शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी आयोजनामा मर्मत गर्न नसकिने

आइतबार, १३ असार २०७८, १९ : ३९
आइतबार, १३ असार २०७८

–सञ्चिता घिमिरे
मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पुर्याउन नसकिने अवस्था  छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच/छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, “सङ्घीय सरकार र स्थानीय सरकार मिलेर सडक चाँडो मर्मत गर्न आवश्यक छ ।”

बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ । हेडवर्कमा भएको तीन र मेलम्ची नदीमा दुई पुल बाढीका कारण क्षतिग्रस्त बनेको सूचना अधिकारी पन्तले बताए । क्षति भएकामध्ये दुई क्रंक्रिटको पुल र तीन बेलिब्रिज रहेको छ । फेरि पनि पक्की पुल बनाउन प्रक्रियामा जाँदा दुई/तीन वर्ष लाग्ने भएकाले यसको तत्काल समाधान खोज्न लागिएको उनले बताए । सडक विभाग र नेपाली सेनासँग प्रकोपमा प्रयोग गर्न तयारी अवस्थामा बेलिब्रिज राखिएको हुन्छ । उनले भने, “त्यसको प्रयोग गरेर पनि चाँडो हेलम्बुसम्म सडक खुलाउन खानेपानी मन्त्रालयले समन्वय गरिरहेको छ ।”

कति छिटो सडक मर्मत गरेर उपकरण लैजान सकिन्छ आयोजनामा पुगेको क्षतिको मर्मत उति चाँडो गर्न सकिने देखिएको छ । सडक एकातर्फबाट खुलाउँदा पनि निर्माणस्थलसम्म पुग्न सकिने सूचना अधिकारी पन्तले बताए । विभिन्न स्थानमा सडक पूरै भासिएको छ । त्यस्तो ठाउँमा पनि पहिलेको रेखाङ्कनभन्दा फरक ठाउँमा सडक निर्माण गर्न नसकिने समितिले जनाएको छ । पहिलेको सडक बगेको भए पनि त्यसको विकल्प खोज्दा लामो समय लाग्न सक्छ । पहिले सडकको ट्रयाक खोल्दा मुआब्जा र क्षतिपूर्तिसहित काम भएको थियो । अहिले नयाँ रेखाङ्कनको विकल्प खोज्दा स्थानीयवासीले सहयोग नगर्ने भएकाले त्यही रेखाङ्कनमा अस्थायी भएपनि सडक लैजान सकिन्छ कि भन्ने हेरिएको समितिले जनाएको छ । 

यही असार १ गते आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको हो । आयोजनाले सोही दिनदेखि नै सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न शुरु गरेको थियो । सुरुङ बन्द भएकाले त्यसमा बाढी पस्न नपाएको आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरू, उपकरणहरू, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । आयोजनाले कतिपय संरचना बाढीका कारण पुरिएकाले स्थलगत रूपमा हेरेर मात्रै त्यसमा कति क्षति पुगेको छ भन्ने थाहा पाउन सकिने जनाएको छ ।
 
आयोजनास्थलमा पुगेको क्षतिको स्थलगत रुपमा अनुगमन गर्न खानेपानी मन्त्रालयको टोली त्यसतर्फ जाने योजना बनाएको छ । शुक्रबार खानेपानी मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै वसन्तकुमार नेम्वाङले खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली संयुक्त रुपमा अनुगमन गर्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप