बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन जन्मिन्छन् रूपा सुनारहरू ?

आइतबार, १३ असार २०७८, १२ : ४७
आइतबार, १३ असार २०७८

यतिबेला सामाजिक सञ्जालमा रूपा सुनार निकै चर्चामा छिन् । जातका कारण कोठा भाडामा बस्न नपाएपछि उनी एकाएक चर्चामा छिन् । कतिसम्म भने उनले घरपेटीमाथि मुद्दासमेत चलाइन् । तर, आरोपीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले छुटाए । यसले कस्ता मानिसहरूको हातमा राज्यको बागडोर पर्दै आएको छ भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।

हामीले नै जातीय, लैङ्गिक लगायत सामाजिक विभेदको अन्त्यको कुरा उठान गर्ने, अनि हामीले नै त्यसलाई संरक्षण गर्ने भूमिकाले सामाजिक न्याय सङ्कटमा परेको छ ।

जातक‌ै कारण कसैले विभेद भोग्नुपर्दैन भनेर नयाँ कानुन बनेको छ  । तर, फेरि पनि दिनानुदिन जातकै कारण विभिन्न घटना हुन छोडेका छैनन् । जातमा के छ यस्तो चिज, जसलाई मान्छे र समाजले निमिट्यान्न पार्न सकिरहेको छैन ?

जातकै कारण अझै पनि दलितहरू कोठा भाडाबाट वञ्चित हुन्छन् । मन्दिर प्रवेशमा रोक लगाइन्छ । सहभोजबाट वञ्चित गरिन्छ । प्रेमविवाहलाई विछोडमा धकेलिन्छ र सार्वजनिक धारा, कुवा, इनारको पानी खानबाट वञ्चित गरिन्छ । अनि विभिन्न बहानामा दिनदहाडै पशुझैँ हत्या गरिन्छ ।

यति मात्र होइन, प्रहरी हिरासतमा समेत जातकै कारण दलितहरू मारिन्छन् । गाउँघरमा दिउँसै हत्यागरी फालिन्छन् । जातमा के छ यस्तो, जसलाई जति कानुनमा कैद गरे पनि समाजले वास्ता गरेको छैन ? जसमा मानिसहरू झन् अपराध गर्नेतिरै हौसिन्छन् । यसका लागि जेलनेल मात्र होइन, ज्यानै फाल्न तयार हुन्छन् । स्थिति अति गम्भीर छ ।

पुस्तौँदेखि दलित समुदायलाई कहिले जातका आधारमा, कहिले धर्म र श्रमका आधारमा भेदभावको शिकार हुँदै आएका छन् । जातीय र धार्मिक विभेदको शृङ्खला हेर्दा दलित समुदाय बेग्लै धर्मका मानिस हुन् । उनीहरू मान्छे पनि हुन कि होइनन् जस्तो अन्योलमा पार्ने काम गरिदिन्छ । त्यसैले अचेल धर्म परिवर्तनको हल्ला पनि दलित समुदायभित्रै धेरै छन् ।

विभेदको यस्तै अवस्था रहिरह्यो भने कुनै दिन हिन्दु भनिने धर्म नै पूरै सङ्कटमा पर्नेबेला छन् । अर्काेतर्फ दलित समुदाय जातीय कारणले मात्र विभेदमा छैनन्, जातीय विभेद त अरू कारणमध्ये एक कारण भएर मात्र ठूलो चर्चामा आउने गरेको छ । किनभने, जातीय विभेदको शृङ्खला मानवतासँग जोडिन पुग्छ ।

दलित समुदायमा जातीय विभेदको कारणसँगै भूमिहीन अवस्था, नागरिकता, आर्थिक, राजनीतिक, बेरोजगारी लगायतका विभेद पनि  ठूलै छन् । यसले विभेद सहन गर्न दलित समुदायलाई विवश परिरहेको हुन्छ । किनभने, जातीय विभेदभन्दा अन्य सहायक विभेदहरू जीवन निर्वाहसँग जोडिन पुग्छन्, जसले सहायक विभेदहरू गौण बनेका छन् । दलित समुदायमाथि एउटा मात्र विभेद भए पो स्थिति सहज हुन्थ्यो ।

दलित विभेदको समस्या दलितभित्र मात्रै छैन गैरदलितभित्र पनि भयाभह छ । अधिकांशलाई त गैरदलितको बिल्ला लागेपछि उनीहरूलाई बाँच्नका लागि स्वास फेर्नसमेत कठिन भइरहेको हुन्छ । उनीहरू बोल्न मात्र सकेका हुँदैनन् । त्यसैले गैरदलितभित्र पनि दलितभन्दा पनि खत्तम विभेदको जिन्दगी बाँचिरहेका छन् । उनीहरुलाई पनि स्वतन्त्र विचार राख्नेहरूको ठूलो साथ सहयोग आवश्यक छ । उनीहरूलाई पनि साथ दिनुपर्ने हुन्छ । अनि मात्र गैरदलित वा दलितका नाममा रहेको मुट्ठीभरका काला शासकहरूलाई पराजित गर्न र सबैखाले विभेद अन्त्य गर्न सकिन्छ ।

यसो हेर्दा दलित समस्या साझा समस्या नै हो । यसको निदान पनि साझा रूपमै हुनुपर्छ । अनि मात्र देश र सामाजिक दुर्गन्धलाई फाल्न सकिन्छ, नभए गाह्रो छ । यो लामो सङ्क्रमणको उपज हो । एक व्यक्तिले मात्र समस्या समाधान गर्न सकिँदैन ।

जति पनि परिवर्तनको इतिहास छ ती सबै परिवर्तन यस्तै विभेद, अत्याचार समाजिक रूपान्तरण र परिवर्तनका लागि भएका थिए । २००७ सालको काँग्रेसी आन्दोलन होस् या २०४६ सालको नेकपा एमालेको आन्दोलन या २०५२ सालको माओवादी जनयुद्ध वा २०६२–६३ को मधेस आन्दोलन हुन् सबै आन्दोलन समाज परिवर्तनका साक्षी हुन् । सबैमा दलित समुदायको साझा योगदान र बलिदान छ । अवसर मात्र साझा हुन सकेको छैन ।

२१औँ शताब्दीको लोकतन्त्रमा अझै पनि जातकै कारण यसरी रूपा सुनारहरू कहिलेसम्म जन्मिरहनुपर्ने हो ? यो समाज र राज्यका शासकमाथि गम्भीर प्रश्न उठेको छ । यथार्थ पनि यही हो ।

यसबाट शासकहरूको आत्मा दुख्नुपर्छ । उनीहरूको आँखाबाट आँसु बग्नुपर्छ । सत्ता र शक्तिको बलमा ढाकछोप गर्ने कार्य नालायक कार्य हुन् । यसले विभेद र सामाजिक सद्भाव कायम राख्न सक्दैन । झन् मन्छेमान्छे बीचमा गहिरो खाडल खन्ने हो । यसरी अपराधलाई प्रश्रय दिँदै जाने हो भने हाम्रो समाजले कहिल्यै काँचुली फेर्न सक्दैन । यसका लागि हामी सचेत हुनुपर्छ । गैरदलितहरू दलितमाथिको जातीय विभेदविरुद्ध सडकमा आउनुको विकल्प छैन ।

दलित वा गैरदलित हुनुको नाताले होइन, मानवताको नाताले हामी एकजुट भएर विभेद विरुद्ध बोलौँ, लडौँ र मानवरूपी समाज निर्माण गरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश विद्रोही
राजेश विद्रोही
लेखकबाट थप