शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगमा महन्थ ठाकुरको दावी : म एक नम्बर अध्यक्ष !

आफ्नो पक्षमा बहुमत रहेको दावी
सोमबार, १४ असार २०७८, ११ : ०७
सोमबार, १४ असार २०७८

जनता समाजवादी पार्टी (जसपा) को एक नम्बर अध्यक्षको रुपमा महन्थ ठाकुरले आफूलाई प्रस्तुत गरेका छन् । ठाकुर पक्षले निर्वाचन आयोगलाई पठाएको पत्रमा पार्टीको एक नम्बर अध्यक्ष ठाकुर रहेको दावी गरिएको हो ।

पुस ७ गतेको बैठकले महन्थ ठाकुरलाई कार्यकारिणीको अधिकार दिएका कारण उनी एक नम्बरको अध्यक्ष रहेको दावी गरिएको जसपाका एक कार्यकारिणी सदस्यले जानकारी दिए । ती सदस्यले भने, ‘पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरलाई कार्यकारिणीको अधिकार दिइ कार्यकारिणी समिति हेरफेर गर्ने अधिकार दिएको थियो । सोही अधिकारलाई प्रयोग गरी समितिमा हेरफेर गर्नुभयो । कार्यकारिणी समितिमा बहुमत रहेको प्रमाण हामीले निर्वाचन आयोगमा दिएका छौं ।’

जसपाभित्र बढ्दो विवादका बीच ठाकुरले निर्वाचन आयोगमा कार्यकारिणी समितिको बहुमत सदस्य आफूसँग रहेको दावीसहितको हस्ताक्षर बुझाइसकेका छन् । अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो पक्षबाट २० जना राखेका छन् । त्यसरी बहुमत देखाएर निर्वाचन आयोगमा आइतबार पत्र पठाएको एक नेताले बताए ।

ठाकुरले आयोगमा बुझाएको पत्रमा कार्यकारिणी समितिका ३८ जना सदस्यको हस्ताक्षर रहेको छ । जसमा कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले गरेका निर्णयको प्रतिलिपि पनि बुझाइएको छ । त्यस्तै, २०७७ पुस ७ गते बसेका कार्यकारिणी समितिको बैठकले गरेको निर्णयको प्रतिलिपि पनि पठाइएको छ ।

तर,  उपेन्द्र यादव पक्षले भने पुस ७ को बैठकमा ठाकुरलाई अधिकार दिनेगरी त्यस्तो कुनै निर्णय नभएको दावी गर्दै आएको छ ।

यसअघि नै यादव पक्षले दलको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । अहिले त्यसको प्रतिउत्तरमा ठाकुरले आफ्नो पक्षमा बहुमत रहेको दावीसहित आयोगमा पत्र बुझाएका हुन् ।  आयोगमा पत्र बुझाउनका लागि कार्यकारिणी समितिका सदस्य डा.सुरेन्द्र झा, मुकेश झा र केशव झा गएका थिए ।

ठाकुर पक्षीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले आफूहरुको तर्फबाट निर्वाचन आयोगलाई पत्र पठाइएको पुष्टि गरे ।  यद्यपि पत्रमा छ विषय उल्लेख गरिएको छ भन्ने आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘निर्वाचन आयोगलाई हिजै पत्र पठाइएको हो तर पत्रमा के–के दावी गरिएको छ, त्यो मलाई जानकारी छैन, एउटा कुरामात्र जानकारी आएको छ, हाम्रोतर्फबाट पार्टीमा बहुमत रहेको दावी गरिएको छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप