बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली करिडोरमा पहिरो जाँदा सडक अवरुद्ध

आइतबार, १३ असार २०७८, १७ : ४६
आइतबार, १३ असार २०७८

कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो ।  सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो”, उनले भने, “वर्षात्का कारणले धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ ।” 

लगातारको वर्षाका कारणले कर्णाली करिडोर एक साताभन्दा बढीदेखि नै अवरुद्ध रहेको छ । कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षात्का कारणले पहिरो जाँदा अवरुद्ध भएको हो । कर्णाली करिडोर अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडक खण्डमा पहिरो गएको छ । 

पहिराले करिडोर क्षेत्रका विभिन्न ठाउँमा राखिएका बिलिब्रिज भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अवरुद्ध भएको र पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । “पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ”, उनले भने, “पहिरो पन्छाउनका लागि पहल थालिएको छ, चाडै सञ्चालन गर्ने तयारी गरेका छौं ।”

कर्णाली करिडोरमा कालिकोटको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुबाहक सवारी साधन र मालबाहक सवारी साधन चल्ने गरेका भएपनि अहिले पहिरोका कारणले अवरुद्ध भएको यातायात व्यवसायी धनबहादुर बटालाले जानकारी दिए ।
“करिडोरका विभिन्न ठाउँमा पहिरो जाँदा यातायातका साधन चल्न सकेका छैनन्”, उनले भने, “अझै पहिरो पन्छाउन केही हप्ता लाग्ने देखिन्छ ।” करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्यावश्यक वस्तुको ढुवानी रोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप