के हो दुःखको कारण ?
एक दिन एउटी बालिका खेल्दै ठूलो कोठामा पुगिन् । भित्तामा सयौँ ऐना टाँसिएका थिए । भित्र छिर्नासाथ आफू जस्तै सयौँ बालिका देखिन् । उनी जे गर्थिन् उनीहरू पनि त्यस्तै गर्थे । यो देखेर उनी निकै खुसी भइन् । उनलाई सबैभन्दा रमाइलो स्थान त्यही लाग्यो । त्यस दिनदेखि सँधै फुर्सद हुनासाथ खेल्न त्यहीँ जान थालिन् ।
समय बित्दै गयो । एक दिन एउटा रिसाहा मानिस पनि घुम्दै त्यही कोठामा पुगे । उनले पनि उनी जस्तै सयौँ मानिस देखे । उनीहरूलाई देख्नासाथ उनलाई रिस उठ्यो र आँखा तरे । उनीहरूले पनि त्यसै गरे । उनले थप रिसाएर मुड्की ताके । उनीहरूले पनि मुड्की नै ताके । त्यसपछि उनलाई त्योभन्दा नराम्रो स्थान अर्को लागेन र रिसले चुर हुँदै हिँडे । त्यस दिनदेखि त्यहाँ कहिल्यै गएनन् ।
यहाँ कोठा एउटै थियो अवस्था दुई किसिमको देखियो । एउटालाई त्योभन्दा सुन्दर स्थान कतै लागेन । अर्कोले त्योभन्दा नराम्रो स्थान कतै भेटेन । बालिका रमाइलो मानेर सँधै जाने गर्थिन् । रिसाहा मानिस नरमाइलो मानेर कहिल्यै गएनन् । कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नुपर्दैन । हाम्रो अवस्था पनि त्योभन्दा भिन्न छैन ।
संसार यस्तो ऐना हो हामी जस्तो छौँ त्यस्तै देखाइदिन्छ, जस्तो हुन खोज्छौँ त्यस्तै बनाइदिन्छ । मूर्खले मूर्ख नै देख्छ, मूर्खबाहेक केही पनि देख्दैन । सज्जनले सज्जन नै देख्छ, सज्जनबाहेक केही पनि देख्दैन ।
महाभारतका एउटा प्रसङ्ग छ । एक दिन गुरु द्रोणाचार्यले राजकुमार युधिष्ठिर र दुर्योधनलाई एकएक जना दुर्जन र सज्जन खोजेर ल्याउन भने । युुधिष्ठिरलाई दुर्जन खोजेर ल्याउन भनिएको थियो, दुर्योधनलाई सज्जन खोजेर ल्याउनु भनिएको थियो । उनीहरूको परीक्षा लिन त्यसो भनेका थिए तर उनीहरूले महिना दिन लगाएर खोज्दा पनि त्यस्तो मानिस भेटेनन् र खाली हात फर्के । युधिष्ठिर सज्जन थिए सबैलाई सज्जन देखे । दुर्योधन दुर्जन थिए सबैलाई दुर्जन देख्थे । फलतः दुवैले खोजेका मानिस फेला पारेनन् ।
महिना दिनपछि खाली हात फर्केको देखेपछि गुरुले आश्चर्य मान्दै सोधे–
‘खाली हात आएका छौ त । खोइ मैले भनेको मानिस ?’
उनीहरूले हात जोर्दैै भने–
‘गुरुवर ! माफ पाऊँ, त्यस्तो मानिस पाउनै सकेनौँ ।’
गुरुले कुरा बुझिहाले, सोही अनुसारको नम्बर दिएर पठाए ।
यो एउटा दृष्टान्त हो, जसले समग्र मानव जातिको अवस्था बोध गराउने काम गरेको छ र यसैले नै हाम्रा तमाम समस्या देखाउने काम गरेको छ । वास्तवमा समस्या संसारमा छैन, हुँदैन । यदि समस्या छ भने ठाने हुन्छ आफ्नै सोचमा छ, विचारमा छ, व्यवहारमा छ । दुर्जनका निम्ति यही संसार दुःखको कारण बन्छ, बनेको हुन्छ । सज्जनका निम्ति यही संसार सुखको कारण बन्छ, बनेको हुन्छ ।
जे रोपिएको छ फल्ने त्यही हो । विष रोपिएको स्थानमा विषै फल्छ, अमृत रोपिएको स्थानमा अमृत नै फलेको हुन्छ । विष रोपेको स्थानमा मरिकाटे अमृत फल्दैन । हामीमा दुःख रोपेर सुख खोज्ने बानी छ । त्यसैले मरिकाटे सुख पाउन सकेका छैनौँ । होऽऽ समस्या यहीँ छ । यहाँ गडबडी बगैँचाको होइन, बगैँचाले गरेको छैन । गडबडी रोप्ने मानिसमा छ, रोप्ने तरिकामा छ, बिऊमा छ ।
हामी सबै आफूलाई राम्रो देख्छौँ, ठान्छौँ । सबै राम्रो ‘म’ को भोका छौँ । त्यसैले त राम्रो हुन, बन्न सकिरहेका छैनौँ । आफूले राम्रो ठान्दामा राम्रो हुने पनि होइन, बनिने पनि होइन । यो त मपाईँवाद हो । मपाईँवादले कसैलाई पनि कहीँ पु¥याउँदैन । राम्रो हुन अरुले राम्रो भनिदिनुपर्छ । यो त्यतिबेला सम्भव हुन्छ जति बेला राम्रो गर्न सकिएको छ । आफूले आफैँलाई राम्रो ठानेसम्म यो कहिल्यै सम्भव हुँदैन ।
आफूले आफैँलाई राम्रो भनेपछि अरु सबै नराम्रा ठहरिने भए । अनि नराम्रा ठहरिएपछि फल पनि त्यस्तै दिने नै भए । थाहा छैन उनीहरू नराम्रा थिए, थिएनन् तर के चाहिँ पक्का हो भने आफूले भने नराम्रो बनायौँ र उनीहरूबाट फल पनि त्यस्तै पाउन थाल्यौँ ।
एकपटक ब्रह्मा, विष्णु र महेश्वरबीच को ठूलो भन्नेबारे झगडा प¥यो । ब्रह्मा आफूलाई ठूलो भन्थे । शिव आफैँलाई र विष्णु आफैँलाई । फलतः कोही पनि ठूला हुन सकेनन् र मुद्दा चर्किँदै गएर ऋषिहरूसम्म पुग्यो । त्यसपछि ऋषिहरूले परीक्षा गर्ने विचार गरी यसको जिम्मा भृगु ऋषिलाई दिएर पठाए, जो ब्रह्माजीका छोरा थिए ।
भृगुजी ब्रह्माजीको अगाडि पुगेर ढिङ्ग उभिए । छोराले आफ्नो अगाडि सामान्य शिष्टाचारसम्म नदेखाएको देखेर ब्रह्माजीलाई रिस उठ्यो र मार्छु भन्दै जाइलागे । धन्न माता सरस्वतीले रोकिन् र उनको ज्यान बच्यो ।
त्यसपछि उनी शिवजीको पासमा गएर नाना तरहले गिज्याउन लागे । शिवजीलाई पनि रिस उठ्यो र नमारी छाड्दिन भन्दै त्रिशूल लिएर जाइलागे । यहाँ पनि माता पार्वतीले रोकिन् र अप्रिय घटना हुन पाएन । त्यताबाट उनी सरासर वैकुण्ड लोक पुगेर विष्णुको छातीमा लात्तीले हाने तर विष्णु भने कत्ति रिसाएनन् । उल्टै मेरो कठोर छातीमा लात्तीले हान्दा तपाईँको कमलो पाउमा कति चोट लाग्यो होला भन्दै मसार्न पुगे । त्यसपछि ऋषि मण्डलीले विष्णु नै ठूला हुन् भन्ने घोषणा गरिदिए ।
आफूले आफैँलाई ठूलो ठानुन्जेल विष्णु पनि ठूला देवता बन्न सकेका थिएनन् । जब अरुले भनिदिए त्यसपछि भने ठूला देवता बने र अहिलेसम्म पनि ठूलैमा गनिन सफल भएका छन् ।
त्यसैले कस्तो बन्ने आफ्नै हातमा छ । राम्रो बन्ने भए अरुको नजरमा राम्रो बन्ने प्रयास गर्नुपर्छ । अन्यथा जे गर्दा पनि हुन्छ । मात्र कति हो भने राम्रो बने सुख पाइन्छ । होइन भने दुःख बाहेक केही पाइँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै