शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठुटे नक्सा : शिक्षामन्त्रीको आदेश जनक शिक्षाले नै टेरेन

‘नयाँ नक्सासहितको पुस्तक बजारमा नपठाए एक्सनमा जान्छौँ’– महानिर्देशक अर्याल
शनिबार, १२ असार २०७८, १५ : १७
शनिबार, १२ असार २०७८

गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक नसमेटिएको नक्सा प्रकाशन भएको पुस्तक जफत गर्न निर्देशन त दिए । तर, त्यसलाई सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रले नै अवज्ञा गरेको छ ।

सरकारको समेत स्वामित्व रहेको प्रकाशन गृह जनक शिक्षाले बजारमा पुरानै नक्सा समावेश भएको पाठ्यपुस्तक बजारमा पठाएर सरकारलाई चुनौती दिएको हो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका बिद्यार्थी अभिभावकको हातमा पुरानै नक्सा भएको पुस्तक परिरहेको छ ।

पाठ्यक्रम विकास केन्द्र मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पनि अनुगमनको रुपमा त्यस्तो पाइएको रातोपाटीलाई बताए । उसले नयाँ नक्सा छापिएको पुस्तकले ‘रिप्लेस’ नगरे कारवाही गर्ने बताए ।

​अर्यालले भने, ‘जनक शिक्षाले पनि पुरानै नक्सा भएको पुस्तक बजारमा पठाएको देखियो, गत बर्ष  नै प्रकाशन भएका किताब बजारमा गएका छन् । त्यसलाई तत्काल प्रतिस्थापित गरेर बजारमा पठाउने भनेका छौँ । हामीले भनेको समयभित्र पुगेन भने हामी कारवाही प्रक्रिया अघि बढाउँछौँ ।’

महानिर्देशक अर्यालले अहिले अनुगमनका क्रममा रहेको र  पहिल्यै प्रकाशन गरेको पुस्तक हो भने त्यसमा पुरानो नक्सा छ भने नयाँ नक्सा टाँसेर पठाउन भनेको उल्लेख गरे । नयाँ नक्सासहितको पुस्तक नपठाए एक्सनमा जाने उनको भनाइ छ । उनले भने, रातोपाटीसँग भने ‘जुन जसले छापेर जुन वितरकमार्फत बजारमा पुगेको छ, उनीहरु मार्फत पुस्तक साट्ने पनि भनिरहेका छौँ । अहिले स्कुल खुलिसकेको छैन ।  विद्यार्थीले कस्तो पुस्तक पाए भनेर हेर्न सक्ने अवस्था छैन । अहिले बजारमा गत बर्ष नै प्रकाशन भएका पुराना नक्सा भएका किताब देखिएको छ । त्यसलाई बिक्री नगर्न र तत्काल नयाँ प्रकाशन भएको पुस्तकले पुनस्र्थापना गर्न भनिसकेका छौँ ।’

अहिले बजारमा विद्यालय तहका सामाजिक विषयका पाठहरूमा नेपालको पुरानै नक्सा समावेश गरिएको पाइएको हो । गत महिना मन्त्रीको निर्देशनपछि मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा एउटा समिति बनाइएको थियो । सो समितिले सम्बन्धित प्रकाशकहरूलाई त्यस्ता किताव सच्याँउनसमेत भनेको थियो ।

अहिले अनुगमनका क्रममा रहेको बताउँदै महानिर्देशक अर्यालले त्यस्ता किताब फिर्ता गराउनुको कुनै विकल्प नरहेको बताए । उनले भने–‘जनकशिक्षाले पुरानो किताब वितरण गरेको ठाउँमा नयाँ पुस्तक वितरण गर्नैपर्छ । त्यसमा अर्को विकल्पै छैन । पुरानो नक्सा भएको जति किताब छ त्यो सम्बन्धित वितरक मार्फत फिर्ता ल्याउनुपर्छ । त्यो वितरकलाई पनि विक्री नगर्न भनेका छौँ । जनक शिक्षाले होस् वा जुनसुकै प्रकाशकले होस् त्यो पुरानो नक्सा भएको पाना छ, त्यसलाई परिवर्तन गर्नुपर्छ ।’

तत्काल समाधान गर्न मन्त्रालयको निर्देशन

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकमा भएको त्रुटी हटाएर नयाँ पुस्तक वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पाठ्यक्रम विकास मानव स्रोत केन्द्रका निर्देशक बैकुण्ठ अर्यालको संयोजनमा रहेको समितिलाई त्यस्ता विषयमा तत्काल समस्या समाधान गर्न निर्देशन दिइएको जानकारी दिए ।

यस्तै पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जनक शिक्षा सामग्री केन्द्रबाट गएका त्यस्ता किताब फिर्ता हुने बताए । उनले अगाडि नै प्रकाशन भएर स्टक भएका किताब बजारमा गएको हुन सक्ने बताउँदै नयाँ नक्सासहितको पुस्तकसँग साटिदिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप