सम्पत्ति शुद्धीकरण : सङ्गठित आर्थिक अपराध
मानिस स्वभावैले सधैँ विलासी जीवनको प्रत्यासी हुन्छ । मानवीय आवश्यकता पूरा गर्न सम्पत्तिको आवश्यकता पर्दछ । जग्गाजमिन, घर, मोटर लगायतका भौतिक कुराहरू प्राप्त गर्ने आधार सम्पत्ति हो । सम्पत्ति आर्जन गर्न व्यक्तिलाई छुट हुन्छ । तर, त्यो प्राप्तिको बाटो कानुनसम्मत हुनुपर्दछ ।
प्रचलित कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक व्यक्तिलाई संविधानले पनि सुनिश्चित गरेको हुन्छ । सम्पत्ति आर्जन गर्नु एउटा कुरा हो भने अस्वाभाविक सम्पत्तिको आर्जन र त्यसको स्रोत खुलाउनु अर्को कुरा हो ।
कानुनले नगर्नु भनेको काम गरेर कमाएको कुनै पनि किसिमको सम्पत्तिको स्वरूप र प्रकृतिमा रूपान्तरण गर्ने र सम्पत्तिको यथार्थ स्रोत लुकाई कानुनी तरिकाबाट आर्जन भएको देखाउने वा आवरण फेर्ने कार्य सम्पत्ति शुद्धीकरण हो ।
स्रोत नखुलेको, अवैध तरिकाले आर्जन गरिएको, करको दायरा नसमेटिएको, आपराधिक तरिकाले आर्जन गरिएको अकूत सम्पत्तिलाई वैधानिक बनाई कानुनको दायरामा ल्याउन व्यक्ति, समूह वा सङ्गठनले अपनाउने कृत्रिम तरिका, प्रक्रिया या विधि नै सम्पत्ति शुद्धीकरण हो ।
सम्पत्ति शुद्धीकरणको माध्यमले अवैध सम्पत्तिलाई क्रमशः स्थापित, एकीकृत र कारोबारयुक्त बनाइन्छ । यो अवैध तरिकाले आर्जित सम्पत्तिलाई वैधानिक बनाउने कलात्मक अपराधको खेल हो । यो गम्भीर प्रकृतिको आर्थिक अपराध हो ।
सम्पत्ति आर्जन गर्ने धन्दामा अवैध तरिकाले सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गर्ने तरिकामा व्यापकता आएको छ । सम्पत्ति शुद्धीकरण गर्ने तरिका देशको नीति, कानून र व्यवस्था अनुसार फरक फरक हुन्छ । अवैध धनलाई क्रमिकरूपमा वैध बनाउन कानुन बमोजिम संस्थापित गरिएका संस्थाहरूको प्रयोग गरिएको हुन्छ । वास्तविकतालाई ढाकछोप गर्न अवैध धनलाई विभिन्न आर्थिक क्रियाकलापमा लगानी गर्ने, घरजग्गा खरिदबिक्री गर्ने, वित्तीय क्षेत्रमा लगानी गर्ने, बहुमूल्य वस्तुहरूको खरिद बिक्री गर्ने आदि क्रियाकलाप गरी गैरकानुनी सम्पत्तिलाई कानुनी सम्पत्तिमा मिसाउने प्रचलन छ ।
आजभोलि सम्पत्ति शुद्धीकरणको प्रयोग सङ्गठित अपराधका रुपमा वित्तीय कारोबारसम्बन्धी क्रियाकलापमा देखा परेको छ । यो विश्वव्यापी प्रकृतिको अपराध हो र यो आतङ्कवादसम्बन्धी अपराधको विषय पनि बनेको छ ।
निश्चित क्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरहने यस्तो अपराधले राज्यको समग्र कानुनी, वित्तीय प्रणालीलाई कमजोर बनाई अपराध र अपराधीलाई नै शक्तिशाली बनाउँछ । साथै यसले मुलुकको वित्तीय प्रणालीको स्वरूप, अस्तित्व, साख, सन्तुलन तथा विकासमा नकारात्मक असर पुर्याई अन्ततः समग्र विश्व वित्तीय प्रणालीमा समेत गम्भीर असर पुर्याउँछ ।
यसले देशको अर्थतन्त्रमा तस्कर र माफियाहरूलाई प्रशय दिने, इमानदार लगानीकर्तामा नैराश्य उत्पन्न भई अर्थतन्त्रमा मन्दी आउन सक्ने, राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण बढ्ने, वित्तीय अनुशासन धराशायी हुने, आर्थिक कूटनीतिमा नकारात्मक असर पर्ने, कालो धनको विलासी खर्चले गर्दा जुवा तास, लागु औषध सेवन, देखावटी आडम्वरीपन जस्ता विकृति एवं विसङ्गतिहरू भित्रिने र सङ्गठित अपराधसम्बन्धी गतिविधिमा बढोत्तरी गराउने हुँदा वित्तीय र आर्थिक स्थायित्वमा नकारात्मक असर पारेको हुन्छ । सम्पत्ति शुद्धीकरण एक आर्थिक अपराध भएकाले यसले कसैको हित गर्दैन ।
उल्लेखित सम्पत्ति शुद्धीकरणबाट प्रभावित हुने क्षेत्रहरूलाई प्रभावमुक्त राख्नुको अतिरिक्त भविष्यमा अपराधीहरूले गैरकानुनी कार्यबाट सम्पत्ति शुद्धीकरण गर्न नसक्ने वातावरण सिर्जना गर्न, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने लगानीलाई अपराधीकरण गर्न, कसुर गर्नेलाई कानुनको दायरामा ल्याउन तथा राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय अर्थतन्त्रको स्वस्थ ढङ्गले विकास गर्न सम्पत्ति शुद्धीकरण निवारण जरुरी छ ।
सम्पत्ति शुद्धीकरण एउटा बहुआयामिक वित्तीय अपराध हो । मूल अपराध लुकिने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध गर्यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गर्न सकिँदैन ।
अपहरण, भ्रष्टाचार, आतङ्कवाद, राजस्व छली आदि गैर कानुनी कार्यबाट आर्जित सम्पत्ति भूमिगतरुपमा पुनः त्यस्तै गैर कानुनी कार्यमा लगानी हुने र शुद्धीकरण गर्ने चक्रहरू चलिरहने हुँदा पुनः त्यो गैर कानुनी कार्यबाट आर्जित सम्पत्ति आपराधिक कार्यमा प्रयोग नहोस्, आपराधिक कार्य रोकियोस् भनी यसको निवाराणात्मक व्यवस्थाको प्रयोजनार्थ अन्तर्राष्ट्रिय क्षेत्रबाट थुप्रै प्रयासहरू हुँदै आएका छन् ।
यसै सन्दर्भमा गठन भएको वित्तीय कारबाही कार्यदल (Financial Action Task Force (FATF) ले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मार्गदर्शनका रूपमा ४० वटा मापदण्डहरू सिफारिस गरेको छ । एसिया प्रशान्त क्षेत्रका मुलुकहरुबीच सम्पत्ति शुद्धीकरण एवं आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यमा साझा अवधारणा विकास गरी ऐक्यबद्ध भई कारबाही अगाडि बढाउन सहज गराउने उद्देश्यले एसिया प्रशान्त क्षेत्र समूह (Asia Pacific Group-APG) को स्थापना भएको छ ।
संयुक्त राष्ट्रसंघको तत्वावधानमा लागु औषध नियन्त्रण, आतङ्कवाद नियन्त्रण, भ्रष्टाचार निवारण, सङ्गठित अपराध नियन्त्रण लगायतका विभिन्न महासन्धिहरु सम्पन्न भएका छन् । दक्षिण एसियाली सहयोग संगठनस्तरमा समेत लागु औषध नियन्त्रण तथा आतङ्कवादको दमनका सम्बन्धमा क्षेत्रीय महासन्धिहरूको व्यवस्था गरिएको छ ।
त्यसैगरी बैकिङ्ग, बिमा, धितोपत्रसम्बन्धी क्षेत्रगत अन्तर्राष्ट्रिय निकायहरूले समेत अपराधहरू नियन्त्रण गर्न विभिन्न मापदण्डहरूको विकास गरेका छन् ।
नेपालमा पनि २०६४ माघ १४ देखि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ जारी भई लागु गरिएको छ । जसले कर छली वा अन्य कुनै पनि तरिकाले प्राप्त गैर कानुनी आर्जनलाई शुद्धीकरण गर्ने, आतङ्कवादी क्रियाकलापबाट सम्पत्ति आर्जन गर्ने, त्यस्तो क्रियाकलापमा लगानी गर्ने, उल्लेखित काम कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि किसिमले संलग्न हुने, लाभ लिने, त्यस्तो सम्पत्तिको स्रोत लुकाउने, त्यस्ता कार्यमा उद्योग गर्ने, मद्दत गर्ने वा दुरुरत्साहन गर्ने यावत कार्यलाई सम्पत्ति शुद्धीकरण गरेको मानी सो कार्यलाई वर्जित गरेको छ ।
तथापि सम्पत्ति शुद्धीकरण ऐनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । वित्तीय अनुशासन र जवाफदेहिता आजको आवश्यकता हो । सम्पत्ति आर्जन गर्दा र सम्पत्तिको अन्य कारोबार गर्दा कानुन बमोजिम वैद्य तरिका अनुसार गर्नुपर्दछ । कालो धनलाई सेतो धनमा परिणत गर्ने खेललाई निवारण गर्न राज्यशक्ति बढी नियमनकारी बन्नुपर्छ । नागरिक समाजको खबरदारी र जनचेतना अभिवृद्धि गरी सम्पत्तिमा शुद्धता, व्यवहारमा स्वच्छता हुनु आवश्यक छ ।
स्पष्ट र दीर्घकालीन नीति तथा कार्ययोजनाको अभाव हुनु, कमजोर अनुसन्धान प्रणाली, खुला सीमानाका कारण औपचारिक र अनौपचारिक व्यापारमा वृद्धि, भारतीय मुद्राको असीमित र खुला कारोबार हुनु, हुण्डी कारोबार नरोकिनु, दृष्टिकोणविहीन राजनीतिज्ञ र सक्षम कानुनी प्रावधानको कमी तथा धन सम्पत्तिलाई सामाजिक प्रतिष्ठाका रूपमा ग्रहण गर्ने सामाजिक संस्कार हुनुले पनि नेपालमा सम्पत्ति शुद्धीकरण गर्ने कार्य सहज बनेको छ ।
सम्पत्ति शुद्धीकरण रोक्न सकेमा सही काम गर्ने, मेहनत र परिश्रम गर्नेहरूको हित हुनेछ । गलत मान्छेहरू कारबाहीमा पर्नेछन । राज्यले पाउनुपर्ने कर, राजस्व छल्ने अवस्था रहँदैन, घुस ठगी जबरजस्ती असुली हुने छैन । यसबाट आर्थिक कारोबारमा पारदर्शिता आउने र आर्थिक अनुशासन कायम हुनेछ । छलकपट गर्ने पाखा लाग्नेछन् । काम र मेहनत गर्ने संस्कृतिको विकास हुनेछ । सामाजिक, प्रशासनिक, राजनैतिक सबै क्षेत्रमा इमानदार मान्छेहरूको बाहुल्य रहने छ । विकृतिहरू कम हुँदै जानेछन् । नयाँ सिर्जनात्मक मानसिकताको बिज रोपिनेछ ।
सम्पत्ति शुद्धीकरण गर्ने कार्यले अदृश्य रूपमा विश्व अर्थतन्त्रलाई गाँजिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । कालो धन्दा र गैर कानुनी क्रियाकलापबाट नेपालमा पनि सम्पत्ति शुद्धीकरण भइरहेको अनुमान छ । नेपाल बाहिर पुँजी पलायन गर्दै सम्पत्ति शुद्धीकरण गर्नेहरूको सङ्ख्या नेपालमा पनि बढिरहेको बताइन्छ । यस सन्दर्भमा सम्पत्ति शुद्धीकरण निवारण गर्ने कार्य राज्यको प्राथमिकता र चासोको विषय बनिनुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीका सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै, कोशीमा १९ कम्पनी सूचीकृत
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)