बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकी डाइभर्सन भारतीय स्वार्थ अनुरुप : एमाले नेता गुरुङ

आइतबार, १३ असार २०७८, १५ : ०९
आइतबार, १३ असार २०७८

नेकपा एमालेका नेता किरण गुरुङले कालीगण्डकी डाइभर्सन परियोजना भारतीय स्वार्थ अनुरुप अघि बढाउन लागिएको बताएका छन् । केन्द्र सरकारका अर्थ र गृहमन्त्री समेत रहेका विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन परियोजनाको कार्यालय उद्घाटन गरेपछि प्रदेशका पूर्वअर्थमन्त्री समेत रहेका गुरुङले उक्त परियोजनाको विरोध गरेका हुन् । 

‘विस्तृत अध्ययन र अनुसन्धानबिना भारतीय शासकको स्वार्थ अनुरूप संघीय शासन प्रणालीको भावना, मूल्य र मान्यता विपरीत गण्डकी प्रदेश र यस जलाधार क्षेत्र– राम्दीदेखि देवघाटसम्मका लाखौं लाख बासिन्दा तथा विश्वकै प्राचीन मानव सभ्यताको भावना विपरीत दीर्घकालीन महत्वको यस आयोजनाको काम सुरु गर्न स्थापना गरिएको कार्यालयको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलद्वारा आज मिति २०७८÷०३÷१२ का दिन भएको खबरले गण्डकी प्रदेशवासी मात्र होइन, लुम्बिनी र बागमती प्रदेश अन्तर्गतका कालीगण्डकी र नारायणी नदीका जलाधार क्षेत्रका सबै बासिन्दालाई नराम्ररी झस्काएको छ’, गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

उनले प्राकृतिक रुपमा बगिरहेको नदी डाइभर्सन गर्दा त्यसले तल्लो तटीय जलाधार क्षेत्रका मानव समुदाय र जैविक विविधताका क्षेत्रमा  ठूलो वातावरणीय चुनौती पैदा गर्ने भन्दै परियोजनालाई अघि बढाउन सम्बन्धित जलाधार क्षेत्रका सबै बासिन्दा, जनप्रतिनिधि र  सरोकारवाला तथा यससँग सम्बन्धित सबै संघ–संस्थाका साथै गण्डकी प्रदेशसँग छलफल, समन्वय र सहमति नै नगरी एकतर्फी रूपमा नेपाल सरकारले निर्णय गरेकोमा आपत्ति जनाएका छन् । 

‘यो निर्णय सर्वथा गलत  र  संघीयता विरोधी छ । यसले दुई प्रदेश बीचको मात्र होइन, सिङ्गो कालीगण्डकी र नारायणी नदीको जलाधार क्षेत्रका लाखौं लाख जनता र यसको सभ्यता विरूद्ध ठुलो द्वन्द्व निम्त्याउने काम गरेको छ । यसका साथै, यो आयोजना पर्यावरणीय र जैविक विविधताका हिसाबले पनि प्रकृति कै नियम विपरीत रहेको छ, यो परियोजना कार्यान्वयन भनेको एउटा ठूलो प्राकृतिक विपद्को सामना गर्नु सरह हो । यति मात्र होइन, यो आयोजना हालसम्म नेपाल पक्ष भई भए–गरेका राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्धि–सम्झौता समेतको विरूद्ध रहेको छ’, गुरुङले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप