गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘कान्तिपुर टेलिभिजनमा दोस्रो वार्षिकोत्सवको प्रोमोशनल एड डिजाइन गर्नुपर्ने थियो । मैले एउटा २ वर्षको बालकको कपडा नलगाएको फोटो पछाडिबाट ग्रिन कलरमा खिचेँ । उक्त बालकले दुई पाइला हिँडेर तेस्रो पाइलामा पुगेपछि आकाशतिर दुबै हात फैलाएर ग्लोब समातेको फोटो डिजाइन गरेँ ।’ त्यसमा ‘मिठो सम्झना हिजोको, छ कल्पना भोलिको’ भनेर उनले स्लोगन राखे । उनी भन्छन्, ‘धेरै एड निर्माताहरुले बनाएको मध्येबाट मैले बनाएको छनोट भयो । सुन्दा सामान्य लागे पनि यसको भाव गहिरो थियो ।’

त्यति बेलादेखि नै हो उनले चाचान ग्रुप, बर्ड मोबाइल, पशुपति पेन्ट्सलगायत कम्पनीका उत्पादनको ब्रान्डिङ गरेको । एनआईसी एसिया बैंकमा प्रवेश गरेपछि पनि उनले ब्रान्डिङकै काम पाए । त्यसपछि उनले ‘जल, स्थल र आकाश’को अवधारणामा एनआईशी एशियाको बैंकको ब्रान्ड स्थापित गरिदिए । उतको त्यही अवधारणा पछ्याउँदै कतिपय बैंकले ब्रान्डिङमा निकै खर्च गरे ।

हाल नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत उनले नेपाल लाइफ इन्स्योरेन्स र यसका नयाँनयाँ योजनालाई जनतासमक्ष सहज रुपमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

ब्रान्डको आफ्नै जीवनचक्र हुने भएकाले कुनै ब्रान्ड जन्मिन्छ, समृद्ध हुन्छ र पुनः ओरालो लाग्छ । तर फेरि त्यसलाई अर्को तरिकाबाट जन्माउन बजारको अवस्था र ग्राहकको मागलाई राम्रोसँग अध्ययन गर्न आवश्यक हुने उनको भनाइ छ ।

कोरोनाले थला परेको बजारलाई अलिकति भए पनि सास भर्न सघाएको छ नेपाल लाइफले । त्यसमा सास भरिदिएका छन् गिरीले । अघिल्लो तिहारमा कोरोना महामारीका कारण मानिस भेला हुने अवस्था नहुँदा लकडाउन खुले पनि देउसी भैलो नखेल्न र घरमै बसेर रमाइलो गरी तिहार मनाउनु भन्ने सरकारको आग्रह थियो । घरमै बसेर देउसी गीत सुन्दै रमाइलो गर्ने र नेपाल लाइफको शुभकामना पनि आम नागरिकमा प्रवाह हुने ठानेर उनले तिहार गीत निर्माण गर्ने सोच बनाए । त्यसपछि उनले तिहार गीतको शब्द रचना गरे, ‘झिलिमिली बत्ती बाली रंगाइदिऊँ है सारा नेपाल’ । उक्त तिहार गीतमार्फत जीवन बीमाप्रति मानिसको अभिरुचि जगाउने, नेपाल लाइफको ब्रान्ड प्रोमोशन गर्ने र तिहारको शुभकामना दिने सबै काम भयो । फलस्वस्प ४ दिनमै उक्त तिहार गीतले १० लाख भ्युज बनाएको गिरी बताउँछन् ।

कुनै पनि कम्पनीको ब्रान्डिङले उक्त कम्पनीको गति तय गर्नसक्ने हिम्मत राख्ने भएकाले पनि होला आजभोलि कर्पोरेट सेक्टर पूर्णरुपमा ब्रान्डिङमा जान थालेको छ । यसले गर्दा गिरीजस्ता सिर्जनशीलताका क्षमता भएका व्यक्तित्वलाई सारथि बनाएर कम्पनीहरु आफ्ना उत्पादन र सेवालाई जनतासम्म लैजान प्रतिस्पर्धारत देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप