घरकै खानाबाट बालबालिकालाई यसरी स्वस्थ राख्नुहोस्
कोरोनाको दोस्रो लहर क्रमशः मत्थर हुँदै गइरहेको अवस्थामा तेस्रो लहरको चिन्ता बढ्न थालेको छ । कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने आशंका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी संक्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । गत जेठ २१ गते स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी संक्रमित हुने भन्दै बालबालिकाका लागि २० प्रतिशत बेड र आइसीयू, एचडीयू, भेन्टिलेटर आदि तयारी अवस्थामा राख्न देशभरका सबै अस्पताललाई निर्देशन दिएको थियो ।
कोरोनाको दोस्रो लहरसँग जुधिरहेका जनतालाई तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी प्रभावित हुनेबारे सरकारले नै सचेत तुल्याएसँगै अभिभावक त्रसित भएका छन् । बालबालिकाका लागि तत्काल खोप आउने सम्भावना कम रहेका कारण उनीहरु पक्कै पनि बढी जोखिममा छन् । तसर्थ उनीहरुको स्वास्थ्यबारे सजग हुन अत्यावश्यक छ । यो अवस्थामा बालबालिकाको प्रतिरोधी क्षमता बढाउनु पर्ने कुरामा जोड दिन विज्ञहरुको सुझाएका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरकी डायटिसियन सुपरभाइजर योगिता सापकोटाले प्रतिरोधी क्षमता र बालबालिकालाई स्वस्थ राख्नका लागि केही सल्लाह, सुझाव दिएकी छिन् ।
के हो प्रतिरोधी क्षमता ?
उनले प्रतिरोधी क्षमता बुझ्नु अघि प्रतिरोधी प्रणालीबारे बुझ्न आवश्यक भएको बताउँछिन् । उनी भन्छिन्, ‘प्रतिरोधी प्रणाली विभिन्न अङ्ग, कोष, तन्तु र प्रोटिनबाट बनेको जटिल सञ्जाल हो । सामान्य भाषामा भन्ने हो भने प्रतिरोधी प्रणालीले शरीरभित्र ‘आफ्नो’ हो कि ‘अरुको’ अर्थात् ‘बाहिरको’ भन्ने छुट्याएर शरीरलाई विभिन्न ब्याक्टेरिया, भाइरस र अन्य संक्रमणबाट बचाउने काम गर्दछ । जब हाम्रो शरीरमा कुनै ‘बाहिरी’ तत्त्वको प्रवेश हुन्छ तब प्रतिरोधी प्रणालीले प्रतिरोधी प्रतिक्रिया गरी शरीरलाई बचाउने काम गर्दछ ।’
योगिताका अनुसार यही क्षमतालाई प्रतिरोधी क्षमता भनिन्छ जुन बाँच्नका लागि अपरिहार्य छ । प्रतिरोधी क्षमता नभएको खण्डमा हाम्रो शरीर बाहिरी संक्रमणहरुको लागि खुल्ला र उच्च जोखिममा रहने र यही क्षमताकै कारण हामी स्वस्थ रही बाँच्न सक्ने उनी बताउँछिन् ।
कोरोना कालमा सबैभन्दा धेरै शब्द यदि कुनै सुनिएको छ भने त्यो प्रतिरोधी क्षमता नै हो । प्रतिरोधी क्षमता बलियो भएकाहरुलाई कोरोनाको संक्रमण भइहाले पनि भाइरसको असर कम रहने बताइयो । तर कोरोनाबाट बच्न प्रतिरोधी क्षमताको कस्तो भूमिका हुन्छ त ? यो प्रश्नमा योगिता भन्छिन् –
‘विभिन्न अनुसन्धानका अनुसार कोरोना र शरीरको प्रतिरक्षा प्रणालीबीच सम्बन्ध रहेको बुझिएको छ । कुनै पनि विशेष खानेकुरा खाएर वा अन्य कुनै विधि वा जीवनशैली अपनाएर प्रतिरक्षा क्षमता बढाएर कोरोना लाग्न नदिने भन्ने कुराको वैज्ञानिक पुष्टि त भएको पाइँदैन । तर कोरोनाको खोप लगाएका व्यक्तिहरुमा भने शरीरमा कोरोनाभाइरसविरुद्धको एन्टीबडी बन्ने हुनाले खोप लगाइसकेका व्यक्तिहरुमा पुनः कोरोनाभाइरस लाग्दा रोगको लक्षणहरुको जटिलता कम रहेको तथ्याङ्कहरुले पुष्टि गरेको पाइन्छ ।’
कसरी बढ्छ प्रतिरोधी क्षमता ?
यो प्रश्नको जवाफका लागि योगिताले हार्वर्डलाई उद्धृत गर्दै रोग प्रतिरोधात्मक क्षमता बढाउने विषयमा विभिन्न अनुसन्धानहरु भइरहेको र प्रतिरोधी प्रणाली भनेको एकल इन्टिटी नभइ सिङ्गो प्रणाली भएको कुरा प्रस्ट्याइन् । उनका अनुसार प्रतिरोधी प्रणालीले सही तरिकाले कार्य गर्नका लागि सन्तुलन र मेलको आवश्यकता पर्छ । अझै पनि प्रतिरोधी प्रणाली बीचको अन्तरसम्बन्धबारे अनुसन्धान भइरहेको उनी बताउँछिन् ।
उनी थप्छिन्, ‘आजको दिनसम्म पनि वैज्ञानिक हिसाबले जीवनशैलीका कारण प्रतिरोधी क्षमता बढाउने विषयमा प्रत्यक्ष सम्बन्ध रहेको तथ्य प्रमाणित भइसकेको छैन । तर यसको अर्थ जीवनशैली र प्रतिरोधी प्रणालीबीचको सम्बन्ध छैन भन्ने पनि होइन ।’
अझै पनि वैज्ञानिकहरु र अनुसन्धानकर्ताहरुले खानपान, शारीरिक व्यायाम सक्रियता, उमेर, विभिन्न मनोवैज्ञानिक तनाव र अन्य कारक तत्वहरुको असर मानिस र अन्य जीवहरुको प्रतिरोधी प्रतिक्रियामा कस्तो रहेको हुन्छ भन्नेबारे अध्ययन गरिरहेको उनले जानकारी दिइन् ।
त्यसैले प्रतिरोधी शक्ति, हामीले खाने खानेकुरासँग मात्रै सम्बन्धित छ भन्नु गलत भएको योगिताको निष्कर्ष छ । तर खानाको माध्यमबाट पाइने भिटामिन (A, B6, B12, folate, C, D, E) खनिज (Zinc, copper, Selenium, iron) को भने प्रतिरोधी क्षमता बलियो बनाउन भूमिका रहेको पाइएको उनले जानकारी दिइन् ।
सप्लिमेन्ट प्रयोग गर्दा बढ्छ प्रतिरोधी क्षमता ?
विभिन्न औषधी र सप्लिमेन्टले प्रतिरोधी क्षमता बढाउने भन्दै अनेक थरीका दाबी गरेको पाइन्छ । तर क्लिनिकल न्यूट्रिसनिष्ट योगिताले भने आजसम्म कुनै पनि सप्लिमेन्टले प्रतिरोधी क्षमता बढाउँछ भन्ने प्रमाणित नभएको बताउँछिन् ।
उनी त अझ ‘इम्यून बुस्टर’ भन्ने शब्दावली नै वैज्ञानिक हिसाबले भ्रामक भएको ठान्छिन् । प्रायः ‘इम्यून बुस्टर’ भनेर दाबी गर्ने उत्पादनहरुमा भिटामिन र प्रोबायोटिक्स हुने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘भिटामिनको कुरा गर्नुपर्दा भिटामिनले ‘protective nutrients’ को काम गर्छ । त्यसैले केही हदसम्म यो ठिक पनि हो । तर हार्वर्डका अनुसार जो व्यक्ति बिरामी छन्, उनलाई भिटामिन फर्मुलेशनले मद्दत पुर्याउँछ तर जो पहिले नै स्वस्थ छन् उनीहरुले प्रतिरोधी क्षमता विकास गर्नका लागि अतिरिक्त भिटामिन फर्मुलेशन खाइराख्न आवश्यक पर्दैन ।’
नेपाली खान्की कस्तो छ ?
योगिता नेपाली खानालाई वास्तवमै स्वस्थ ठान्छिन् । नेपालमा बिहान–बेलुका स्थानीय बजारमा उपलब्ध ताजा सागसब्जी, तरकारी प्रयोग गरेर घरमै खाना पकाएर खाने चलनलाई उनी स्वस्थकर जीवनशैली बताउँछिन् । उनी भन्छिन्, ‘दाल भात, तरकारी’ पोषणको हिसाबले उपयुक्त र पर्याप्त छ, यदि मात्रा मिलाएर खान जानेको खण्डमा ।’
हाम्रो दैनिक आहारमा हामीले ‘हरेक बार खाना चार’ भन्ने मन्त्र अपनाउने हो भने पोषणको हिसाबले यो उपयुक्त हुने उनी बताउँछिन् ।
‘हामीले खाने खानाको थालमा कम्तिमा चारवटा खाद्य समूहबाट खानेकुरा समावेश गर्न सकियो भने अत्यन्त राम्रो हुन्छ,’ उनी सुझाउँछिन् ।
हाम्रो दैनिक आहारमा के थप्दा, के घटाउँदा उचित हुन्छ त ? यसको जवाफमा उनी भन्छिन्, ‘हाम्रो चलनमा बढी भात थोरै दाल तरकारी खाने चलन छ । यसलाई परिवर्तन गरी थालको आधाभन्दा बढी भाग सागसब्जी, आधाको आधा दाल–गेडागुडी, माछा मासु र बाँकी रहेको आधा भाग मात्र भात वा अन्न–कन्दमूलले ओगट्नुपर्छ ।’
यो तरिकाले खाँदा उत्कृष्ट हुने उनको सुझाव छ ।
बालबालिकालाई स्वस्थ राख्न के गर्ने ?
सन् १८२६ मा फ्रेन्च राजनीतिज्ञ तथा वकिल एन्थेल्म ब्रिलेट स्याभरिनले आफ्नो किताब ‘द फिजियोलोजी अफ टेस्ट’ मा लेखेका थिए, ‘तिमीले के खान्छौ मलाई भन र म तिमीलाई तिमी के हौ भन्नेछु ।’ अर्थात् यो वाक्यको आशय तिमीले जुन खाना खान्छौ त्यसले तिम्रो मन र स्वास्थ्यलाई प्रभाव पारिरहेको हुन्छ भन्ने हो । तसर्थ स्वस्थ रहनका लागि आफ्नो दैनिक आहार विहारमा सबैले ध्यान राख्नुपर्ने थुप्रै विज्ञको मान्यता छ । बालबालिकामा कुनै पनि संक्रमणको जोखिम अत्यधिक रहने भएकोले उनीहरुको खानपिनमा अभिभावकले विशेष ध्यान दिनैपर्छ । बालबालिकाको उमेर समूह अनुसार उनीहरुलाई के कति पोषण आवश्यक पर्छ, त्यो फरक हुन्छ । यहाँ ६ देखि ९ वर्षका बालबालिकाको दैनिक आहार कस्तो हुनुपर्छ भनेर योगिताले बुँदागत रुपमा सुझाव दिएकी छिन् ।
– दैनिक कम्तिमा ५ पटकसम्म खाना–खाजा (खाना २ पटक तथा खाजा कम्तिमा ३ पटक) खाने
– हरियो सागसब्जी, पहेँलो तथा सुन्तला रङका फलफूलहरु प्रशस्त मात्रामा दिने
– प्रशस्त मात्रामा पानी र झोलिलो खानेकुरा दिने ।
– बिहान, बेलुकाको खानाले बालबालिकाको पोषण आवश्यकताको ठूलो भाग ओगटेको हुनुपर्छ तसर्थ खाना सन्तुलित हुनुका साथै सामान्य खाजाभन्दा धेरै हुनुपर्छ ।
खानामा कम्तीमा निम्नानुसार चार प्रकारका खानेकुराः
१. अन्न तथा कन्दमूलहरु
२. गेडागुडी तथा दालहरु
३. सागपात तथा फलफूल
४. पशुपंक्षीजन्य स्रोतहरु जस्तै दूध, अण्डा, माछा, मासु समेटिनुपर्छ
उदाहरणका लागिः एउटा थालीमा एक कचौरा बराबरको भात, एक कचौरा दाल, एक सानो कचौरा हरियो सागसब्जी, ३–४ टुक्रा मासु राख्न सकिन्छ ।
यस्तै, योग्याहार न्यूट्रिशन कन्सल्टेन्सीकी संस्थापकसमेत रहेकी योगिताले खानाबाट मात्र शरीरलाई आवश्यक भिटामिन तथा खनिज पदार्थ जस्तै भिटामिन ए, भिटामिन डी, आइरन, क्याल्सियमको मात्रा नपुगेको अवस्थामा चिकित्सक वा डायटिसियनको सिफारिसको खाद्य पूरक दिन सकिने बताएकी छिन् ।
यस्तै उनी थप्छिन्ः
– बजारमा पाइने प्रशोधित तथा अस्वस्थ खानेकुरा नदिने
– कार्बोनेटेड पेय पदार्थ नदिने
– बढी तेल, बढी नुन र बढी चिनी प्रयोग भएका अस्वस्थकर बजारिया खानेकुरा नखाने
– शारीरिक सक्रियता बढाउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतीय ब्याट्सम्यानको लज्जास्पद प्रदर्शन, १५० रनमै अलआउट
-
‘तिम्रै दर्शन’मा अस्मिता र सुन्दरको अभिनय
-
रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति