आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मदन भण्डारी अस्पतालका चिकित्सकसहित १२ जना कोरोना संक्रमित

आइतबार, १३ असार २०७८, १८ : ४०
आइतबार, १३ असार २०७८

मोरङ उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सकसहित १२ जना कोरोना संक्रमित भएका छन् । अस्पतालमा कार्यरत दुई चिकित्सकसहित १२ जना संक्रमित भएपछि आजबाट सो अस्पतालको ओपिडी सेवा बन्द भएको छ । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा.दिव्य खनालसहित अर्को एक चिकित्सक, नर्स, ल्यावमा कार्यरत कर्मचारी र कार्यालय सहयोगीसहित संक्रमित भएका छन् । डा.खनालका अनुसार एक साताअघि अस्पतालमा कार्यरत एक कार्यालय सहयोगी संक्रमित भएका थिए । त्यसलगत्तै ल्यावमा कार्यरत एक कर्मचारी संक्रमित भएकामा चार दिनको अन्तरालमा आफूसहित विभिन्न वार्डमा कार्यरत नर्स लगायत थप १० जना संक्रमित हुन पुगेको बताए । संक्रमित हुने सबै चिकित्सक, नर्स लगायतले दुबै डोजको खोप लगाएकाले उनीहरुमा खासै कडा लक्षण नदेखिएकाले सबैजना होम आइसोलेसनमा रहेको डा. खनालले बताए ।

अस्पतालमा कार्यरत ठुलो संख्याको जनशक्ति संक्रमित भएर आईसोलेसनमा बसेपछि आइतबारदेखि अस्पतालको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको पनि डा.खनालले बताए । अस्पतालको इमर्जेन्सी सेवा भने सुचारु रहेको छ । अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमै १२ बेडको आइसोलेशन पनि सञ्चालन गर्दै आएको छ ।

प्रदेश सरकारले साविकको मंगलबारे अस्पताललाई दुई वर्ष अघि प्रदेश सरकार मातहत ल्याएर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रुपमा विकास गर्ने योजना अघि सारेको थियो । साविकको १५ शैय्याको अस्पताललाई विशेषज्ञ सेवासहितका ५० शय्याको स्तरोन्नती गर्ने प्रदेश सरकारको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप