शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

शनिबार, १२ असार २०७८, १४ : ४५
शनिबार, १२ असार २०७८

जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक÷एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । 

पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ ।
 पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । 

गाउँपालिकाले सातौं गाउँसभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । ‘शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार र रोजगार हाम्रो सरोकार र कृषि, जडीबुटी, पर्यटन समृद्ध पालिका निर्माणको मूल आधार’ भन्ने मूल नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाका अनुसार गाउँपालिकामा एमबिबिएस पढेका एक जना व्यक्ति पनि छैनन् । 
छात्रवृत्तिमा भएपनि एमबिबिएस पढाउनुपर्छ भन्ने पाठ कोभिड महामारीले नै सिकाएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए। “गाउँपालिकाले एमबिबिएस पढ्ने एक जनाको सम्पूर्ण खर्च व्यवस्था गर्ने नीति ल्याएको छ । पातारासीमा अहिलेसम्म एमबिबिएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएका हौँ”, उनले भने । 
जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।

 हालै नेपाल सरकार चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबिबिएस अध्ययन अध्यापनको अनुमति पाएसँगै जुम्लाका स्थानीय तहले नीति तथा कार्यक्रममा यो विषयलाई महत्व दिएका छन् । नगर प्रमुख कान्तिका सेजुवालका अनुसार एमबिबिएस पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप