शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आयोजक कमिटी लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

मङ्गलबार, १५ असार २०७८, ११ : २६
मङ्गलबार, १५ असार २०७८

काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी लगत्तै पर्सी बिहीबार २०७५ जेठ २ को पार्टी संरचना अनुसारको केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार पार्टी एकता पूर्वको एमाले केन्द्रीय समिति बैठक बोलाउने तयारी भैरहेको बताए ।

‘बुधबार बस्ने महाधिवेशन आयोजक कमिटि लगत्तै बिहीबार केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको छ’, तामाङको भनाई छ ।  

एमाले नेताहरुका अनुसार बुधबार बस्ने आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई कमिटीमा रुपान्तरणको घोषणा गर्नेछ ।

एमाले संसदीय दलका उपनेता समेत रहेका स्थायी समिति सदस्य सुवास नेम्वाङले बुधबार बोलाइएको आयोजक कमिटीको बैठकको तयारीबारे छलफल गर्न मंगलबार बेलुका ५ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिए ।

‘बुधबारको बैठकको तयारीबारे छलफल गर्न आज साँझ स्थायी समिति बैठक बोलाइएको छ’, नेम्वाङले भने, ‘बुधबारको बैठकको तयारी के कस्तो छ भन्नेबारेमा छलफल हुन्छ ।’

ओली पक्षले बुधबारको बैठकमा माधव पक्षलाई समेत आउन खवर गरेको तर आउने नआउने निश्चित नभएको बताएको छ ।

‘सवैलाई खवर गरिएको छ आउने नआउने उहाँहरुको निर्णयमा भर पर्छ’अध्यक्ष ओली निकट रहेका एमाले केन्द्रीय कार्यालयका सचिव तामाङको भनाइ छ । यसअघि नै माधव नेपाल पक्षले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी नहुने जनाइसकेको छ ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको थियो । तर नाम विवादमा सर्वोच्च अदालतले गत फागुन २३ गते पार्टी एकतापछि बनेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र एकतापूर्वको अवस्थामा फर्किएका थिए । सर्वोच्चको आदेशपछि अध्यक्ष केपी शर्मा ओलीले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सवै कमिटी भंग गरेका थिए । महाधिवेशन आयोजक कमिटीका नाममा कर्णालीका चार सांसदलाई कारवाही गरेपछि सर्वोच्चमा परेको रिट निवेदनमा अदालतले सो कमिटीलाई समेत मान्यता नदिने आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप