शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजकिशोर र अमृता अग्रहरिले किन गरेनन् महन्थ ठाकुरको पत्रमा हस्ताक्षर ?

सोमबार, १४ असार २०७८, २१ : ००
सोमबार, १४ असार २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई बुझाएको पत्रमा कार्यकारिणी सदस्यको तर्फबाट राजकिशोर यादव र अमृता अग्रहरिले हस्ताक्षर नगरेको जसपा स्रोतले जनाएको छ । 

कार्यकारिणी सदस्य रहेका दुवैजना पार्टीमा भइरहेको क्रियाकलापको बारेमा असन्तुष्ट देखिन्छन् । ठाकुर पक्षका नेताहरुमा व्यक्तिवादी सोच रहेको र जसका कारण पार्टीभित्र गुटबन्दी बढेको उनीहरुको ठहर छ । उसो त, अध्यक्ष ठाकुरले प्रधानमन्त्री अ‍ोली नेतृत्वको सरकारमा आफ्नो समूहबाट मन्त्री पठाउँदा अमृता अग्रहरि र राजकिशोर यादवको नाम राखेका थिएनन् । 

यद्यपी राजकिशोर यादवले पछि प्रधानमन्त्री अ‍ोलीको आग्रहमा मन्त्री पदमा सपथ लिए । सर्वोच्च अदालतको निर्णयका कारण मन्त्रीहरु पदमुक्त भएपनि पार्टीभित्रको असन्तुष्टि भने कम भएको छैन । अमृता अग्रहरिको भनाइलाई उद्धृत गर्दै पार्टीका एक नेताले भने, ‘मन्त्री फिर्ता भए त के भयो, सँस्कार र व्यवहार फिर्ता भएको छैन नि, महन्थ ठाकुर र राजेन्द्र महतोको जे व्यवहार छ, जे क्रियाकलाप छ त्यसमा सुधार आएको छैन, उपेन्द्र यादवबाट अलग भएर छुट्टै गुट चलाइरहनु भएको छ तर त्यो गुटमा पनि महन्थ ठाकुर र राजेन्द्र महतोले भागबण्डा गर्नुहुन्छ ।’

जसपामा मधेशी राजनीति सबभन्दा पुरानो नेतृ अग्रहरि हुन् । तर अहिले महन्थ ठाकुर र राजेन्द्र महतोले उनको योगदानलाई पार्टीमा अवमूल्यन गरिरहेको कुरा पार्टीमा टिप्पणी भइरहेको छ ।  त्यही कारणले अमृता असन्तुष्ट रहेकी छिन् । 
यसबारे अग्रहरिसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले भनिन्, ‘पार्टीमा के भइरहेको छ मलाई केही पनि थाह छैन, म कार्यकारिणी समितिको सदस्य हुँ तर कार्यकारिणी समितिको निर्णयबाट फलानो फलानो निर्णय भएको सुन्छु तर मलाई त्यस बारेमा केही हुँदैन ।’

पार्टीमा गुटबन्दी भइरहेको आरोप लगाउँदै उनले पार्टी सामूहिक निर्णयले चल्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप