आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँका नदी/खोलामा पनि पानीको सतह बढ्यो

शनिबार, १२ असार २०७८, १५ : ३०
शनिबार, १२ असार २०७८

मनसुनी वायुको प्रभावले शनिबार काठमाडौँ उपत्यका लगायत मुलुकका अधिकांश स्थानहरुमा बर्षा भएको छ । 
शुक्रबार साँझदेखि नै काठमाडौ लगायत मुलुकका कतिपय स्थानमा भारी बर्षा भएको हो भने केही स्थानमा हल्का बर्षा भएको थियो । बर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । 

त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।

त्यसैगरी, काठमाडौको बागमती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाडौका विभिन्न नदी र खोलाहरुको पानी बाहिरीने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसंगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भुभागमा बर्षा हुने र केही स्थानमा भने भारी बर्षा हुनसक्ने भन्दै सचेत हुन आव्हान पनि गरेको छ । विभागले सनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहावमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आव्हान समेत गरेको छ ।
यसैबीच मध्यान्हपछि भने काठमाण्डौमा बर्षा हुने क्रम रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप